logo
२०८० चैत्र १५ बिहीवार



पञ्चेबाजा बज्दा नझुक्किऔं, जन्ती हाेइन कर उठाउन आएकाे हुनसक्छ

खुला |


पञ्चेबाजा बज्दा नझुक्किऔं, जन्ती हाेइन कर उठाउन आएकाे हुनसक्छ



काठमाडौं, भदौ ७ गते । काठमाडौं महानगरपालिकाले घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट कर असुल गर्न आगामी भदौ ९ गते बुधबारदेखि पञ्चेबाजासहित टोलटोलमा अभियान शुरु गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले कर असुल गर्न बुधबारदेखि पञ्चेबाजासहित लोक तथा दोहोरी गीत बजाएर घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदातासमक्ष पुग्ने र गीतमार्फत कर नतिर्ने करदाताका बारेमा जानकारी गराउन लागेको बताउनुभयो ।

महानगरले बक्यौता रकम असुल गर्न पटक–पटक सूचना सार्वजनिक गर्दा पनि सम्बन्धित निकाय सम्पर्कमा नआएपछि यस्तो तयारी थालेको प्रवक्ता डङ्गोलले जानकारी दिनुभयो ।

काठमाडौं महानगरपालिकाले यसअघि गत असार १६ गते र साउन २६ गते कर नतिर्ने ठूला करदाताको नाम सार्वजनिक गरी ३० दिनभित्र सम्पर्क गर्न आग्रह गरेको थियो । असार १६ गते पहिलो चरणमा कर तिर्न आनाकानी गरेका २० ठूला करदाताको नाम सार्वजनिक गरिएको थियो भने साउन २६ गते दोस्रो चरणमा ७२ ठूला करदाताको नाम महानगरले सार्वजनिक गरेको थियो ।

महानगरले ठूला करदाताको नाम सार्वजनिक गर्दै ३० दिनभित्र सम्पर्क गर्न आग्रह गरेको थियो तर महानगरले सूचना गर्दा पनि करदाताले बेवास्ता गरेपछि यो पटक यस्तो तयारी थालिएको प्रवक्ता डङ्गोलले जानकारी दिनुभयो । यस्तै कर तिर्न बाँकी करदातालाई आफ्नो विवरण लिएर सम्पर्कमा आए नियमअनुसार दिइने कर छुट सुविधा प्राप्त गर्न सकिने महानगरले जनाएको छ ।  अझै आलटाल गरे थप समस्या हुने भन्दै कर तिर्न निजी र अर्धसरकारी सङ्घसंस्थालाई महागरले अनुरोध गरेको छ । महानगरले यस अभियानमा ७० करोड रुपियाँ असुल गर्ने लक्ष्य लिएको प्रवक्ता डंगोलले बताउनुभयो ।

उहाँका अनुसार सूचना सार्वजनिक गरेयता हालसम्म करिब तीन करोड रुपियाँ बक्यौता रकम असुल गरिएको छ । सूचना जारी भएपछि सम्पर्कमा आएका व्यापारिक प्रतिष्ठानले पहिलो चरणमा एक करोड ५३ लाख राजस्व बुझाएको महानगरले जनाएको छ । कर बुझाउनेमा युनाइटेड बिल्डर्स एण्ड इञ्जिनियरिङ (वर्ल्र्ड ट्रेड सेन्टर), नेशनल हस्पिटल, शहीद मेमोरियल हस्पिटल र एनआरटी क्लबले पहिलो चरणमा राजशव बुझाएको हो वल्र्ड ट्रेड सेन्टरले एक करोड, नेशनल हस्पिटलले २४ लाख, शहीद मेमोरियल हस्पिटलले १९ लाख २० हजार र एनआरटी क्लबले १९ लाख राजस्व बुझाएको महानगरले जनाएको छ ।

त्यस्तै राजस्व तिर्न बाँकी रकम केही हप्ताभित्र तिर्ने प्रतिबद्धता गरेको प्रवक्ता डङ्गोलले बताउनुभयो । ‘व्यापारिक प्रतिष्ठानले बाँकी रकम तिर्ने प्रतिबद्धता जनाएको छ । करदातामध्ये कसैले १० दिन, कसैले १५ दिनभित्र बाँकी रकम तिर्ने कागज गर्नुभएको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?