logo
२०८१ बैशाख १२ बुधवार



कोभिड–१९ को महामारी र स्वास्थ्य सेवा

विचार/दृष्टिकोण |


कोभिड–१९ को महामारी र स्वास्थ्य सेवा


सरोज ढुङ्गेल

कोभिड–१९ को दोस्रो भेरियन्टले गर्दा धेरै सङ्क्रमितको उपचारक्रममा आर्थिक अवस्थामा ठूलो धक्का लागेको छ । बाँच्ने आशामा सङ्क्रमितहरू निजी अस्पतालमा जानुपरेको र लाखौँ खर्च बेहोर्नुपरेको छ । बालाजु बसोवास गर्ने शोभा सुवेदी कोभिड भएपछि त्रिवि शिक्षण अस्पताल, वीर, टेकुमा भर्नाका लागि पहल भयो । सरकारी अस्पतालमा भर्ना नपाएपछि ह्याम्स अस्पतालमा भर्ना गरी उपचार भयो । उहाँलाई आईसीयूूमा राखियो । २५ दिन अस्पतालको बसाइपछि अहिले उहाँ निको हुनुभएको छ । तर, लाखौँ खर्च भएको उहाँले सुनाउनुभयो । कोभिडको उपचारमा १९ लाख रुपियाँ खर्चिएको भन्दै उहाँले सरकारले निजीमा पनि निःशुल्क उपचार हुने भनेर घोषणा गरे पनि कार्यान्वयन हुन नसकेको बताउनुभयो ।
यस्तै, दोर्जी गुरुङलाई काठमाडौँको एक निजी अस्पतालमा भर्ना गरेर राखिएको थियो । कोभिडले समस्या बढ्दै गएपछि भेन्टिलेटरमा राखियो । अस्पतालमा १३ लाख रुपियाँ खर्च भयो । तर, उहाँलाई बचाउन सकिएन । केही सङ्क्रमित लाखौँ खर्च गरेर बाँचे पनि केही सङ्क्रमितको खर्च गरिसकेर पनि मृत्यु भएको छ । कतिपय सङ्क्रमितलाई हेलिकोप्टर चार्टर गरेर काठमाडौँ ल्याइसकेपछि पनि मृत्यु भएको छ भने कतिपय सङ्क्रमित सरकारी अस्पतालमा बेड नपाउँदा पनि घरबारी बेच्नुपरेको छ । कोभिड युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकारी प्रा.डा. जागेश्वर गौतमले गाउँबाट उपचारका लागि काठमाडौँ ल्याइएका धेरै सङ्क्रमित घरबारविहीन हुनुपरेको बताउनुभयो । डा. गौतमले सरकारी अस्पताललाई मजबुत नबनाउँदासम्म निजी अस्पतालमा सधँै कोभिड सङ्क्रमित वा अन्य बिरामीले दुःख पाइरहने बताउनुभयो । कोभिड बिरामीका लागि वीरमा कम्तीमा एक सय शøयाको आईसीयू कक्षसहित व्यवस्था गर्न लागिएको गौतमले जानकारी दिनुभयो ।
त्यसो त धेरै मानिसले रोजीरोटी पनि कोभिडले गुमाउन पुगेका छन् । रामेछापका पीताम्बर गौतम रङ लगाउने काम गर्नुहुन्थ्यो । तीनजना छोराछोरी र पतिपत्नी गरी पाँचजनाको परिवार सजिलैसँग पाल्नुभएको थियो । बन्दाबन्दी भएपछि उहाँले गर्ने काम ठप्प हुन पुग्यो । परिवारसहित गाउँ जानुभएका गौतम बन्दाबन्दी खुलेपछि काठमाडौँ फर्कनुभयो । तर, अहिले पहिलेजस्तो काम पाउन सक्नुभएको छैन । अहिले परिवार पाल्नलाई समेत उहाँलाई धौ–धौ परेको छ ।

कोभिड–१९ को सुरुवात
२०७७ साल पुस महिनामा छिमेकी मुलुक चीनको वुहानमा कोभिड–१९ देखिएपछि त्यसैलाई पहिलो उत्पत्ति मानिन्छ । नेपालमा कोभिड महामारी आउन सक्नेतर्फ केही सरुवा रोग विशेषज्ञले त्यसैबेला चेतावनी दिइसकेका थिए । केही मिडियाले विशेषज्ञको भनाइलाई उद्धृत गर्दै कोभिड–१९ बारे समाचार बनाए । २०७७ पुस २७ गते चीनको वुहानबाट आएका नेपाली एक विद्यार्थीमा कोभिडको लक्षण देखिएको थियो । उनलाई टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरियो । चिकित्सकहरूले उनलाई कोभिड भएको शङ्का गरे । त्यो बेला कोभिडलाई कोरोना भाइरस भनिन्थ्यो । पछि विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसलाई कोभिड–१९ नामकरण गरेको हो । नेपालमा कुनै पनि ठाउँमा कोभिड–१९ परीक्षण सम्भव थिएन । उक्त विद्यार्थीको नमुनालाई पीसीआरका लागि हङकङस्थित कोलाबोरेटिङ सेन्टरमा पठाइएको थियो । सेन्टरले ०७७ माघ १० गते प्रयोगशाला परीक्षणको रिपोर्ट पोजेटिभ भएको पठाएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले माघ ११ गते पत्रकार सम्मेलन गरी नेपालमा पहिलोपटक कोरोना सङ्क्रमण अर्थात् कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जानकारी दिएको थियो । कोभिड–१९ भाइरस चीनको वुहान प्रान्तमा मात्र नभई, क्रमशः विश्वमै फैलन सुरु ग¥यो ।
दोस्रो चरणको भेरियन्ट देखिएसँगै नेपालमा दैनिक दुई सयभन्दा बढी व्यक्तिले कोरोना सङ्क्रमणबाट ज्यान गुमाए । यो सङ्ख्या अहिले क्रमशः घटिरहे पनि मृत्यु अझै ५०÷५५ जनाको हाराहारीमा कायम छ । पहिलो चरणमा दैनिक एक हजार, एक हजार पाँच सयसम्मलाई देखिएको कोभिड पछिल्लो भेरियन्टमा नौ हजार चार सय व्यक्तिलाई सङ्क्रमित बनायो । एकैदिन २४६ जनाको मृत्यु हुन थालेपछि परिस्थिति अत्यासलाग्दो बन्योे । गत वर्षको बन्दाबन्दीले एकबाट अर्को व्यक्तिमा कोरोना भाइरस सर्न सक्ने सम्भावनालाई धेरै हदसम्म रोक्यो तर दोस्रो लहर नियन्त्रणका लागि गरिएको निषेधाज्ञमा मानिस खुलेआम गाउँ गएका छन् । यसबाट सङ्क्रमण सहरबाट गाउँ पुगेको अनुमान गर्न सकिन्छ ।
जेठ १ गतेको तथ्याङ्क हेर्ने हो भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र दैनिक चार हजार एक सयजनाको स्वाब सङ्कलन भएको छ । दोस्रो लहरको उच्च सङ्क्रमणको समयमा कुल सङ्क्रमितमध्ये ४० देखि ४७ प्रतिशतसम्म सङ्क्रमित थपिए । यो प्रतिशतको अधिकांश सङ्ख्या उपत्यकाको हो । अहिले पनि ३३ प्रतिशत सङ्क्रमित उपत्यकामा रहेका छन् । कोरोना भाइरसको सुरुवाती चरण नेपालीका लागि के गर्ने, कसो गर्ने अवस्थाको रह्यो । किनकि हामीकहाँ परीक्षणको समेत उपकरण थिएन । अहिले पनि देश त्रासदीपूर्ण अवस्थामा छ । चिकित्सक कोभिडबारे यसै भन्न सक्ने अवस्थामा छैनन् । पहिले–पहिले वृद्धवृद्धा, दीर्घरोगीलाई मात्र बढी गाह्रो बनाउने भनिएको कोरोनाले अहिले बालबालिका र युवकयुवतीलाई समेत सङ्क्रमित बनाएर मृत्युको मुखमा पु¥याएको छ । सुरुमा विदेशबाट आएकालाई मात्र देखापरेकाले दोस्रो चरणमा कोरोना प्रवेश भएको थिएन । बिस्तारै चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मी, अग्रपङ्तिका सुरक्षाकर्मी पनि सङ्क्रमित हुन थाले । बिस्तारै स्थानीय स्तरमा कोरोना देखिन थाल्यो । केही समयअघि सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख २० हजार पुगेको थियो । यो सङ्ख्या क्रमशः घटेर अहिले ५० हजारबाट तल ओर्लेको छ । कोरोनाले गर्दा अस्पतालमा बेड पाउन कठिन भएकोमा अहिले त्यो अवस्था छैन । सरकारले ठूला होटल, कलकारखाना, सङ्घ संस्थाका भवनलगायतलाई आइसोलेसन बनाएर बिरामीको उपचार गर्न सुरु गरेकोमा अहिले त्यो अवस्था छैन ।

खोपले जगाएको आशा
कोरोनाविरुद्धको खोप भारतपछि नेपालमा आयो । सुरुमा कोभिसिल्ड खोप नेपालमा परीक्षणका लागि पठाएको हो भन्ने भ्रम सिर्जना गरियो । धेरै स्वास्थ्यकर्मीले समेत भ्याक्सिन लगाएनन् । सरकारले खोप लगाउन आग्रह ग¥यो । स्वास्थ्यकर्मी, सरसफाइकर्मीपछि पत्रकारलाई समेत खोप लगाउने अवसर उपलब्ध गराइयो । नेपालमा क्रियाशीलमध्ये ५० प्रतिशत पत्रकारले खोप लगाउन मानेनन् । दोस्रो भेरियन्टक्रममा खोप लगाएका व्यक्तिलाई कोरोना सङ्क्रमण नदेखिने वा देखिहाले पनि त्यति असर नगरेको पाइएपछि खोप लगाउन अहिले हारगुहार भइरहेको छ । प्राथमिकतामा परेर पनि खोप नलगाएका स्वास्थ्यकर्मी, पत्रकार, सुरक्षाकर्मी पहिलो डोज खोप लगाउन भौँतारिइरहेका छन् । नेपालमा छ लाख मानिस सङ्क्रमित भइसकेका छन् । आठ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । दुई छिमेकी मुलुकको अनुदानको खोप लगाउन सुरु गरेको सरकारले सबै नागरिकलाई यस वर्षभित्र खोप लगाउने योजना बनाई खरिद प्रक्रिया अगाडि बढाएको छ । यसले पनि कोरोना नियन्त्रणमा धेरै मद्दत पु¥याउनेछ । खोपले आमनागरिकलाई कोरोनासँग लड्ने, पराजित गर्ने आशा जगाएको छ ।

टेकु अस्पताल कोभिड बिरामीको भरोसा
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एक वर्ष पहिलेसम्म कुकुरले टोकेका मानिस सुई लगाउन जाने गर्थे । एचआईभीको औषधि नियमित सेवन गर्ने सङ्क्रमित फलोअपका लागि जाने गर्थे । यसबाहेक सर्पले टोकेका, झाडापखाला लागेका मानिस टेकु अस्पताल पुग्थे । न त बिरामीको प्राथमिकतामा टेकु अस्पताल पथ्र्यो न त सरकारको प्राथमिकतामा टेकु अस्पताल पथ्र्याे । अस्पतालमा निर्देशक नियुक्ति भएर कोही डाक्टरलाई पठायो भने कारबाही गरेर स्वास्थ्य मन्त्रालयले पठायो भन्ने ठान्थे । टेकु अस्पताल जान कुनै ‘पावर’ लगाउनुपर्दैनथ्यो । अस्पतालका निर्देशकको गुनासो रहन्थ्यो, “सरुवा रोग अस्पताललाई सधैँ स्वास्थ्य मन्त्रालयले हेप्यो । यहाँ न बजेट दिन्छ, न त वास्तै गर्छ । यतिसम्म कि वर्षायाममा मात्र अस्पतालका बेडमा केही बिरामी हुन्थे । त्यो बेलासम्म टेकु अस्पतालमा एउटा पनि आईसीयू बेड थिएन । तर अहिले समय परिवर्तन भएको छ, सबैको रोजाइको अस्पताल टेकु अस्पताल बन्न पुगेको छ । यतिखेर टेकु अस्पतालमा बेड पाउन, आईसीयू पाउनका लागि माथिल्लो पदमा पुगेको व्यक्तिले भन्दा समेत पाइँदैन । अर्थात् सबै बेड, आईसीयू, भेन्टिलेटर भरिभराउ छन् । अस्पतालका चिकित्सकलाई आईसीयू, भेन्टिलेटर वा आइसोलेसन वार्ड मिलाउनुप¥यो भनेर धेरैले फोन लगाइरहेका हुन्छन् । एक वर्षसम्म एउटा पनि आईसीयू बेड नभएको टेकु अस्पतालमा अहिले २५ बेड आईसीयूृ तथा १२ बेड भेन्टिलेटर सुचारु भइरहेको छ । बिरामीको चाप पनि त्यत्तिकै छ । उक्त अस्पतालका स्वास्थ्यकर्मी तथा चिकित्सकलाई अन्य अस्पतालमा जति धेरै स्वास्थ्यकर्मी सङ्क्रमणमा परे, त्यो अनुपातमा त्यहाँका स्वास्थ्यकर्मी सङ्क्रमित भएका छैनन् । यसले टेकु अस्पतालमा कोरोना सङ्क्रमितको उपचार धेरै राम्रोसँग हुने गर्छ भन्ने प्रस्ट हुन्छ । राज्यले बेवास्ता गरेको आरोप लागेको अस्पतालमा कोरोना महामारीसँगै बिरामीलाई उत्कृष्ट सेवा दिन सकेको छ ।
यतिखेर कोरोनाले नेपालमा मात्र नभई, भारतलगायतका अन्य देशमा समेत भयावह स्थिति बनाएको छ । करोडौंंँ मानिस सङ्क्रमित भइसकेका छन् । यस्तै लाखौँ सङ्ख्यामा मानिसको मृत्यु भइसकेको छ । पहिलो चरणको कोरोनाको सन्त्रास सकिन नपाउँदै विश्वमा दोस्रो लहरको कोरोना देखाप¥यो । यतिखेर नेपाल पनि त्यही दोस्रो लहरको चपेटामा परेको छ । सुरुको अवस्थामा स्वाब परीक्षणका लागि हङकङ पठाएको नेपालले अहिले नेपालमै ८५ वटा प्रयोगशालाबाट कोरोनाको परीक्षण हुन्छ । सरकारी ४५ वटा प्रयोगशालाबाट कोरोना परीक्षण हुने गरेको छ । कोरोनाले आर्थिक, सामाजिक र स्वास्थ्य प्रणालीमा दिने चोट एकातिर हुन्छ । त्यो स्वाभाविक रूपमा नेपालमा पनि छ । कोरोनाले अर्थसामाजिक व्यवस्थामा पनि धेरै प्रभाव पारेको छ । तर, राम्रो पक्ष नेपाल स्वास्थ्य प्रणालीमा कहाँ–कहाँ कमजोर छ ? हामीले कहाँ–कहाँ सुधार गर्नुपर्छ ? भन्ने विषय पनि प्रस्ट देखाइदिएको छ । अब कुनै पनि महामारी वा विपत् आउँदा कसरी अगाडि बढ्ने भन्ने कुराको पाठ पनि सिकाएको छ । हामी कहाँ कमजोर छौँ र कसरी अगाडि बढ्दा राम्रो हुन्छ भनी स्वास्थ्य प्रणालीलाई सबलीकरण गर्न मार्गप्रशस्त गरेको छ । त्यही भएर महामारीलाई अवसरका रूपमा लिएर थप काम गर्दै जानुपर्छ । अहिले अस्पताल सुदृढीकरण भएका छन् । कोरोना नियन्त्रणमा धेरै काम भएको छ । 
(लेखक गोरखापत्रका पत्रकार हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?