logo
२०८१ बैशाख ६ बिहीवार

  कोरोना सङ्क्रमण दर कहिले शून्य अवस्था पुग्ला ?  



निषेधाज्ञा खुकुलो भएसँगै सावधानी नअपनाए जोखिम झन बढ्न सक्छ

स्वास्थ्य |


निषेधाज्ञा खुकुलो भएसँगै सावधानी नअपनाए जोखिम झन बढ्न सक्छ


आशा साह
काठमाडौं, असार १६ गते । कोरोनाभाइरस कोभिड–१९ सङ्क्रमण दर शून्य अवस्था हुने यकिन तथ्याङ्क नरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले बताउनुभएको छ । निर्देशक पौडेलका अनुसार श्वासप्रश्वासका छिट्टा र हावाको माध्यमबाट कोरोना सङ्क्रमण सर्ने मुख्यमाध्यम भएको हुनाले कोरोनाबाट सङ्क्रमित हुने दर शून्य अवस्थामै कहिले पुग्ने यसको यकिन तथ्याङ्क छैन ।

‘कोरोनाविरुद्ध देश विदेशमा धेरै अध्ययनहरू भएका झन् । सबैभन्दा बढी जोखिम वा कुनै पनि रोग लाग्नलाई तीन वटा माध्यमको महत्वपूर्ण भूमिका हुन्छ । त्यो हो एजेण्ट, व्यक्ति र वातावरण,’ उहाँले गोरखापत्रसँगको कुराकानीमा भन्नुभयो,‘एजेण्ट भनेको भाइरस हो । यसको नयाँ–नयाँ भेरियन्ट विकसित भयो र त्यो बढी सङ्क्रमक देखियो, यो भेरियन्ट धेरै सङ्क्रमक छ ।’

यसैगरी अर्को व्यक्ति : व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता कमजोर छ भने जस्तोसुकै रोग पनि लाग्न सक्ने उहाँले बताउनुभयो । जस्तै, कसैमा मधुमेह रोग नियन्त्रणमा छैन, जन्मजात रोगविरुद्धको प्रतिरोधात्म क्षमता कमजोर छ, औषधि दीर्घ सेवन गरिरहेका छन् भने यस्ता व्यक्तिलाई जोखिम अत्यधिक बढी हुने बताउनुभयो ।

त्यस्तै अर्को हो वातावरण : वातावरणले पनि कोरोना सङ्क्रमणलाई फैलन मद्दत गरेको हुन्छ । बन्द कोठा, हावा प्रवाह हुन नसक्ने स्थान र धेरै सङ्क्रमित भएका स्थानहरु, जस्तै बैंक, सरकारी र निजि कार्यालय, पसललगायत अन्य क्षेत्र । यस्तो स्थानमा जोखिम बढी हुन्छ । रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्ण पौडेलले भन्नुभयो, अहिले निषेधाज्ञा विस्तारै खुकुलो हुँदैछ । निषेधाज्ञा खुकुलो भयो भन्दैमा सङ्क्रमण दर पूरै नर्मल अवस्थामा पुगेको छैन । जोखिम कायमै छ । यसैले हामीले स्वास्थ्य मापदण्डलगायत सबै कुरामा ध्यान दिनुपर्छ । यो समयमा एकदमै सचेत हुने अवस्था हो । यदि हामी सचेत भयौं भने सङ्क्रमण दर घट्दै जान्छ, यदि लापरबाही गर्यौ भने सङ्क्रमण फेरि उकालो लाग्न सक्छ ।

‘गत वर्ष निषेधाज्ञा खुकुलो हुँदा धेरै लापरबाही भएको थियो । जसले गर्दा सङ्क्रमण दर पुनः उकालो लगेको थियो ।अहिले पनि यस्तै भएको थियो । त्यो पुनः नहोस् भन्नलाई सबै जना उत्तिकै जिम्मेवार र सचेत हुन आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘भाइरस अहिले पनि हाम्रै समुदायमा छ, कति व्यक्ति लक्षण विहीन छन् भने केहीमा सामान्य लक्षण देखिएका छन् । अझ सामान्य लक्षण भएका व्यक्तिले परीक्षण गराएका छैनन् । कति सम्पर्कमै छैनन् भने कति सम्पर्कमा आएपनि परीक्षण हुन सकेको छैन । त्यसैले निषेधाज्ञा खुकुलो भए पनि जोखिम हाम्रै वरिपरि छ ।’

उहाँले भन्नुभयो, यसका लागि सबैजना सचेत हुने, जनस्वास्थ्यका मापदण्ड पालन गर्ने, अनावश्यक भीडभाड नगर्ने, जोखिम युक्त स्थानमा नजाने, हावा प्रवाह हुने ठाउँमा बस्ने लगायतका कुराहरुमा ध्यान दिन जरुरी छ । यति कुरामा ध्यान दियौं भने सङ्क्रमणमा केही कमी हुन्छ । नत्र गत वर्षकै जस्तो फेरि सङ्क्रमण दर बढ्ने जोखिम रहन्छ ।

यद्यपी राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले कस्तो प्रकारको भाइरस विकसित भइरहेको छ भन्ने अध्ययन गरिएको उहाँले बताउनुभएको छ । अर्को विभिन्न ठाउँको तथ्याङ्कको आधारमा जोखिम समूह र जोखिम स्थानहरु कहाँ–कहाँ छन् भन्नेबारे पनि अध्ययन भइरहेको उहाँले बताउनुभयो । त्यसैगरी दुई प्रकारको खोप र तिनको प्रभावकारिता लगायत अन्य कुराको राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले अध्ययन गरिरहेको उहाँको भनाइ छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २७ जिल्लामा पाँच सयभन्दा बढी सङ्क्रमित र तीस जिल्लामा दुई सयभन्दा बढी सङ्क्रमित रहेको जनाएको छ । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लाहरुमा प्रदेश १ मा मोरङ, सुनसरी र झापा, प्रदेश २ मा धनुषा र बारा, बाग्मती प्रदेशमा काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली र नुवाकोट  छन् । त्यस्तै गण्डकी प्रदेशमा कास्की, गोरखा, नवलपरासी (पूर्व) र बाग्लुङ, लुम्बिनी प्रदेशमा दाङ, रुपन्देही, पाल्पा र बर्दिया, कर्णाली प्रदेशमा सुर्खेत र सुदूरपश्चिम प्रदेशमा कैलालीमा पनि पाँच सयभन्दा बढी सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी दुई सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा प्रदेश १ मा उदयपुर, संखुवासभा र पाँचथर, प्रदेश २ मा पर्सा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही छन् । त्यस्तै बाग्मती प्रदेशमा रामेछाप र दोलखा, गण्डकी प्रदेशमा गोरखा, म्याग्दी, लमजुङ, पर्वत र तनहुँ, लुम्बिनी प्रदेशमा बाँके, नवरपरासी (पश्चिम), कपिलवस्तु, गुल्मी, अर्घाखाँची र रोल्पा, कर्णाली प्रदेशमा दैलेख, सल्यान, रुपकुम (पश्चिम) र जुम्ला, सुदूरपश्चिम प्रदेशमा डडेल्धुरा, डोटी, कञ्चनपुर, बैतडी र अछाम जिल्लाहरुमा दुई सयभन्दा बढी सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?