logo
२०८१ बैशाख ११ मंगलवार



आकाशेपानीका भरमा लिबालीवासी

खुला |


आकाशेपानीका भरमा लिबालीवासी


यलु जोशी

भक्तपुर,भदौ १ गते । भक्तपुर लिबालीका ९२ घरपरिवारले आकाशेपानी सङ्कलन गरी खानेपानीको गर्जो टार्दै आएका छन् । सामुदायिक स्तरबाटै आकाशेपानी सङ्कलन गरी ट्याङ्कीमा जम्मा गरेर घरघरमा वितरण गर्ने गरिएको छ ।लिबाली गणेश ट्याङ्की निर्माण समितिका अध्यक्ष नारायण खाइतूूका अनुसार गुठी संस्था, भक्तपुर नगरपालिका र खानेपानी बोर्डसमेतको पहलमा आकाशेपानी सङ्कलन गरिएको छ ।
लिबालीमा खानेपानीका लागि पाइप व्यवस्था नभएकाले स्थानीय टाढाटाढा गएर पानी ल्याउन बाध्य थिए । उहाँले आकाशेपानी सङ्कलनपछि स्थानीयलाई निकै सजिलो भएको बताउनुभयो । स्थानीयले आकाशेपानी उपभोग गर्न थालेको करिब चार वर्ष भइसकेको छ । भूकम्पले लिबालीका घर भत्कँदा पानीको समस्या अझ बढी जटिल बनेको थियो । लिबालीका लागि २५ हजार लिटरको ट्याङ्की बनाउने बजेट प्राप्त भए पनि स्थानीयको मागअनुसार ठूलो ट्याङ्की निर्माण गरिएको अध्यक्ष खाइतूूले जानकारी दिनुभयो ।
उहाँका अनुसार ट्याङ्की बनाउने काममा स्थानीयले श्रमदान गर्नुका साथै आर्थिक सहयोगसमेत गरेकाले एक लाख छ हजार लिटर पानी अट्ने ट्याङ्की बनाइएको छ । यद्यपि, स्थानीयले सरसफाइ, नुवाइ–धुवाइका लागि अन्यत्रकै पानीमा भर पर्नुपर्ने बाध्यता यथावत् छ । प्रत्येक परिवारलाई दैनिक ४० लिटर पानी दिने व्यवस्था मिलाइएको छ । उहाँले भन्नुभयो, “मनसुनको पानी जम्मा गर्ने विशेष महिना अहिले भए पनि फागुनदेखि वैशाखसम्म पानी पर्दैन, त्यो समयमा इनारको पानी फिल्टर गरेर वितरण गर्ने गरेका छौँ ।”
लिबाली टोल गुठीका पानीविज्ञ प्रकाश अमात्यले एउटा समुदाय जुट्यो भने कति धेरै काम गर्न सकिन्छ भन्ने उदाहरण लिबालीवासीले दिएको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?