logo
२०८० चैत्र १६ शुक्रवार



७९ लाखले लगाए पूर्ण खोप

मुख्य समाचार |


७९ लाखले लगाए पूर्ण खोप



सरोज ढुङ्गेल

काठमाडौँ, असोज ७ गते । नेपालमा करिब ७९ लाख नागरिकलाई कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ७८ लाख ९० हजार ३७५ रहेको छ । त्यस्तै पहिलो मात्रा लगाउनेको सङ्ख्या ६२ लाख ६२ हजार ७८० पुगेको छ । पूर्ण मात्रा खोप लगाउने र पहिलो मात्रा मात्र लगाउने गरी एक करोड ४१ लाख ५३ हजार १५५ जनामा कोरोनाविरुद्धको खोप लगाइएको जनाइएको छ ।
प्रवक्ता पौडेलका अनुसार कोभिसिल्डको पहिलो मात्रा लगाउनेको सङ्ख्या २६ लाख ३६ हजार ८२३ पुगेको छ । यस्तै कोभिसिल्डको दुवै मात्रा लगाउनेको सङ्ख्या १४ लाख ८८ हजार ४३५ पुगेको छ । यस्तै भेरोसेल खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या ३६ लाख २५ हजार ९५७ पुगेको छ । भेरोसेलको पूर्ण मात्रा लगाउनेको सङ्ख्या २८ लाख २३ हजार ६८३ पुगेको छ । यस्तै जोन्सन एन्ड जोन्सनको पूर्ण खोप लगाउनेको सङ्ख्या १४ लाख ४० हजार ७३५ पुगेको छ ।
काठमाडौँ उपत्यकामा ४१ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्रीबहादुर खड्काका अनुसार पूर्ण खोप लगाउनेको सङ्ख्या ४१ प्रतिशत छ । यस्तै भक्तपुरमा ४१ प्रतिशत र ललितपुरमा ३८ प्रतिशतले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् ।

एक हजार ४७८ सङ्क्रमित थपिए
देशभर बुधबार एक हजार ४७८ कोरोना सङ्क्रमित थपिएका छन् । त्यस्तै एक हजार ६३० जना निको भएका छन् । प्रवक्ता डा. पौडेलका अनुसार ११ हजार ६६७ जनाको पीसीआर विधिबाट र दुई हजार ८६३ जनाको एन्टिजेन विधिबाट गरी कुल १३ हजार ९३० जनाको कोरोना परीक्षण गरिएको छ ।
उहाँले पीसीआरबाट एक हजार २५१ र एन्टिजेन विधिबाट नमुना परीक्षण गर्दा २२७ गरी एक हजार ४७८ जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?