logo
२०८१ बैशाख ४ मंगलवार



कोरोनाबाट मृत्यु भएकाको शव जिल्लामै व्यवस्थापन गरिने

प्रदेश |


कोरोनाबाट मृत्यु भएकाको शव जिल्लामै व्यवस्थापन गरिने
फाइल तस्बिर


काभ्रेपलाञ्चोक, जेठ ५ गते । कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव जिल्लामै व्यवस्थापन गरिने भएको छ । काभ्रेपलाञ्चोकस्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)ले केही दिनभित्रै जिल्लामा शव व्यवस्थापन गरिने निर्णयसमेत गरेको छ ।

हाल स्थानीय तहबाट पहिचान भइआएको छ स्थानमा शव व्यवस्थापन गर्न सकिने जनाइएको छ । “छ स्थानमा शव व्यवस्थापन गर्न सकिने भन्दै स्थानीय तहले स्थान पहिचान गरी पठाएका छन्, सोहीअनुसार हाल कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्न सकिन्छ”, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भन्नुभयो । उहाँका अनुसार केन्द्रद्वारा स्थानीय तहलाई कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन स्थल पहिचान गरी पठाउन आग्रह गरेअनुसार सदरमुकामभन्दा टाढाका स्थानीय तहले मात्रै स्थान पहिचान गरी पठाएका छन् ।

स्थानीय तहले पहिचान गरी पठाएअनुसार पाँचखाल नगरका लागि सीमाक्षेत्र भुम्लु गाउँपालिकाबीचमा अवस्थित दोलालघाट बगर क्षेत्र, मण्डनदेउपुर नगरका लागि स्थानीय मशानेघाट क्षेत्र, लट्ठघारी वन क्षेत्र र बाँसखर्कलगायत वन क्षेत्र, चौँरी देउराली गाउँपालिकामा चिहानडाँडा, गोठपानीलगायत आठ स्थान, भुम्लु गाउँपालिकाका लागि सुनकोशी र इन्द्रावती नदीको दोभान, खानीखोला गाउँपालिकाका लागि वाग्मती घाट, रोशी गाउँपालिकाका लागि भ्याकुरे खोला र रोशी खोलीस्थित त्रिवेणीघाट पहिचान गरिएको केन्द्रले जनायो । पहिचान भएका स्थानमध्ये सदरमुकाम नजिकका स्थानमा केही तीन दिनपछि शव व्यवस्थापन थालिने प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।

काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् । सदरमुकाम अवस्थित धुलिखेल नगर, नजिकका पनौती र बनेपाले शव व्यवस्थापनबारे चासो दिएका छैनन् । केन्द्रले सुरक्षाका हिसाबले सदरमुकाम नजिक सुरक्षित स्थानमा शव व्यवस्थापन गर्न चाहेको तर स्थानीय जनप्रतिनिधि यसबारे गम्भीर नभएको जनाइएको छ । “सदरमुकाम नजिक स्थानीय तहका प्रमुखले सोच्छौँ भन्नुभयो”, पोखरेलले भन्नुभयो । उहाँका अनुसार कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनका लागि धुलिखेलस्थित कालीजङ्ग गणका नेपाली सेनाद्वारा काठमाडौँको पशुपतिस्थित शवदाह गृह लैजाने गरिएको छ ।

केन्द्रले दुई हप्ताअघि कोभिड–१९ को दोस्रो लहरबाट काभ्रेपलाञ्चोकमा दैनिक मृत्यु हुन थालेपछि शव व्यवस्थापनका लागि जिल्लास्थित वाग्मती प्रदेशस्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरमा शववाहन मागेको थियो । कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन हालसम्म नेपाली सेनाले आफ्नै व्यवस्थापनमा गर्नेगरेको र काभ्रेपलाञ्चोकमा निजीस्तर, सरकारी र स्थानीय तहमा शववाहन नभएको हुँदा प्रदेशस्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरसँग शववाहन माग्ने निर्णय गरेको थियो । “दैनिक दुईभन्दा माथिको सङ्ख्यामा मृत्यु हुन थालेपछि जिल्लामा शववाहन नहुँदा प्रदेशमा मागेका हौँ, अब आउने भएको छ”, केन्द्रका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले भन्नुभयो । उहाँका अनुसार केन्द्र मातहत रहनेगरी हाललाई एक थान शववाहन मागिएको हो ।

पछिल्ला केही दिनदेखि काभ्रेपलाञ्चोक तथा अन्य जिल्लाको समेत गरी सरदर दैनिक चार नागरिकको मृत्यु हने गरेको केन्द्रको तथ्याङ्कले देखाएको छ । दैनिक डेढ सयभन्दा बढीको सङ्ख्यामा सङ्क्रमित थपिन थालेका छन् । जिल्लामा पछिल्लो २४ घण्टामा १३७, अघिल्लो दिन १७८, तथा आइतबार १९८ मा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । दैनिक ५० को हाराहारीमा कोरोना सङ्क्रमणमुक्त हुने गरेका छन् ।

कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता जिल्लामा हाल एक हजार ९३८ सक्रिय सङ्क्रमित रहेका छन् । जिल्लामा सबैभन्दा बढी बनेपा नगरमा ३४ दशमलव ४६ प्रतिशत अर्थात् ६६८ सङ्क्रमित छन् । सङ्क्रमितमध्ये धुलिखेलमा ४४३, पनौतीमा ३७७, पाँचखालमा १०६, नमोबुद्धमा ७४, मण्डनदेउपुरमा १०९ तथा रोशी गाउँपालिकामा २५, चौँरीदेउरालीमा २५, तेमालमा ३१, भुम्लुमा २९, खानीखोलामा २३, बेथानचोकमा १२ र महाभारत गाउँपालिकामा १६ सक्रिय सङ्क्रमित रहेको केन्द्रले जनायो ।

कुल सङ्क्रमितमध्ये ९४ प्रतिशत अर्थात् एक हजार ८३२ सङ्क्रमित होम आइसोलेशनमा उपचाररत छन् । हालसम्म जिल्लाका ८८ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?