logo
२०८० चैत्र १६ शुक्रवार



सीसीएमसीकाे बैठक सम्पन्न, कोरोना रोकथामबारे छलफल

मुख्य समाचार |


सीसीएमसीकाे बैठक सम्पन्न, कोरोना रोकथामबारे छलफल
फाईल तस्विर


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख ४ गते । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक सम्पन्न भएको छ ।  सिंहदरवारमा बसेको आजको वैठकमा संक्रमणको बढ्दो त्रास र त्यसको रोकथामबारे आगामी दिनमा अपनाउनु पर्ने रणनीतिबारे छलफल भएको छ ।
छलफलमा त्यस्तो ठोस निर्णय नभएको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । बैठकमा स्वास्थ्य मन्त्रालयको प्रस्तावबारे पनि छलफल भएको छ । 

यसैबीच कोभिड–१९ को नयाँ प्रजातिको सङ्क्रमण अलि भिन्न र छिटो फैलन सक्ने भएकाले रोकथामलाई कसरी व्यवस्थित र चुस्त तुल्याउने भन्ने सन्दर्भमा मन्त्रालयको प्रस्तावमाथि विभिन्न कोणबाट छलफल गरी राय, सुझाव दिएको सचिव खगराज बरालले जानकारी दिनुभयो ।    
    
उहाँले भन्नुभयो, “अहिलेको अवस्थामा स्वास्थ्य मापदण्ड पालनालाई बढी प्रभावकारी तुल्याउन आवश्यक छ, रोकथाम र नियन्त्रणका लागि जनचेतना जागरणका कार्यक्रमलाई थप प्रभावकारी तुल्याउनुपर्छ भन्नेमा सबैको जोड छ ।” बैठकमा कोरोना रोकथामका लागि टोल, समुदाय, स्थानीय तह र प्रदेशलाई आ–आफ्ना कार्यक्षेत्रभित्र जनचेतना जागरणका कार्यक्रम सञ्चालन गर्न सुझाव दिन उचित हुने रायसमेत प्रस्तुत गरिएको थियो ।    
    
विद्यालयको पठनपाठन कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा विगतको जस्तो समग्र एकैखाले नभई कोरोनाको सङ्क्रमण जोखिम बढी देखिएका स्थानमा तत्कालका लागि शिक्षा मन्त्रालयबाट जारी भएको अनलाइनलगायतका वैकल्पिक सिकाइका ढाँचा र विधिमार्फत पठनपाठनको व्यवस्था गर्न उचित हुनसक्छ भन्ने पाटोबाट गम्भीर छलफल भएको सचिव बरालले जानकारी दिनुभयो ।    
    
उहाँले भन्नुभयो, “तर यो विषयमा निर्णय हुन भने बाँकी नै छ, मन्त्रिपरिषद्बाट निर्णय भई आदेश जारी भइसकेपछि मात्र विद्यालय सञ्चालन र सिकाइका वैकल्पिक ढाँचा लागू हुनेछ ।” कोरोना नियन्त्रण, रोकथाम, उपचार र यससँग सम्बन्धित कार्यका लागि निर्णय गर्ने अधिकार स्थानीय तह र स्थानीय प्रशासनसमेतलाई दिनुपर्छ भन्नेमा बैठक मतैक्यता रहेको तथा प्रवेश विन्दुमा नै सङ्क्रमण रोकथामका कदमलाई प्रभावकारी तुल्याउनुपर्छ भन्ने तर्क पनि गरिएको थियो ।    
    
उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा सरोकारवाला मन्त्रालयका मन्त्री र सचिव तथा विज्ञहरुको समेत सहभागिता थियो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?