logo
२०८० चैत्र १६ शुक्रवार



देशभर ३९६ अस्पताल निर्माण तत्कालै हुन्छ : मन्त्री तामाङ

स्वास्थ्य |


देशभर ३९६ अस्पताल निर्माण तत्कालै हुन्छ : मन्त्री तामाङ


गाेरखापत्र अनलाइन 
काठमाडौं, जेठ २४ गते । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा आम नागरिकलाई नि:शुल्क स्वास्थ्य उपचार दिने लक्षका साथ सरकारले ३९६ वटा अस्पताल तत्काललै निर्माण शुरु गर्ने जनाएको छ । पत्रकार सम्मेलनमा बोल्नुहुँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले असार भित्र सबै अस्पतालको टेन्डर प्रकृया अघि बढाएर आउने वर्षभित्र अस्पताल निर्माण प्रकृया शुरु गर्ने बताउनुभयो ।

नागरिकलाई बचाउने कुरा सबैभन्दा ठूलो भएकाले अकालमै कोही नेपालीको ज्यान जान नदिने गरी सबै नेपालीको जीवन रक्षा पहिलो प्राथमिकतामा राखेर काम अघि बडाएको समेत मन्त्री तामाङले बताउनुभयो । बीर अस्पताललाई कोभिड नियन्त्रणको केन्द्रीय अस्पतालको रुपमा विस्तार गरी सकेको र ७ वटै प्रदेशमा कोभिड नियन्त्रण अस्पताल विस्तार गर्ने तयारीमा मन्त्रालय अघि बढेको जानकारी दिनुभयो । कोरोना भाइरस परीक्षणको दायरा बढाएको र आवस्यक सामाग्री पुग्ने गरी भएकाले क्षमताले भ्याएसम्म संक्रमण रोक्ने प्रतिवद्धताका मन्त्रीले गर्नुभयो ।

सरकार कोभिड खोप ल्याउनेमै सबै प्रयास जारी राखेको जानकारी दिनुहुँदै स्वास्थ्यमन्त्री तामाङले स्वास्थ्य सुरक्षाको सरकारी मापदण्डको पालना गरिदिन सबैमा आग्रह गर्नुभयो । “नेपाल खोप उत्पादक राष्ट्र होइन, तर पनि हामीले खोप प्राप्तका लागि सबै प्रयास जारी राखेका छौं” उहाँले भन्नुभयो । खोप प्राप्ती र कार्यान्वयन गर्नेमै सरकार लागिपरेको उहाँले बताउनुभयो ।

पहिलो कुरा त रोग लाग्नै नदिनु हो, यदि लागिहालेमा त्यसका उपचारका लागि सरकारले आवश्यक प्रवन्ध मिलाएको उहाँले बताउनुभयो । वीर अस्पताललाई कोभिड नियन्त्रणको केन्द्रीय अस्पतालकोे रुपमा विकास भइरहेको र अन्य सबै प्रदेशमा त्यस्तो अस्पतालको व्यवस्थापन हुने उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्यको हिसाबले देशको सबै क्षेत्रमा सुधार गर्न सरकार लागिपरेको जानकारी दिनुहुँदै स्वास्थ्यमन्त्री तामाङले तेस्रो लहरको कोभिडको सामना गर्न पनि सरकारले तयारी गरिरहेको बताउनुभयो । आम नागरिकको स्वास्थ्यमा सहज पहुँच बढाउनेगरी काम भइरहेको उहाँले बताउनुभयो । स्वास्थ्य विमालाई नागरिकको सहज पहुँचमा पुर्याउन पनि काम गरिने उहाँले बताउनुभयो ।

आगामी दिनमा सम्भव भएसम्म जनताको स्वास्थ्य उपचार निःशुल्क गर्नेबारेमा आवश्यक अध्ययन गरिने मन्त्री तामाङले बताउनुभयो । नागरिकलाई बचाउनु नै प्रमुख काम रहेकाले सरकारले अभिभावकको रुपमा त्यो काम गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । मन्त्रालयबाट हुने हरेक काम पारदर्शीरुपमा गरिने पनि उहाँले प्रतिवद्धता जनाउनुभयो ।

“हामीले निष्ठापूर्वक गरिरहेको काममा कतै त्रुटी हुन लाग्यो भने हामीलाई खवरदारी गर्नुहोला, त्यसाकलागि म सचेत नागरिक र मिडियाकर्मीमा आग्रह गर्दछुँ” स्वास्थ्यमन्त्री तामाङले भन्नुभयो, ”म निष्ठापूर्वक काम गर्नेछुँ, आजको काम भोली गरुँला भन्ने छैन । आजको दिन नै अन्तिम दिन हो सोचेर काम गर्नेछुँ ।”

मन्त्री तामाङले पत्रकार सम्मेलन मार्फत आफ्नो सम्पत्ति विवरण पनि सार्वजनिक गर्नुभएको छ । सार्वजनिक पद धारण गर्ने सबैले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । त्यसबारेमा कानुन बनाएरै अघि बढ्न आवश्यक रहेको उहाँले जानकारी दिनुभयो ।
चुनौति र अवसर सँगसँगै आउने चिज भएको बताउनुहुँदै स्वास्थ्यमन्त्री तामाङले चुनौतीलाई अवसरक रुपमा ग्रहण गरेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । स्वास्थ्य प्रणालीमा सुधार गर्न आवश्यक रहेको चर्चा गर्नुहुँदै मन्त्री तामाङले कोरोनाबीच पनि केही अस्पतालको अनुगमन गर्दा केही समस्या देखिएको बताउनुभयो । अस्पतालको सरसफाई र गुणस्तरीय उपचारलाई प्राथमिकतामा राख्न उहाँले सम्बद्ध सबैलाई आग्रह गर्नुभयो । स्वास्थ्यक्षेत्र सेवामूलक क्षेत्र भएकाले व्यापारकोरुपमा नहेर्न पनि उहाँले अस्पताल सञ्चालकहरुलाई आग्रह गर्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?