logo
२०८१ बैशाख ८ शनिवार



‘विपन्न राष्ट्रमा खोप अभाब’

स्वास्थ्य |
अन्तर्राष्ट्रिय |


‘विपन्न राष्ट्रमा खोप अभाब’
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, असार ८ गते । विश्व स्वास्थ्य संगठनले विपन्न राष्ट्रले कोभिड १९ बिरुद्धको खोपको अभाब झेलिरहेको जनाएको छ । संगठनले ‘कोभ्याक्स’ कार्यक्रममार्फत् विपन्न राष्ट्रहरुलाई सहुलियत रुपमा खोप उपलब्ध गराउँदै आएको छ ।
विश्व स्वास्थ्य संगठनका वरिष्ठ सल्लाहकार डा. ब्रुस एलिवार्डले कोभ्याक्स कार्यक्रममार्फत् हालसम्म विश्वका १३१ राष्ट्रमा नौ करोड खोप वितरण गरिएको जानकारी दिनुभयो । तर उहाँले कोभ्याक्समार्फत् वितरण गरिएको खोपको मात्रा विश्वलाई सुरक्षित राख्न कत्ति सम्मपनि पर्याप्त नभएको बताउनुभयो । अफ्रिकी कतिपय राष्ट्रमा कोरोना भाइरसको तेस्रो लहरको सामना गरिरहँदा खोपको अभाब चुलिएको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोभ्याक्समा करिब ९१ राष्ट्र छन् । जसमध्ये पचास प्रतिशत राष्ट्रमा दोस्रो डोज लगाउन खोप उपलब्ध छैन् । डा. एलिवार्डले केही राष्ट्रले खोप अभाबका बीच आफ्नै ब्यवस्थापनमा अन्य राष्ट्रको सहयोगले खोप खरिद गर्न लागेको बताउनुभयो । जसका लागि ती राष्ट्रले वास्तविक मूल्यभन्दा बढी तिर्नुपरेको गुनासो गर्नुभयो ।
दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाले सोमबार धनी राष्ट्रलाई खोप आरक्षित गरी नराख्न आग्रह गर्नुभयो । दक्षिण अफ्रिकामा कोरोना सङ्क्रमित हुने दर पुनः बढेको छ ।
अफ्रिकामा कोभ्याक्समार्फत् हालसम्म चार करोड खोप वितरण गरिएको छ । जुन अफ्रिकी जनसंख्याको करिब दुई प्रतिशत हो । कोभ्याक्सले सन् २०२१ को अन्त्यसम्म कम्तिमा दुई अर्ब ब्यक्तिलाई खोप उपलब्ध गराइसक्ने लक्ष्य राखेको थियो । कोभ्याक्सले विपन्न राष्ट्रलाई खोप उपलब्ध गराएर विश्व जनसंख्याको २० प्रतिशतलाई सुरक्षित राख्ने गरी कार्यक्रम सञ्चालन गरेको थियो ।
यूगाण्डा, जिम्बाबवे, बङ्गलादेश र ट्रिनीडाड एण्ड टोबागो खोपको कमीबाट गुज्रिरहेको छ ।
बीबीसीका अनुसार विश्वभरि प्रति एक सय जनामा ३३.६ जनाले मात्रै खोप लगाउन पाएका छन् । जसमध्ये चीनमा प्रति एक सय जनामा ७०.१, अमेरिकामा ९४.८, भारतमा १९.६, ब्राजिलमा ४०.७, बेलायतमा १११.२ जनाले खोप लगाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?