logo
२०८१ बैशाख ८ शनिवार

  कस्तो छ संभावित तेस्रो लहरसँग जुद्धने तयारी ?  



उपत्यकाका निजी तथा सरकारी अस्पताल तयार अवस्थामा

स्वास्थ्य |
पढ्नै पर्ने |


उपत्यकाका निजी तथा सरकारी अस्पताल तयार अवस्थामा


बिष्णु पाण्डेय
काठमाडौं, असार १४ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी तथा सरकारी अस्पतालहरूलाई तेस्रो लहर आउन सक्ने र बालबालिका बढी सङ्क्रमित हुन सक्ने भन्दै अस्पतालहरुलाई २० प्रतिशत शैया बालबालिकाका लागि छुट्याउन आग्रह गरेको थियो ।
सरकारको निर्देशन अनुसार बिभिन्न अस्पताल बालबालिकाका लागि शैयासँगै भेन्टिलेटर र आईसियूको व्यवस्थापनमा जुटेका छन् । सरकारले तेस्रो लहर आउन सक्ने जनाए पनि तेस्रो लहर कहिलेसम्म आउन सक्छ भनेर भन्न सक्ने अवस्था अहिलेसम्म छैन ।
वीर अस्पतालमा स्थापना गरिएको कोभिड युनिफाइड अस्पतालले सरकारको निर्र्देशन अनुसार तेस्रो लहरको जोखिमलाई मध्यनजर गरी बालबालिकाको लागि शैया छुट्याएको जनाएको छ । सो अस्पतालका प्रमुख डा. जागेश्वर गौतमका अनुसार सरकारको निर्देशन अनुसार जम्मा शैयाको २० प्रतिशत शैयाहरु बालबालिकाको लागि छुट्याईएको छ भने भेन्टिलेटर र आईसीयू पनि तयारी अवस्थामा राखिएको छ । उहाँले भन्नुभयो “हाम्रो कोभिड युनिफाईड अस्पताल भएको भएर पनि हामी यो कुरामा निकै चनाखो छौँ । सम्भावित तेस्रो लहरमा बालबालिका कोभिडबाट सङ्क्रमित नहोउन् भन्ने हाम्रो धारणा हो तर बालबालिकालाई समस्या आईपरे कामाण्ड अस्पताल सदैब तयार छौँ ।”
यस्तै ह्याम्स अस्पतालले पनि शैयाको व्यवस्थापनमै जुटेको जनाएको छ । अस्पतालका सिईओ राम आचार्यले जनाए अनुसार अस्पतालले विशेष टोली बनाएर यसको व्यवस्थापनमा जुटेको छ । “हामी पहिले पनि कोभिडका बिरामीहरुको बारेमा विशेष सचेतका साथ नै काम गरेका थियौँ पछिल्लो पटक सरकारले बालबालिकाका लागि २० प्रतिशत शैया, आईसीयू र भेन्टिलेटर छुट्याउन आग्रह गरेपछि हामी टिम नै बनाएर यसको ब्यवस्थापनमा लागेका छौँ ,” उहाँले भन्नुभयो ।
नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले पनि आवश्यक तयारी गरेको जनाएको छ । आफूहरुले सरकारले तोकेको भन्दा बढी नैै शैया छुट्याएको अस्पतालका प्रवक्ता सोमनाथ वास्तोलाले जानकारी दिनुभयो । “हामीसँग भएका स्वीकृत सङ्ख्याभन्दा हामीले बढी नै शैया छुट्याएका छौँ किनभने तेस्रो लहर आउन सक्ने सरकारले जनाएसँगै लहर जतिबेला पनि आउन सक्ने ठानेर हामीले छुट्याईसकेका छौं” उहाँले भन्नुभयो । सरकारले नै तेस्रो लहरले बालबालिका बढी सङ्क्रमित हुन सक्ने भनेका कारण पनि आफूहरूले बालबालिकाको क्षेत्रमा काम गर्ने चिकित्सकलाई तालिम प्रदान गरेर तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिनुभयो । अस्पतालले आईसीयू, भेन्टिलेटर, साधारण बेडहरु सबै तयारी अवस्थामै राखेको उहाँको भनाइ छ ।
यस्तै ग्राण्डी अस्पतालले पनि बालबालिकाका लागि कुल शैयााको २० प्रतिशत शैयाहरु छुट्याउने काम भैराखेको जनाएको छ । अस्पताल प्रशासनका अनुसार आफुहरु सरकारले जारी गरेको निर्देशन अनुसार नै तयारी अवस्थामा रहेको जनाएको छ । “हामी तेस्रो लहर आउँदा होस् वा अहिलेको अवस्थामै किन नहोस् कोभिडका जुनसुकै बिरामीका लागि हामी कटिबद्ध रुपमै लागेका छौँ ”प्रशासन स्रोतले भन्यो ।
यसैगरी ओम हस्पतालले पनि सरकारले जारी गरेको निर्देशन बमोजिम नै बालबालिकाका लागि शैयाहरु छुट्याएको जनाएको छ । अस्पताल प्रशासनका अनुसार आफुहरु बालबालिकाको क्षेत्रमा पहिले देखि नै सक्रिय रहदै आएको कारणले पनि सरकारको निर्देशन अगाबै आफूहरु यसबारेमा सचेत रहेको जनाएको छ । “हामी बालकालिकाको क्षेत्रमा विशेष चासोका साथ काम गरीरहेकै छौँ , त्यसकारण पनि बालबालिकाको लागि त तयार नै छ तर पनि पछिल्लो समय सरकारले निर्देशन जारी गरेपछि आईसीयू र भेन्टिलेटरको व्यवस्थापनमा पनि विशेष ध्यान दिएर काम गरेका छौँ” अस्पताल प्रशासनले भन्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?