logo
२०८० चैत्र १६ शुक्रवार



खोप लगाएका मानिसकाे शरीरमा धातु वा माइक्रोचिप टाँसिन्छ भन्नेमा कुनै सत्यता छैन : विज्ञ

स्वास्थ्य |
खुला |


खोप लगाएका मानिसकाे शरीरमा धातु वा माइक्रोचिप  टाँसिन्छ भन्नेमा कुनै सत्यता छैन : विज्ञ


गाेरखापत्र अनलाइन

काठमाडौं, जेठ ३१ गते । पछिल्लो समय कोरोना भाइरस विरुद्धको खोप लगाएका नागरिकको शरीरमा धातु वा माइक्रोचिप वस्तु टाँसिन्छ भन्ने हल्ला फैलिएको छ । कोभिड–१९ खोप लगाएको नागरिकको शरीरमा सिक्का पैसा र चम्मा टाँसिन्छ भन्ने भिडियो सामाजिक सञ्जाल फेसबुक र टिकटकमा देखिने गरेको छ । के साँचिकै कोरोना खोप लगाएका नागरिकको शरीरमा धातु वा माइक्रोचिप टाँसिन्छ ? के कोभिड–१९ को खोप लगाएपछि शरीर चुम्बकीय बन्छ ? शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका निर्देशक डा. सागरराज भण्डारीले यो सबै अफवाह भएको बताउनुभएको छ ।

गोरखापत्र अनलाइनसँगको कुराकानीमा उहाँले कोभिड–१९ विरुद्ध खोप लगाएका नागरिकको शरीरमा चुम्बकीय गुण नहुने बताउनुभयाे 
‘मानिसको शरीरमा कुनै चुम्बकीय धातु हुँदैन । शरीरमा पसिना आए पनि केही समयका लागि धातु वा माइक्रोचिप वस्तु स्वतः टाँसिन्छ । यो सबै अफवाह हो । यसमा कुनै सत्यता छैन,’ उहाँले भन्नुभयो ।

यता, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि यस्ता अफवाहमा विश्वास नगर्न सबै नागरिकमा आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै कोभिड–१९ विरुद्ध खोपहरुमा कुनै प्रकारको धातु वा माइक्रोचिपहरु नहुने जनाएको छ ।

‘कोभिड–१९ को खोपहरुमा कुनै प्रकारको धातु वा माइक्रोचिपहरु हुँदैनन् । त्यसैले यस्ता अफवाहको विश्वास नगरौं । कोभिड–१९ को खोप सुरक्षित र प्रभावकारी छ र यसले हाम्रो स्वास्थ्यमा कुनै प्रतिकुल असर गर्दैन,’ स्वास्थ्य मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?