logo
२०८० चैत्र १५ बिहीवार



सहकारी बैङ्क खोल्न प्रधानमन्त्री सकारात्मक

अर्थ |


सहकारी बैङ्क खोल्न प्रधानमन्त्री सकारात्मक


गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन १८ गते । नेपाली काँग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छ । विभागका प्रमुख एवं काँग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गानाको नेतृत्वमा विभागको टोलीले प्रधानमन्त्री देउवालाई आइतबार भेटेको हो ।
भेटका अवसरमा विभागका सचिव सुरेन्द्र भण्डारीले विभागको तर्फबाट देउवालाई शुभकामना पत्र प्रदान गर्दै विभागले गरेका र भावी योजना र कार्यक्रमबारे जानकारी गराइएको सचिव भण्डारीले बताउनुभयो ।
प्रधानमन्त्री देउवासँगको भेटमा ‘नेपाल सहकारी बैङ्क’ खोल्ने जानकारी गराएको सचिव भण्डारीले बताउनुभयो । बैङ्क खोल्न हालसम्म गरेको काम र प्रक्रियाको विषयमा जानकारी गराउँदा प्रम देउवाले देशभरका सहकारी क्षेत्रको प्रतिनिधित्व हुनेगरी सहकारी बैङ्क खोल्नु आवश्यक रहेको आशय व्यक्त गर्नुभएको सचिव भण्डारीले बताउनुभयो ।
नेपाल सहकारी बैङ्क खोल्ने विषयमा आफू सकारात्मक रहेको र तत्काल प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग परामर्श लिने धारणा प्रधानमन्त्रीले राख्नुभएको उहाँले बताउनुभयो ।
विभागका प्रमुख ढुङ्गानाले काँग्रेसको नेतृत्वमा रहेको सरकारले सहकारीको क्षेत्रमा देखिएका समस्या समाधान गर्न ध्यान दिनुपर्ने सुझाव दिनुभएको थियो ।
विभागका प्रमुख एवं केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गाना, सचिव सुरेन्द्र भण्डारी, सदस्यहरू भरत ढकाल, सीताराम काफ्ले, माधव दुलाल, शक्ति खड्का, शरद महर्जनसहितको कार्यसमितिका पदाधिकारी बालुवाटार पुग्नुभएको थियो ।
नेपाल सहकारी बैङ्क स्थापना गर्न संयोजक भण्डारीको नेतृत्वको टोलीले सहकारी विभागबाट सहमति लिइसकेको छ । नेपाल राष्ट्र बैङ्क र सहकारी महासङ्घको पत्र प्राप्त हुनासाथ बैङ्क सञ्चालनमा आउनेछ । बैङ्क सञ्चालन गर्न राष्ट्रिय भेला सम्पन्न भइसकेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?