logo
२०८१ बैशाख ८ शनिवार



स्वास्थ्यचौकीमा पठाइएका स्वास्थ्य उपकरण कोभिड स्टोरमै थन्कियो

स्वास्थ्य |
खुला |


स्वास्थ्यचौकीमा पठाइएका स्वास्थ्य उपकरण कोभिड स्टोरमै थन्कियो


मनोज भट्टराई
ओखलढुंगा, असोज १ गते । ओखलढुङ्गाको मोलुङ गाउँपालिकामा दाताले दिएका स्वास्थ्य सामग्री स्वास्थ्य संस्थामा नपुगी स्टोरमै थन्किएको छ । मोलुङ गाउँपालिकाका स्वास्थ्य संस्थाहरुका लागि उपलब्ध भएका सामग्री वितरण नहुँदा रामपुरमा रहेको कोभिड अस्पतालको स्टोरमा थन्किएको हो ।
सो सामग्री गाउँपालिका केन्द्रमा रहेको प्राप्चा स्वास्थ्य चौकीमा समेत वितरण गरिएको छैन । ओखलढुंगेली सञ्जालले गाउँपालिकाका सबै स्वास्थ्य संस्थाहरुका लागि दिएका सामग्री रामपुरस्थित कोभिड अस्पतालको स्टोरमा थन्किएका छन् ।

गाउँपालिकामार्फत उपलब्ध गराइएका सामग्रीहरु वितरण नभएपछि स्टोरमै रहेको पाइएको जिल्ला पैरवी सञ्जालका बोधनारायण श्रेष्ठले बताउनुभयो । जिल्ला पैरवी सञ्जालको तर्फबाट स्वास्थ्य संस्थाहरुको अवस्था र सेवा प्रवाहबारे अवलोकनमा गएका पत्रकार तथा नागरिक समाजको टोलीले स्वास्थ्य सामग्री स्वास्थ्य संस्थामा नपुगेको बताएको छ ।

बाहिरबाट उपलब्ध कुनै सामग्रीहरु अहिलेसम्म नआएको हर्कपुर स्वास्थ्य चौकीका प्रमुख भरत प्रधानले बताउनुभयो । विभिन्न देशमा रोजगारको सिलसिलामा विदेशमा रहेका ओखलढुङ्गेहरुको सो सञ्जालले जिल्लामा ७१ लाख बढीको स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो । जिल्लाका सबै स्वास्थ्य संस्थाहरुका लागि साधारण बेड, ४० लिटरको उपकरणसहितको अक्सिजन सिलिण्डर, बीपी मोनिटर, थर्मोमिटर लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो । जिल्लास्थित सहयोग समितिले स्थानीय तहलाई त्यस्ता सामग्री कोभिड १९ को जाेखिमको समयमा उपयोग गर्न हस्तान्तरण गराएको थियो ।

स्वास्य सामग्री उपलब्ध नभएको विषयमा मोलुङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वेदहरि दाहालले कार्यपालिका बैठकले निर्णय गरेर वितरण गर्ने भनेकाले सामग्री अझै स्टोरमा रहेको बताउनुभयो । एक हप्ताभित्र सबै सामग्री वितरण गरिने उहाँको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?