logo
२०८० चैत्र १६ शुक्रवार



वर्षामा डुबानको पीडा, चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास

प्रदेश |


वर्षामा डुबानको पीडा, चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास


गोपालप्रसाद बराल
महोत्तरी, असार ७ गते । उत्तर फर्कँदा चुरे पहाडी शृङ्खलातिर कालो बादल मडारिएको देखेपछि महोत्तरीको भङ्गाहा–४ को पलारस्थित गरिब बस्तीमा कोही सुत्न सक्दैनन् । बाँतर जातिका अति विपन्न समुदायको बाहुल्य रहेको रातु नदी तटको यो बस्तीमा डाँडातिर बादल देखेपछि राति बाढी आउने डरले कोही सुत्न नसकेका हुन् ।

“हेर्नुस् हजुर, नदी बस्ती छेउमै आइपुगेको छ, शिर (नदी उद्गमस्थल, चुरे पहाड) तिर पानी परेजस्तो छ, अनि कसरी निदाउनु ?”, बस्तीका ६० वर्षीय रामदयाल सर्दारले भन्नुभयो । रातु नदीमा पूर्वपश्चिम राजमार्गमुनि बनेका तीन भँगालामध्ये माझको बहाव हुनेगरी तटबन्ध गरिएको छ । यही बहावको नदी तटमा रहेको पलार बस्ती नजिक तटबन्ध नहुँदा यहाँका बासिन्दालाई सधैँभरि बाढीको डर बनेको हो ।

“मास्तिर (भङ्गाहा–४ माथि बर्दिबास नपाक्षेत्र) र तलतिर भङ्गाहा–१, २ र बलवा नपाक्षेत्र रातुमा दुवै किनारामा तटबन्ध गरिएको छ”, सो बस्तीकी ७० वर्षीया पल्टी बाँतर भन्नुहुन्छ, “हामी गरिब बसेको ठाउँ कसको नजर पर्छ र ।” गरिब र निमुखा भएकैले आफ्नो बस्ती बचाउबारे कुनै नेता र निकायको आँखा नपरेको पल्टीको गुनासो छ ।

करिब ३०।३५ घरको गुजुमुज्ज यो बस्तीमा दुईरतीन घर थारुबाहेक सबै बाँतर जातिका छन् । शिक्षा, स्वास्थ्य तथा सामाजिक सचेतनाले निकै पछि परेको यो बस्तीमा अहिलेसम्म प्रवेशिका (पहिलेको एसएलसी, अहिले माध्यमिक तह) उत्तीर्ण गरेका कोही छैनन् । शैक्षिक सत्रको प्रारम्भमा विद्यालय भर्ना कार्यक्रममा यहाँका केही बालबालिकाको नाउँ लेखिए पनि घरको गरिबीले ती विद्यालयमा टिक्दैनन् ।

आफ्नो यस्तै अवस्थाले उपेक्षित हुनुपरेको भन्नेचाहिँ अब यो बस्तीका अभिभावकलाई पर्ने गरेको छ । “हाम्रो बस्तीमा पढेलेखेका भनसुन गर्नसक्ने कोही भएनन्”, बस्तीका ४५ वर्षीय महेश सर्दार भन्नुहुन्छ, “त्यसैले हाम्रो कतै सुनवाइ हुँदैन, अबचाहिँ दुःख खेपेर भए पनि नानीहरुको पढाइ नरोक्ने प्रण गरेका छौँ ।” आफ्ना नातिनातिना अब नियमित विद्यालय गइरहेका महेश बताउनुहुन्छ ।

बर्खा लाग्यो कि बाढीको त्रासले छुने यो बस्तीमा पछिल्लो कालमा केही वर्षयता नदीमा जथाभावी उत्खनन बढेपछि जोखिम बढ्दै गएको हो । पलार उत्तर बर्दिबास छुने सीमासम्म १५ भन्दा बढी क्रसर सञ्चालनमा छन् । अनियन्त्रित उत्खननले गर्दा नदीले बहाव फेर्दै बस्तीसम्म पुगेपछि यहाँ पहाडतिर पानी पर्नासाथ बाढीको डर बढेको भङ्गाहा–४ कै रामनगर बस्तीका सामाजिक, राजनीतिक कार्यकर्ता हरिदेव साह बताउनुहुन्छ ।

रातुको बाढीको जोखिम पलारसँगै भङ्गाहा–४ कै थारुटोल बनरा, टोका, भङ्गाहा–६ को जमुनियाँ, हतिसर्वा, पुर्वारीसग्रामपुर, भङ्गाहा–२ को बखरीमा पनि उच्च छ । पलारदेखि दक्षिण यसअघि नदी किनारमा निर्मित तटबन्ध २०७६ सालको बर्खे भेलले भत्काएपछि बखरी, सग्रामपुर, हतिसर्वा, भङ्गाहा–२ को सिङ्ग्याही, भङ्गाहा–१ को कविलाशा र बलवा नगरपालिकाका भगवतीपुर, लेउरी, भलनीसहितका बस्ती पनि बाढीको जोखिममा  छन् । बाँधिएको तटबन्ध छेउबाटै बालुवा र ढुङ्गा उत्खनन गरिँदा बनेको खाल्डोले सानै बाढीमा पनि तटबन्ध खुकुलिएर भत्केको नेपाली कांग्रेस भङ्गाहा नगर समितिका सभापति रुपनारायण सिंह थारु बताउनुहुन्छ ।

“लाग्छ, नियमन गर्ने कुनै निकाय नै छैनन्, जथाभावी उत्खननले विपत्ति जोखिम बढाउँदो छ, नियन्त्रणको चासो सम्बद्ध निकायमा देखिँदैन”, सिंहले भन्नुभयो । नगर कार्यपालिका र वडा कार्यालयको सम्मति र स्वीकृतिबेगर क्रसर सञ्चालन गर्न नपाइने कानुनी प्रावधान भए पनि स्थानीय जनप्रतिनिधिमा यो चासोले प्राथमिकता नपाएको भङ्गाहाका सिंहसहितका राजनीतिक दलका अगुवा बताउँछन् ।

अहिले बस्ती÷बस्ती सखाप पार्नेगरी बढेको बाढीको जोखिमको निदान शिरदेखि नै बुझ्नु पर्ने भङ्गाहा–७ का बासिन्दा डा विजयकुमार सिंह बताउनुहुन्छ । चुरे विषयमै विद्यावारिधि गर्नुभएका सिंहले चुरे शृङ्खलामा बढेको अव्यवस्थित बसोबास, विकासका नाउँमा सडक विस्तार गर्न वैज्ञानिक अध्ययन बिनानै पहाड भत्काउने बढ्दो लहर, चुरे र नदीमा हुने निरन्तरको अनियन्त्रित उत्खनन, खोल्सी व्यवस्थापनमा देखिने उदासीनता र वन विनाश नै बाढी र पहिरोका मुख्य कारण बनेको बताउनुभयो ।

“अहिले त केही बस्ती जोखिममा रहेका, केही घर बाढीले लगेका र केही जग्गा कटान भएका समस्या सुन्दैछौँ”, डा सिंहले भन्नुभयो, “चुरे पहाडी शृङ्खला, नदी र वनमा हुने लुछाचुँडी तत्काल नरोकिने हो भने सिङ्गो भावर कटान र मधेश डुबानमा पर्नेछ, यहाँका उब्जाउ जग्गा बालुबुर्ज मरुभूमिमा परिणत हुनेछन् ।” धेरैजसो केन्द्र र प्रदेश नीतिमा यी कुरामा भर गरे पनि सम्बन्धित स्थानीय तहको सङ्कल्प र प्रतिबद्धता भए धेरै कुरा ‘लिक’ मा आउने डा. सिंहको विश्वास छ । यद्यपि यस भेगका धेरैजसो स्थानीय तहको नेतृत्व क्रसर सञ्चालककै वरिपरि देखिनाले तत्काल सकारात्मक कदमका लागि अब जनदवाब नै आवश्यक देखिएको डा. सिंह बताउनुहुन्छ ।

यसैबीच चुरे शिखरसम्म भूगोल समेटिएको जिल्लाको एकमात्र बर्दिबास नगरपालिकाले अवैज्ञानिक र अनियन्त्रित उत्खनन हुने क्रम रोक्ने जनाएको छ । “विधि, प्रक्रिया र मापदण्ड नाघेर हुने÷भएका उत्खनन रोक्न हामीले निर्णय नै गरेर कारवाही अघि बढाएका छौँ”, नगरप्रमुख विदुरकुमार कार्कीले भन्नुभयो, “स्थानीय प्रहरी÷प्रशासनको साथ पाए जथाभावी उत्खनन रोक्न सकिने हाम्रो विश्वास छ ।”

नगरपालिकाले यस्तो प्रतिबद्धता जनाए पनि रातु नदी र नदीउकास क्षेत्रमा उत्खनन नरोकिएको यस भेगका बासिन्दा बताउँछन् । “खै यी खोला खन्ने ठेकेदार र क्रसर सञ्चालकको तारतम्य कताकता जोडिएको छ, बुझ्नै गा¥हो १”, बर्दिबास–१४ का बासिन्दा हरि दाहाल भन्नुहुन्छ, “नगरप्रमुखले अनियन्त्रित उत्खनन रोक्ने प्रतिबद्धता जनाउनु भए पनि डोजर, एस्काभेटर चल्न छाडेका छैनन् ।” कागजले चेतावनी दिएर मात्र नभई अनियन्त्रित उत्खनन गर्नेलाई कारवाही प्रक्रियामै लगिए मात्र यो क्रम नियन्त्रण हुनसक्ने दाहालसहितका यस भेगका सर्वसाधारण बताउँछन् । जिल्लाका १५ स्थानीय तहमध्ये बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा क्रसर सञ्चालन हुँदै आएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?