logo
२०८१ बैशाख ११ मंगलवार

  अन्तर्वार्ता  



‘महामारीको अवधि कति भन्ने आधार छैन, प्रचण्डतामा पक्कै कमी आउँछ’

स्वास्थ्य |
अन्तरवार्ता |


‘महामारीको अवधि कति भन्ने आधार छैन, प्रचण्डतामा  पक्कै कमी आउँछ’


काठमाडौं, भदौ ८ गते । कोभिड–१९ काे महामारीले विश्व आक्रान्त छ । केही देशमा कोरोनाको पाँचौ लहर देखिसकेको छ भने नेपालमा दोस्रो लहर अझै नसकिएको पछिल्ला दिनमा नघटेको सङ्क्रमण दरले पुष्टि गरेको छ । कोरोनाविरुद्धको खोपको सुनिश्चितता भैरहँदा पनि कोरोना सङ्क्रमण दरमा कमी नदेखिनु दुःखद कुरा हो । खोपको उपलब्धता भैरहँदा कोरोना सङ्क्रमण दरमा किन कमी आउन सकेन रु यो महामारी कति समयसम्म रहन सक्छ रु लगायतका विषयमा चीनका लागि नेपालका पूर्व राजदूत, नेपाल जनस्वास्थ्य प्रतिष्ठानका संस्थापक अध्यक्ष, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का पूर्व अध्यक्ष तथा जनस्वास्थ्यविद् डा. महेश मास्केसँग गोरखापत्र अनलाइनका लागि विष्णु पाण्डेयले गर्नुभएको कुराकानी ।

अहिले कोभिड १९ को महामारीले विश्व आक्रान्त छ, विश्व इतिहासमा पनि समय समयमा यस्ता महामारी फैलिने गरेका छन्, विगतका महामारी र कोभिड महामारीमा के भिन्नता छ ?


विश्व इतिहासमा मानव समुदायले धेरै ठूला महामारी र अकाल मृत्युहरु भोग्नुपरेको छ । पुरातात्विक उत्खननहरुले आजभन्दा पाँच हजार वर्ष पूर्व चीनको एउटा गाउँका सबै मानिस नै महामारीले गर्दा सखाप भएको प्रमाण भेटेको हो । चौधौँ शताब्दीमा मुसाबाट सर्ने कालो काल (ब्ल्याक डेथ) नामले कुख्यात प्लेग रोगको महामारीले युरोपको करिब आधा जनसख्या नै समाप्त गरेको अनुमान गरिन्छ । बीसाैं शताब्दीको शुरुमा पनि भाइरसबाट सर्ने स्पेनिस फ्लुको महामारीले करिब ५० करोड मानिस सङ्क्रमित भएर ५ करोडको मृत्यु भएको थियो । त्यसपछिको सय वर्षमा सबैभन्दा ठूलो कोरोना भाइरसबाट सर्ने महाव्याधि कोभिड १९ लाई नै मान्नुपर्ने हुन्छ । जसबाट अहिलेसम्म करिब ४४ लाख मान्छेको मृत्यु भएको छ । स्पेनिस फ्लु र कोरोना महामारीको मुख्य विषाणु भाइरस हो, प्लेगको फैलाउने ब्याक्टेरिया हो भने अन्य कोरोनाकै विषाणुबाट सिर्जित चीनमा फैलिएको सार्स र मध्यपूर्वमा फैलिएका मर्स घातक भए पनि ती थोरै सङ्क्रमितमै सीमित भए । त्यसैले कोभिड १९ नै मुख्य चुनौती देखियो ।
तथापि अर्को किसिमको मौन महामारीबारे पनि हामीले सचेत हुनुपर्ने हुन्छ जुन त्यति चर्चामा आउँदैन जुन भित्रभित्रै फैलिरहेको हुन्छ र धेरै सङ्ख्यामा मानिसको मृत्युको कारण बनेको हुन्छ । मुटु र फोक्सो आदिका नसर्ने रोगहरु विश्वव्यापी महाव्याधिको रुपमा बढिरहेका छन् र तीबाट हुने मृत्युहरुको सङ्ख्या वर्तमानमा कोभिडभन्दा निकै धेरै छ । नेपालको हकमा पनि लागु हुन्छ ।

यो महामारी फैलिएको करिब दुई वर्ष हुन लाग्यो सामान्यतया जनस्वास्थ्यसम्बन्धी शास्त्रीय दृष्टिकोणमा यस्ता महामारीको अवधि कतिसम्म हुन्छ भन्ने केही वैज्ञानिक वा सैद्धान्तिक दृष्टिकोण छन् ?

सारा विश्वको जनसङ्ख्याको ८० प्रतिशतले खोप लगाइसकेपछि ९पहिले ६० देखि ७० प्रतिशतको अनुमान थियो या, यो महामारीले त्यति नै धेरै जनसङ्ख्यालाई सङ्क्रमित गरेपछि यस्ता महाव्याधि नियन्त्रणमा आउँछन् भन्ने जनस्वास्थ्यको शास्त्रीय मान्यता हो । आगामी डेढ वर्षमा त्यस्तो खोप कार्य सम्पन्न हुनसक्छ कि रु त्यसरी धेरै मानिसलाई खोप सुरक्षाभित्र ल्याएपछि खोप नलगाएका बाँकी रहेका मानिस पनि सुरक्षित हुनेछन् भन्ने समूह प्रतिरोधक क्षमता (हर्ड इम्युनिटी) को अवधारणा हो। विश्वका धनी देशहरु पूर्ण खोप कभरेजका नजिक छन्, तर समस्या गरिब र खोप उत्पादन नगर्ने नेपाल जस्ता देशहरुको लागि छ ।

अहिलेसम्मको वैज्ञानिक अनुसन्धानले खोप लगाएकालाई पूर्ण सुरक्षा हुने भनेको छैन, न उनीहरुले अरुलाई सार्दैनन् भन्ने प्रत्याभूति दिन सकेको छ । उनीहरुलाई रोग लाग्न सक्छ तर रोग गम्भीर हुने वा मृत्यु हुने सम्भावना चाहिँ निकै कम भएको पाइएको छ । यो भाइरसको उतपरिवर्तन (म्युटेसन) हुने क्षमताले गर्दा नयाँ भेरियण्ट उत्पन्न हुने भएकाले पनि नयाँ चुनौती थपिरहेको छ । त्यसैले यो महामारीको अवधि यति समयसम्म हुन्छ भन्ने निश्चित आधार छैन, तर यसको प्रचण्डतामा निश्चित रुपले कमी आउनेछ ।

 शुरुमा खोप आएपछि यो सब ठीक हुन्छ जनजीवन सामान्य हुन्छ भनिन्थ्यो तर अहिले खोप लगाउन थालिएको पनि धेरै समय भयो । अधिकांश मानिसले खोपको पूरै मात्रा लगाएको देशहरुमा पनि फेरि सङ्क्रमण फैलिने खतरा देखिएको छ र मास्क लगाउन आग्रह गरिएको छ । यसले महामारीको समयसीमा कति पर जाला भन्न सकिने केही अनुमान गर्न सकिन्छ ?

कोभिड–१९ को नयाँ भेरियण्टहरुले उत्पन्न गर्न सक्ने जटिलताबारे मैले माथि थोरै उल्लेख गरेँ । के स्मरण गर्नुपर्छ भने खोप उपलब्ध हुनुअघिदेखि नै संसारका विज्ञहरुले मास्क र अन्य सावधानीको निरन्तरता आवश्यक हुन्छ भनेका थिए । त्यतिबेला त्यसो भन्नुका दुई कारण थिए । एक, सबैले खोप लगाए पनि त्यसको ५ देखि ३० प्रतिशत मानिसमा प्रतिरोधात्मक एण्टिबडी शरीरमा उत्पन्न नहुन सक्थ्यो । त्यसले गर्दा खोप लगाएको कुन व्यक्ति असुरक्षित छ भन्ने थाहा नहुने भएकाले खोप लगाएको एक महिनापछि एण्टिबडी परीक्षण गरे केही हदसम्म थाहा हुन सक्ला । आफ्नै सुरक्षाका लागि मास्क लगाउनु प्राथमिक महत्वको कुरा हो। अर्को कारण भनेको खोप लगाएको व्यक्तिले अर्को व्यक्तिलाई सार्न सक्ने सम्भावना थोरै भए पनि छ, त्यसैले अरुको सुरक्षाको लागि पनि मास्क लगाउनु आवश्यक छ। तेस्रो थप कारण कोभिडको नयाँ भेरियण्ट उत्पन्न हुँदै जानु हो, जसले गर्दा लगाएको खोप त्यति प्रभावकारी नहुन सक्छ र सङ्क्रमणमा फेरि तीव्रता आउन सक्छ । त्यसैले आफ्नो र अरुको सुरक्षाका लागि पनि मास्क लगायत अन्य सावधानीका उपाय केही समयका लागि अनिवार्य छ । मैले भन्दै आएको छु यो रोगसँग बच्ने र बाँच्ने दुवै कुशलताको आवश्यकता छ ।

महामारीको अहिलेको अवस्था हेर्दा यो पूर्णरुपमा नियन्त्रण हुन लामो समय लाग्न सक्ने देखिन्छ अब के सधैँ बन्दाबन्दी गरेर मात्र सम्भव छ रु कोरोनाको जोखिमबीच जनजीवनलाई कसरी सहज र चलायमान बनाउन सकिएला ?

यस प्रश्नले अलि लामै उत्तरको माग गर्दछ । केही हप्ताअघि नेपाल जनस्वास्थ्य प्रतिष्ठानले प्रधानमन्त्री शेरबहादुर देउबालाई १८ बुँदे सुझावपत्र पठाएको थियो। त्यसमा हामीले जानेको ज्ञान र अनुभवको सार छ । त्यो पत्र मिडियाले राम्रै कभरेज गरेको थियो । त्यसमा हामीले नेपालमा चाहिने सङ्ख्यामा खोप लगाइसक्नु अघि नै कोभिड–१९ को तेस्रो लहर आउन सक्ने सम्भावना प्रति सतर्क रहदै कस्तो तयारी गर्ने भन्ने बारे ठोस सुझावहरु दिएका थियौँ । ती सबै यहाँ उल्लेख गर्न सकिन्न । संक्षेपमा भन्नुपर्ने कुरा यहाँ राख्ने कोशिस गर्नेछु ।

प्रमुख कुरा बन्दाबन्दी होइन । लकडाउन एक चरम र अस्थायी समाधान मात्र हो जसका धेरै बेफाइदा छन् । त्यसैले यसको प्रयोग अत्यावश्यक र क्षणिक रुपमा मात्र गरिनुपर्छ त्यो पनि निम्नवर्गको लागि खाद्यसुरक्षा र आम नागरिकका लागि अस्पताल, सेवा, यातायातको व्यवस्था सुनिस्चित गरेर। प्रमुख कुरा हो क्वारेण्टाइन र होल्डिङ केन्द्र, घर र सामुदायिक आइसोलेसन, अस्पताल सेवा, एच डी यु, आई सी यु आदि सेवाहरुलाई एकीकृत रुपले व्यवस्थापन गर्नु । स्थानीय सरकार र वडा नेतृत्व विशेष रुपले यसका लागि सक्रिय हुने विकेन्द्रित व्यवस्थापन प्रणाली स्थापित गर्नुपर्दछ ।

त्यो अभिभारालाई प्रभावकारी रुपले निर्वाह गर्न उनीहरुसँग चिकित्सक, नर्स र जनस्वास्थ्यकर्मीको सक्रिय टोली हुनुपर्छ । घरमा र त्यस्तो केन्द्रमा गर्न सकिने श्वासप्रश्वासका व्यायामहरु, अक्सिमिटरद्वारा शरीरमा अक्सिजनको मात्राको नियमित परीक्षण र अन्य लक्षणको नियमित अनुगमनले एकातिर समय छँदै अस्पताल सेवाको अवश्यकताबारे निर्णय लिन सजिलो हुन्छ, अर्कोतिर अनावश्यक अस्पताल जानुपर्ने अवस्थाबाट बच्ने हुनाले अस्पतालको बेड उपलब्धताको समस्या पनि कम हुन्छ । सङ्क्रमितहरुको सामान्य हेरचाह र साधारण उपचारबाटै निको हुने रोग हो यो। यो गम्भीर अवस्थामा पुग्नुको पछाडि प्रारम्भिक हेरचाह र उपचारमा कमी, विभिन्न कारणले अस्पताल लैजान र अक्सिजन पाउन ढिलाइ, सङ्क्रमितको शारीरिक कमजोरी र अन्य रोगको उपस्थिति कारक तत्व हुन् ।

दोस्रो, शहरका वडाहरुमा र गाउँपालिकाहरुमा अक्सिजन बैंक स्थापना गरिनुपर्छ। अक्सिजन नै यस रोगको प्रमुख उपचार हो भने हुन्छ । अक्सिजनको अभाव कति भयावह हुन्छ भन्ने हामीले देखी भोगिसक्यैं । यो विना अस्पतालका बेड, एच डि यु, आई सी यु, भेन्टिलेटर सबैको काम रोकिन्छ । नेपालमा कोभिडको दोस्रो लहरमा अक्सिजनको अभाव भएको तीन हप्ता समयमा बढी मृत्यु भएको छ । त्यति बेला अक्सिजनको अभाव हुनुमा टाठाबाठाहरुले पहिले नै आ–आफ्नो सुरक्षाका लागि अक्सिजन सिलिण्डर खरिद गरी घरमा राख्नु पनि एउटा कारण हो । अस्पतालका बेड उपलब्ध हुन ठूलै सङ्कट परेको बेला आफ्नो प्रियजनहरुका लागि त्यसो गर्नु अस्वाभाविक पनि होइन तर यसको परिणाम धेरैको घरमा अक्सिजन थन्कियो भने अस्पताल जस्तो अत्यावश्यक ठाउँमा पनि त्यसको चरम अभाव हुन पुग्यो । पोखरालगायत अन्य ठाउँमा अक्सिजन नपाएर बिरामी छट्पटिएर मृत्यु भएको समाचार हामीले पढेकै हो । विगतका यी त्रासद अनुभवबाट यो सरकारले शिक्षा लिइरहेको छ कि छैन भन्ने अन्योल छ, किनकि अक्सिजन बैंकको सुझाव हामीले दिएका थियौं, तर त्यसबारे सरकारको तयारी सुन्न पाइएको छैन ।

अक्सिजन बैंकको अवधारणा पनि ब्लड बैंकको जस्तै हो। हरेक वडामा त्यस्तो केन्द्र स्थापना गरेपछि सरकारले र समुदायका मानिसहरुले अक्सिजन किनेर घरमा राख्नुको सट्टा त्यहाँ राख्नेछन्। सबैलाई एकैचोटी अक्सिजन चाहिने होइन । संग्रहित अक्सिजन सिलिण्डरको निश्चित सङ्ख्या स्टकमा राखेर अन्यलाई केही आवश्यकता अनुसार उपयोग गरिनेछ । स्टकमा राख्नुको कारण अक्सिजन किनेर दिने मानिसलाइ आवश्यकता पर्यो भने तुरुन्त उपलब्ध गराउने हो, ब्लड डोनरको जस्तै । त्यसको सुनिश्चितता गर्न सकियो भने मानिसहरुले घरमा जम्मा गर्ने प्रवृत्ति हटेर जान्छ । वडा नेतृत्व नै यसका लागि अघि बढ्नुपर्छ भनेको कारण वडावासीहरुले अक्सिजन खरिद गरी आफ्नो घरमा राख्नुको सट्टा आफ्नो वडाको बैंकमा राख्नु भन्नका लागि हो । यसरी व्यवस्थापन गरे त्यस्ता वडा वा गाउँपालिकाले आ–आफ्ना अस्पतालमा पनि आवश्यक परे अक्सिजन आपूर्ति गर्न सहयोग गर्न सक्छ। तर त्यस्तो तयारी गर्नका लागि देशमै अक्सिजन उत्पादनको क्षमतामा पनि तीव्र वृद्धि गर्नुपर्नेछ ।

तपाईंहरुले सुन्नुभएकै होला, जो आफ्नो गल्तीबाट सिक्दैन त्यो ती गल्तीहरु फेरि दोहो¥याइ रहन अभिशप्त हुन्छ । विगतका सरकारको गल्तीहरुबाट यो सरकारले सिकेको छ भन्ने विश्वास गर्ने ठाउँ दिएको छैन । त्यसैले यो सरकार पनि त्यही गल्ती गर्न अभिशप्त हुने देख्छु । यतिबेला देशभरि नै सबै चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न हरसम्भव प्रयत्न सरकारले गर्नुपर्छ। तर वीर अस्पताल जस्तो महत्वको अस्पताल मै कोभिड उपचारको जोखिम भत्ता नपाएर पटक पटक आन्दोलन मा उत्रिएका चिकित्साकर्मीहरु अझै आठ महिनादेखि पाउनुपर्ने बक्यौता, यो सरकारले पनि आश्वासनमै टारिरहेको देखिन्छ । हिजोको सरकारले पनि आश्वासनमै टारेको थियो। के फरक भयो रु अहिलेसम्म स्वास्थ्यमन्त्री नियुक्त गर्न सकेको छैन, राज्यमन्त्रीले काम चलाउनुपर्ने बाध्यता देखियो। कोभिडलाई नियन्त्रण गर्नु आफ्नो पहिलो र उच्च प्राथमिकता घोषणा गर्ने यो गठबन्धन सरकार अधिल्लो सरकार जस्तो नबनोस् मेरो शुभकामना छ ।

तेस्रो, नेपालमा कोभिडको चुनौतीको सामना गर्ने सवालमा सकारात्मक र नकारात्मक दुवै अनुभव छन् । दोस्रो लहर शीर्षबिन्दुमा पुग्दा बागमती र लुम्बिनी प्रदेशमा सबैभन्दा बढी सङ्क्रमित थिए । त्यसपछि ग्राफ ओरालो लागेर आठ हप्ता अघि सुस्त हुन थाल्यो र पाँच हप्ता अघि पुनः बढ्दै गएर गएको दुइ हप्ता स्थिर भएको देखिन्छ । यसको कारण मुख्यतः बागमती प्रदेश र प्रदेश १ मा बढेका सङ्क्रमित हुन्। बागमती र त्यसमा पनि काठमाडौँ उपत्यका सँधै प्रथम स्थानमा छ जबकि, भारतसँग सिमाना रहेको सबैभन्दा कमजोर मानव विकास सूचकांक भएको प्रदेश नं २ अहिले पनि अत्यन्त कम सङ्क्रमित र मृत्यु भएको प्रदेश हो। कोरोनाको वेग रोक्न किन त्यो प्रदेश सफल भैरहेको छ, स्वास्थ्य मन्त्रालय र काठमाडौँ उपत्यकाले उनीहरुको अनुभवबाट किन शिक्षा लिइरहेको छैनरु अथवा स्वास्थ्य अनुसन्धान परिषद्ले किन यस विषयमा अनुसन्धान गर्दैनरु तपाईंको लोकप्रिय मिडियाको मध्यमबाट यी सबै निकायलाई यो प्रश्न उठाउन चाहन्छु। मेरो सुझाव त प्रदेश २ कोभिड व्यवस्थापन गर्ने जिम्मेवार व्यक्तिहरुलाई केही समय काठमाडौँमा राखेर स्वास्थ्य मन्त्रालयले सरसल्लाह लिनु उचित हुनेछ भन्ने हो ।

चौथो, खोपको सम्बन्धमा नेपाल सरकारले दुनियाँभरीको देशसँग सहयोग याचना गरेको छ। सबैभन्दा ठूलो चुनौती कोभिशिल्ड खोपको हो किनकि एउटा मात्रै डोज लगाएकाहरुलाई अर्को डोज दिन ढिला भैसक्न थालेको छ। त्यसको बिकल्पमा जापानबाट कोभिशिल्ड जस्तै अक्सफोर्ड अस्ट्राजेनिका खोप ल्याउनुपर्यो । आठ लाख मात्रै पहिलो लटमा आएको हुनाले नेपालको कतिपय प्रदेश र जिल्लामा पुगेको थिएन। अब दोश्रो लट पनि आइपुगेको ले केहि राहत भएको छ। प्रश्न के हो भने यो सरकारले भारतसँग पुनः पहल किन गर्दैनरु भारतमा पहिलेको जस्तो कोरोनाको भयावह स्थिति छैन र सिरम इन्स्टिचुटले एक महिना अघि मध्य जुनमै ११ करोड कोभिशिल्ड खोप प्रत्येक महिना उत्पादन गर्ने लक्ष पुरा गरिसकेको थियो। ११ करोड उत्पादन गर्ने हाम्रो मित्रराष्ट्रले हामीले किनिसकेको बाँकी बक्यौता १० लाख खोप उक्त संस्थानबाट उपलब्ध गराउन किन सक्दैन रु यो भारतका लागि एक राम्रो अवसर हो नेपालप्रति सदाशय देखाउन। नेपाल सरकारले कुटनैतिक पहल सघन बनाउनु पर्यो। भारतीय राजदूत को लागि पनि यो एक अवसर हो । उनले पहिलो खेप खोप आउँदा भारत– नेपालको खोप मित्रताबारे नेपालीमै लेख लेखेका थिए। भारतले सदाशयता देखायो भने यो छिटो र दिगो उपाय हो किनकि जापानबाट अर्को खेप आए पनि नेपाललाई अझै निकै कोभिसिल्ड खोप चाहिनेवाला छ ।


 शुरुमा यो महामारीलाई धेरैले गम्भीर रुपमा लिएनन् । नेपालमा पनि शुरुमा खासै वास्ता गरिएन तर जब एक दुईवटा केश देखापरे त्यसपछि कडा लकडाउन गरियो मानिसले पनि चाहिनेभन्दा बढी सावधानी अपनाएको देखियो तर अहिले सङ्क्रमणको खतरा धेरै बढ्दैछ तर मानिसले खासै मापदण्ड पालना गरेको देखिँदैन । यसले थप जोखिम ल्याउने सम्भावना के छ कतै हामी महामारीलाई सही किसिमले सामना गर्न चुकेका हौं ?

हो, हामी चुकिरहेका छौँ, सबैजसो प्रदेशमा तर मुख्यतः बागमती प्रदेश र काठमाडौं उपत्यकामा। दोस्रो लहरमा कोभिड गाउँ गाउँभित्र प्रवेश गर्यो तर पनि सबैभन्दा बढी समस्याजनक ठाउँ काठमाडौँ उपत्यका नै हो । प्रयत्न नगरेको भन्ने होइन, व्यवस्थापन ठिक भएंभंने हो। त्यसको मुख्य कारण मेरो विचारमा यहाँ यथेष्ट अस्थायी कोभिड विशेष अस्पतालहरु नबनाउनु हो र सबै अस्पताललाई जबर्जस्ती कोभिड सेवा प्रदान गर्न बाध्य बनाउनु हो। त्यसले अस्पतालहरुलाई कोभिड सङ्क्रमण को केन्द्र बन्ने सम्भावना बढायो, कोभिड सेवाको गुणस्तरमा पनि ह्रास ल्यायो । काठमाडौँमा सबैभन्दा राम्रो कोभिड सेवा कसले प्रदान गरेको छ रु यसको उत्तर सरकारी अस्पताल शुक्रराज ट्रपिकल हो भन्नेमा दुई मत नहोला। त्यस्तो किन भयो भनी अहिले पनि हामीले नसोच्ने रु हाम्रै अनुभवले देखाएको छ अस्थायी अस्पतालहरु दुईदेखि तीन महिना मात्र आवश्यक हुन्छन्। निजी अस्पताल र मेडिकल कलेजहरुलाई त्यस्तो अस्पताल बनाउन सकिन्छ। त्यसको व्यवस्थापन गर्न किन गाह्रो भएको हो रु

दुर्गमका गाउँहरुको प्रभावकारी व्यवस्थापनका लागि महिला स्वास्थ्य स्वयंसेविका तथा अन्य वडा स्तरका स्वास्थ्यकर्मीका साथै स्थानीय समुदायको सक्रियतामा कोभिड १९को निगरानी सुदृढ गरिनुपर्ने हुन्छ । बृहत् परीक्षण, कोभिड सम्पर्कमा आएका व्यक्तिहरु पत्ता लगाउने, आइसोलेशनलाई प्राथमिकता दिने र उपचारको आवश्यकता भएकालाई तुरुन्त अस्पतालको व्यवस्था गरिनुपर्ने हुन्छ । सबै सङ्क्रमितको प्रतिवेदन स्वास्थ्यचौकीमा अनिवार्य रुपले बुझाउनुपर्ने हुन्छ । अक्सिजन बैंक स्थापनाको आवश्यकता माथि भनिसकिएको छ ।

अर्को कारण २५ देखि ५४ वर्षको उमेर समूहमा यो दोस्रो लहरमा बढी सङ्क्रमित र मृत्यु देखिएको छ त्यसमा पनि २५ देखि ३५ वर्षका युवाहरुमा । शुरुमा यो रोग युवामा कम लाग्ने बुझाइ थियो तर अहिले, खासगरी यो डेल्टा भेरिएण्टको सङ्क्रमण बाट युवा नै बढी सङुकटमा देखिन्छन् । जनस्वास्थ्यका मापदण्ड पालन गर्न उनीहरु बढी लापरवाह भएकोले यस्तो भएको हुनसक्छ वा पहिलेको लहरमा बढी उमेरका मानिस सङ्क्रमित भएकोले पुनः रोग लाग्ने सम्भावना कम भएको र खोप पनि त्यही उमेर समूहले बढी लगाउन पाएको हुनाले पनि त्यस्तो भएको हुनसक्छ ।

 विश्वमा सबै देशमा कोरोना फैलिएको छ तर केही देशले कोरोनाबीच पनि कम क्षति व्यहोर्दै जनजीवन समान्य बनाएका उदाहरण पनि छन् । तपाईंको विचारमा ती देशबाट हामीले के सिक्न सक्छाैं ?

सबैभन्दा बढी सिक्नुपर्ने हाम्रै छिमेकी देश चीनबाट हो। विना केही तयारी र अनुभव कोभिड महामारीको सामना गरेको विशाल देशमा पहिलो लहरपछि अत्यन्त कम सङ्ख्यामा सङ्क्रमितहरु देखापरेका छन्। जनजीवन यति सामान्य भएको छ कि कम्युनिस्ट पार्टीको शतवार्षिकीमा विना मास्क परेड समारोह आयोजना गरेको विश्वले देख्यो। त्यही कोभिडको लागि चाहिने आवश्यक सामान र खोप विश्वलाई बेचेर अहिले विश्वको सबैभन्दा तीब्र आर्थिक वृद्धि भएको देश बन्न पुगेको छ, अमेरिकासँग व्यापार युद्ध चलिरहेकै बेला पनि । सरकार र आम जनताको घनिष्ठ सहकार्यबाट मात्र त्यो सम्भव भएको हो । उसले बन्दाबन्दी मात्रै गरेन, रातारात अस्थायी कोभिड अस्पतालहरु बनायो, परीक्षणका सामग्रीहरु र खोप बनायो । हामीले चीनबाट सिक्ने भनेको कोभिड विशेष अस्पताल , जनताले अपनाएको जनस्वास्थ्य सुरक्षाका उपायहरु र खोपलगायतका सामानहरु आफ्नै देशमा उत्पादन गर्ने क्षमता हो। नेपालमा जनावरहरुको लागि खोप उत्पादन हुन्छ। मानिसहरु को लागि चीनसँग मिलेर किन चिनियाँ खोप उत्पादन गर्न सकिँदैनरु बाहिरबाट खोप किन्न अरबौं रकम छुट्ट्याउन बाध्य देशले आफ्नै देशमा उत्पादन गर्न पहल किन नगर्ने रु रुसको स्पुतनिक खोप अत्यन्तै प्रभावकारी छ। रुसले पनि नेपालमै खोप उत्पादनमा सहयोग गर्छु भनेको हो। त्यसतर्फ सरकारले कदम चल्नुपर्छ भन्ने हाम्रो सुझाव हो।


हरेक महामारीले अवसर र चुनौती ल्याएको हुन्छ भन्ने छ विगतको महामारीको इतिहासका आधारमा कोभिड १९ ले विश्व सामाजिक व्यवस्था ९सोसियल अडर० र नेपालको पनि सामाजिक परिवेशमा केही फरक पार्न सक्छ ?

चीनले कोभिड चुनौतीलाई अवसरमा बदलेको छ। नेपालमा पनि सक्छ। राजनैतिक इच्छाशक्ति हुने हो भने अवसरमा बदल्न सकिन्छ । कोभिडले मानव स्वास्थ्यको महत्व र प्रकृतिसँगको सम्बन्धलाई उजागर गरेको छ । यसले स्वास्थ्य सेवाको सुदृढीकरण गर्नुका साथै समाजका सबैभन्दा तल्लो तहमा रहेका गरिब जनताको अवश्यकता बारे सचेत बनाएको छ । सामाजिक न्याय र न्यायपूर्ण वितरणको मागलाई अझ घनीभूत बनाएको छ । हाम्रो संविधानले किटान गरेको समाजवाद किन आवश्यक रहेछ भन्ने बोध गराएको छ । अब नेपालको सामाजिक व्यवस्था उस्तै रहिरहँदैन । हामी एउटा नव साधारण (न्यु नर्मल) अवस्था मा पुग्नुपर्ने नै छ। अहिलेको राजनीतिक नेतृत्वले त्यसलाई ठम्याउन र सम्बोधन गर्न ढिलो गर्नुहुँदैन । अन्यथा गरिब विपन्न किसानहरु र विदेशिन बाध्य मजदुरहरुको एकीकृत आक्रोश नेपालको राज्य व्यवस्थाले झेल्नुपर्ने नै छ। त्यसले कोभिड चुनौतीलाई अवसरमा बदल्ने कि सङ्कटमा बदल्ने भन्ने निर्णय नेपालको राजनीतिक नेतृत्वकै हातमा छ।

प्रसङ्ग बदलौं हामीले कोभिड कोभिड भनेर जनस्वास्थ्यका अन्य जटिल रोगलाई त्यति ध्यान नपु-याएको विषयमा यहाँले विगतमा पनि भन्दै आउनुभएको छ, हामी कहाँ चुक्यौँ र कसरी यसलाई सुधार गर्न सकिन्छ ?

कोभिड चुनौतीको बीचमा गैरकोभिड रोगीहरु बारेमा आवश्यक ध्यान नपुगेकै हो । जसबाट कोभिडभन्दा बढी मानिसहरुको मृत्यु भैरहेको छ। मेरो विचारमा यसको प्रमुख कारण कोभिड सेवाको लागि छुट्टै विशेष अस्पताल नबनाएर एउटै अस्पतालमा कोभिड र गैरकोभिडको उपचार गराउने छ्यासमिसे नीति हो। त्यसो हुँदा अस्पतालबाट कोभिड सङ्क्रमण हुनसक्ने डरका कारणले यसै पनि नसर्ने रोगहरुका बिरामीहरु अस्पताल नजाने मनस्थिति बनिरहेको थियो । लकडाउनको अवस्थामा अस्पताल जान खोज्ने बिरामीलाई पनि कठिनाइ भयो यातायात असुविधाके कारण ।

उदाहरणका लागि गंगालाल जस्तो मुटुरोग अस्पताललाई पनि कोभिड सेवा प्रदान गर्न बाध्य पारियो। त्यसैगरी टिचिङ्गको मनमोहन मुटुरोग अस्पताललाई पनि। त्यसको जटिल समस्या त्यहाँका स्वास्थ्यकर्मी र बिरामी दुबैले भोगे । ठाउँको आवश्यकता हो भने दुईमध्ये एकलाई मुटुकै बिरामी हेर्न दिएर अर्कोलाई केही महिनाका लागि कोभिड विशेष अस्पतालमा परिवर्तन गरे हुँदैनथ्यो ? कोभिडको लहर कम भएपछि पुनः आ–आफ्नो सेवा सञ्चालन गरे भैहाल्थ्यो तर यस्तो सोच यो नयाँ सरकारमा पनि देखिँदैन । स्वास्थ्य राज्यमन्त्रीले जारी गरेको प्रतिबद्धतापत्रमा सबै अस्पतालमा कोभिड र गैरकोभिडलाई सेवा दिन सक्षम बनाउने पुरानै रोग दोहोरिएको छ ।

यो कोभिड महामारीको डेढ वर्षमा गैर कोभिडबाट कति मृत्यु भयो भन्ने तथ्याङ्कको खोजीनीति गर्नुपर्दछ । नेपाल सरकारले त्यो आँकडा बाहिर ल्याउनुपर्छ अनि वास्तविकता थाहा हुन्छ । मानसिक स्वास्थ्य र गर्भवती महिलाको सेवामा परेको दुष्प्रभाव मिडियाले बाहिर ल्याएका छन्, अन्य बारे पनि खोजीनीति हुनुपर्छ । बन्दाबन्दीको बेलामा अस्पताल सेवाको लागि यातायातको व्यवस्था गर्नु सरकारको दायित्व हो। त्यति गरे पनि राम्रै हुन्थ्यो। टेलिमेडिसिन र अनलाइन स्वास्थ्य सेवा पनि सशक्त बनाए जनताले सरकार छ भन्ने अनुभूति गर्थे होलान् ।


 तपाईंको विचारमा मानव समुदाय कोभिड पूर्वको अवस्थामा पुग्न कति समय लाग्ला ?

हामीले अब कोभिड पूर्वको अवस्थामा पुग्ने रहर गर्नुहुँदैन। त्यो पूर्व अवस्थाले नै कोभिड जस्ता महामारीलाई जन्म दिएको हो र त्यसलाई परिवर्तन गरिएन भने अर्को नयाँनयाँ भाइरसको प्रकोप विश्वले बेहोर्नुपर्नेछ । कोभिडले हामीलाई स्वास्थ्य जीवन र जनस्वास्थ्यका मापदण्डको महत्व सिकाएको छ । प्रकृतिसँग तादात्म्यपूर्ण जीवन बाच्नुपर्ने रहेछ भन्ने बोध दिएको छ । अक्सिजनलाई किन प्राणवायु भनिँदोरहेछ भन्ने चेत पनि प्रदान गरेको छ। हामीले कोभिड पश्चात्को अवस्था निर्माणमा योगदान दिनुपर्नेछ जुन एउटा नव साधारण अवस्था हो। त्यहाँ केही देश अलि छिटो पुग्लान्, जस्तो कि चीन अमेरिका र युरोपका देशहरु, केही देश अलि ढिलो पुग्लान् । पुग्न त सबै पुग्नेछन् तर नेपालजस्तो देशका लागि त्यसको प्राथमिक शर्त हो । आफ्ना विपन्न जनताको जीवनलाई केन्द्रमा राखेर उनीहरुकै सहभागितामा नीति बनाउनु र लागु गर्नु। त्यसो गर्न सके भविष्यको नेपाल कोभिड पूर्वको अवस्थाभन्दा गुणात्मक रुपले भिन्न, उन्नत, कम जोखिमयुक्त र सक्षम हुनेछ, कुनै पनि महामारीको सामना गर्न ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?