logo
२०८० चैत्र १५ बिहीवार



सङ्क्रमणको फैलावट उच्च

मुख्य समाचार |


सङ्क्रमणको फैलावट उच्च


सरोज ढुङ्गेल

काठमाडौँ, वैशाख १६ गते । केही साताअघि एक सय हाराहारीमा रहेको कोरोना सङ्क्रमण बुधबार एकै दिन पाँच हजार नजिक पुगेको छ । सम्बद्ध अधिकारीले कोरोनाको फैलावट दर अप्रत्यासित र उच्च रहेको भन्दै थप सचेत हुन आह्वान गरेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार बुधबार पुष्टि भएको सङ्ख्या अप्रत्यासित हो । बुधबार देशभर थप चार हजार ८९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १३ हजार ८७९ जनाको पीसीआर विधिबाट नमुना परीक्षण गर्दा चार हजार ७७४ जना र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा १२३ जना गरी थप चार हजार ८९७ जनामा कोरोना पुष्टि भएको हो ।
यसअघि एक दिनमा पाँच हजार जना सङ्क्रमित भएका थिए । पहिलो लहरको कोरोना सङ्क्रमणमा विस्तारै बढेर पाँच हजारको सङ्ख्या छोएको थियो । अहिलेको सङ्ख्या केही दिनमै ह्वात्तै बढेको छ । अहिलेको सङ्ख्या वृद्धिले डराउनुपर्ने अवस्था आइसकेको बताउँदै सहप्रवक्ता डा. अधिकारीले भन्नुभयो, “कतै आईसीयू, भेन्टिलेटर र आइसोलेसन खाली छैनन् । यही अनुपातमा सङ्क्रमितको सङ्ख्या बढ्दै जाने हो भने अवस्था थप जटिल हुने निश्चित छ ।”
कोरोना सङ्क्रमणले उपत्यकालाई चापमा पारेको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा एक हजार ४६४, ललितपुरमा ३५१ र भक्तपुरमा २३२ जना गरी दुई हजार ४७ जना एकै दिन थपिएका छन् । थप सङ्क्रमितसँंगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार २०९ पुगेको छ । अघिल्लो दिन सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार मात्र थियो । यस्तै क्वारेन्टाइनमा ५४ जना रहेका छन् । त्यसैगरी हालसम्म १२ वटा जिल्लामा पाँच सयभन्दा बढी सङ्क्रमित र १० वटा जिल्लामा दुई सयभन्दा बढी सङ्क्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

आईसीयूमा ३१७ जना
देशभरका अस्पतालका आईसीयूमा ३१७ र भेन्टिलेटरमा ९८ जना सङ्क्रमित उपचाररत छन् । मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले गत २४ घण्टामा देशभर थप १७ जना कोरोना सङ्क्रमितको मृत्यु भएको जानकारी गराउनुभयो । मङ्गलबार १८ जना सङ्क्रमितको मृत्यु भएको थियो । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार २११ पुगेको छ ।

खोप स्थगित
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरिरहेको कोरोनाविरुद्धको खोप अभियान बिहीबारबाट स्थगित गरिएको छ । मन्त्रालयले कोरोना सङ्क्रमण दर अत्यधिक बढेको भन्दै सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर खोप अभियान स्थगित गरेको हो ।
चीनमा उत्पादन भएको भेरोसेल खोपको पहिलो मात्रा लगाउने अभियान मन्त्रालयले सञ्चालन गरिरहेको थियो । खोप शाखा प्रमुख डा. झलक गौतमले पहिलो र दोस्रो चरणको खोप अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको बताउनुभयो । कोरोना सङ्क्रमण फैलिन नदिने अर्को सूचना जारी नभएसम्मका लागि खोप सेवा स्थगित गरेको उहाँको भनाइ छ । खोप सचिवालयले खोप अभियान स्थगित गर्ने निर्णय गरेको हो । सचिवालयका अनुसार कोभिसिल्डको दोस्रो मात्रा मङ्गलबारसम्म तीन लाख ६५ हजारले लगाइसकेका छन् । यस्तै भेरोसेलको पहिलो मात्रा दुई लाख ४७ हजारले लगाइसकेका छन् ।
परीक्षणको नयाँ व्यवस्था स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेश जानेहरूका लागि कोरोना परीक्षण गर्न ‘क’ वर्गका प्रयोगशालालाई मान्यता दिने बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?