logo
२०८१ बैशाख ७ शुक्रवार



केही कम हुँदै सङ्क्रमण

स्वास्थ्य |
मुख्य समाचार |


केही कम हुँदै सङ्क्रमण


सरोज ढुङ्गेल

काठमाडौँ, जेठ १ गते । नेपालमा नयाँ कोरोना सङ्क्रमितको सङ्ख्या केही कम हुन थालेको छ । एकै दिन नौ हजारभन्दा बढी सङ्क्रमित फेला पर्ने गरेकोमा शुक्रबार देशभर आठ हजार ५२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशका अधिकांश भागमा लगाइएको निषेधाज्ञा र स्वास्थ्य मापदण्डमा गरिएको कडाइले कोरोना सङ्क्रमण थप वृद्धि नहुने देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २० हजार ९४८ जनाको पीसीआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण भएको थियो । पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ हजार ४६७ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५३ जना सङ्क्रमित थपिएका हुन् । यस्तै वितेको २४ घण्टामा थप २०३ जना सङ्क्रमितको मृत्यु भएको छ । अघिल्लो दिन २१४ जना सङ्क्रमितको मृत्यु भएको थियो । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुने सङ्ख्या चार हजार ६६९ पुगेको छ ।
अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख सात हजार ३३६ पुगेको छ । मन्त्रालयका अनुसार शुक्रबार देशभरबाट छ हजार १३५ जना सङ्क्रमित निको भएका छन् । योसहित हालसम्म कोरोना निको हुनेको सङ्ख्या तीन लाख २७ हजार ६५३ पुगेको छ । निको हुने दर कूल सङ्क्रमितको ७४ दशमलब ५ प्रतिशत हो ।
काठमाडौँ उपत्यकामा थप तीन हजार ३४९ जना कोरोना सङ्क्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा दुई हजार ४५८, भक्तपुरमा ३३५ र ललितपुरमा ५५६ जना गरी थप तीन हजार ३४९ जना थपिएका हुन् । हाल एक हजार ३३४ जना आईसीयू र ३७१ जना सङ्क्रमित भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।
मन्त्रालयका अनुसार प्रदेश १ मा १९० आईसीयू र ५५ भेन्टिलेटरमा, प्रदेश २ मा १८९ आईसीयू र ४० जना भेन्टिलेटर, बागमती प्रदेशमा ५४२ आईसीयू र २२० जना भेन्टिलेटरमा छन् । यस्तै गण्डकी प्रदेशमा ९२ जना आईसीयू र १९ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १६४ जना आईसीयू र १६ जना भेन्टिलेटरमा, कर्णालीमा १०८ जना आईसीयू र ६ जना भेन्टिलेटरमा तथा सुदूरपश्चिम प्रदेशमा ४९ जना आईसीयू र १५ जना भेन्टिलेटरमा छन् ।
कोरोनाको उपचार हुने काठमाडौँ उपत्यकाका अस्पतालमा २९० जना सङ्क्रमित आईसीयू र भेन्टिलेटरमा रहेको छन् । यस्तै एक हजार ८२५ जना सङ्क्रमित आइसोलेसनमा उपचाररत छन् ।

सिफारिस जरुरी
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सकको सिफारिसबिना घर वा संस्थामा अक्सिजन सिलिन्डर नराख्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार सचिवस्तरको बैठकले उक्त निर्णय गरेको हो । मन्त्रालयले घर वा संस्थामा भएका सिलिन्डर नजिकको अस्पताल वा स्थानीय प्रशासनमा उपलब्ध गराउन पनि आग्रह गरेको छ । कोरोना महामारी बढ्दै जाँदा धेरै व्यक्तिहरूले आफूखुसी अक्सिजन सिलिन्डर घरमा मौज्दात राख्ने हुँदा मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

फारम भर्न आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड विरुद्धको खोप लगाउन चाहने १८ वर्षमाथिका व्यक्तिहरू आफैले प्रि रजिस्ट्रेसन फाराम भर्न आग्रह गरेको छ ।
मन्त्रालयले खोप लगाउन चाहने व्यक्तिका लागि एप तयार पारेको जानकारी गराएको छ । मन्त्रालयले आवेदन फारामबाट प्राप्त भएका विवरण पालिका स्तरमा खोपसँग सम्बन्धित योजना तथा व्यवस्थापन गर्न पनि सहज हुने जनाएको छ । भ्याक्सिन डट एमओएचपी डट एनपीमा गई विवरण भर्न सकिन्छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले उक्त विवरण भरेका आधारमा खोप आएपछि लगाउन सकिने जानकारी दिनुभयो । उहाँले जुन व्यक्तिले पहिले भरेको छ, त्यही आधारमा खोप लगाउन पाइने स्पष्ट पार्नुभयो । जुन व्यक्तिले सुरुमा फाराम भर्छ त्यही आधारमा पहिले खोप लगाइने उहाँको भनाइ छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?