logo
२०८० चैत्र १६ शुक्रवार



बालबालिकाको खानपानमा ध्यान दिन सुझाव

बालबालिकालाई ताजा सागसब्जी, तरकारी, दालभात पोषणको हिसाबले उपयुक्त र पर्याप्त हुन्छ ।

स्वास्थ्य |
मुख्य समाचार |


बालबालिकाको खानपानमा ध्यान दिन सुझाव


यलु जोशी

काठमाडौँ, असार २२ गते । मनसुन सुरु भएसँगै बालबालिकामा विभिन्न किसिमका रोगको जोखिम बढ्ने हुनाले खानपानमा ध्यान दिन विज्ञहरूले सुझाव दिएका छन् ।
मनसुनको समयमा बालबालिकालाई झाडापखाला, जन्डिस, मलेरिया, डेङ्गुजस्ता समस्याले सताउन सक्ने बालरोग विशेषज्ञ डा. प्रज्ञा प्रधानले जानकारी दिनुभयो । उहाँले विशेषगरी खाना र फोहोर पानीका कारण धेरै स्वास्थ्य समस्या आउने जानकारी दिँदै कोरोनाको तेस्रो लहरको चिन्ता पनि बढ्न थालेकाले सचेत हुनुपर्ने बताउनुभयो । “कोरोनाको सम्भावित तेस्रो र चौथो लहरमा बालबालिका बढी जोखिममा पर्नसक्ने अनुमान गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नै सङ्क्रमणको तेस्रो लहर आउन सक्ने र बालबालिका बढी सङ्क्रमित हुने अनुमानसहित स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ”, डा. प्रधानले भन्नुभयो ।
मौसम परिवर्तन हुँदा बालबालिकामा प्रतिरोधात्मक क्षमता घट्ने भएकाले यस्तो अवस्थामा स्वच्छ, सफा र पौष्टिक खानाको व्यवस्था गर्नुपर्ने सुझाव उहाँको छ । रोगप्रतिरोधी प्रणाली विभिन्न अङ्ग, कोष, तन्तु र प्रोटिनबाट बनेको जटिल सञ्जाल हो । सामान्य भाषामा भन्ने हो भने प्रतिरोधी प्रणालीले शरीरलाई विभिन्न ब्याक्टेरिया, भाइरस र अन्य सङ्क्रमणबाट बचाउने काम गर्छ ।
डा. प्रधानले भन्नुभयो, “बालबालिकालाई ताजा सागसब्जी, तरकारी, दालभात, पोषणको हिसाबले उपयुक्त र पर्याप्त हुन्छ ।” दैनिक आहारमा हामीले ‘हरेक बार, खाना चार’ भन्ने मन्त्र अपनाउनुपर्ने सुझाव उहाँकोछ । यसको अर्थ,हामीले खाने खानाको थालमा कम्तीमा चारवटा खाद्य समूहबाट खानेकुरा समावेश गर्न सकियो भने अत्यन्त राम्रो हुन्छ ।
जनस्वास्थ्य तथा पोषणविद् डा. अरुणा उप्रेतीले बालबालिकाका साथै हामीले खानेकुरामा उचित ध्यान नदिँदा समस्या आउने बताउनुभयो । उहाँका अनुसार यो समयमा पानीसँगै विभिन्न प्रकारका कीटाणु आउँछन् । यसले जन्डिस, डेङ्गुजस्ता रोग फैलाउने गर्छन् । हिलो र फोहोरका कारण घाउ खटिरा हुने सम्भावना पनि अत्यन्त धेरै हुन्छ ।
डा. उप्रेतीले भन्नुभयो, “वर्षायाममा फोहोर पानीका कारण पनि धेरै बिरामी पर्ने गर्छन् । हामीले सधँै उमालेको पानी पिउनुपर्छ । उमालेको वा फिल्टर गरेको पानीमा हाम्रो शरीरलाई असर गर्ने कीटाणु हुँदैनन् ।” मनसुनमा हाम्रो शरीरको पाचन प्रक्रिया कमजोर हुने कारणले यस मौसममा तारेको खानेकुरा खानु हुँदैन । हाम्रो शरीरमा यस्ता खानेकुराले अपच हुने तथा पेटसम्बन्धी समस्या हुने गर्छ ।
हामीले खिचडी, झोलिलो कुराजस्ता खानेकुरा बढी मात्रामा खान सकिने पनि उहाँले बताउनुभयो । पानी नपरेका बेला पनि हावाले एक ठाउँबाट अर्को ठाउँमा कीटाणु लैजान्छ । रोगको सङ्क्रमणले बिरामी, वृद्ध र बालबालिकालाई चाँडै च्याप्छ । त्यसैले यो मौसममा बच्चाको धेरै ख्याल राख्नुपर्छ ।
तातोपानी, तातो सुप खुवाउँदा बच्चालाई चिसोबाट बचाउन सकिन्छ । पानीमा भिजेपछि शरीरभित्र र बाहिरको तापक्रम नमिल्दा बच्चा बिरामी हुन्छ । बच्चालाई राति सुत्ने बेलामा तातो तेलले शरीर मालिस गरिदिनुपर्ने पनि डा. उप्रेतीले प्रस्ट पार्नुभयो । पानी पर्ने मौसममा रोगप्रतिरोध क्षमता बढाउँदै आफ्नो शरीरलाई सन्तुलनमा राख्न सुप पिउन उहाँले सुझाव दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?