logo
२०८१ बैशाख ७ शुक्रवार



नेपालमा आत्महत्या गर्नेको तथ्याङ्क डरलाग्दो, मानसिक रोग मुख्य कारण

स्वास्थ्य |
समाज |


नेपालमा आत्महत्या गर्नेको तथ्याङ्क डरलाग्दो, मानसिक रोग मुख्य कारण


दीपा चौधरी
काठमाडौँ, चैत १६ गते । नेपालमा आत्महत्याको चित्र डरलाग्दो छ । हरेक वर्ष पाँच हजार बढीले आत्महत्या गरेको तथ्याङ्कले देखाउँछ । गत आ.व. २०७६÷७७ मा मात्रै ६ हजार २४१ जनाले विभिन्न कारणले आत्महत्या गरेको तथ्याङ्क छ ।
त्यसैगरी आर्थिक वर्ष २०७२÷७३ मा ४ हजार ६८० जनाले आत्महत्या गरेका थिए । २०७३÷७४ मा ५ हजार १२४ जना, २०७४÷७५ मा ५ हजार ३९७ जना, र २०७५÷७६ मा ५ हजार ७५४ जनाले आत्महत्या गरेको देखिएको छ ।
आत्महत्याको प्रयास वा आत्महत्या गर्ने मध्ये ९५ प्रतिशत मानिसमा कुनै न कुनै किसिमको मानसिक समास्या रहेको अध्ययनले देखाएको छ । धेरै जसो व्यक्तिहरूमा आत्महत्याको कारण उदासीनता वा डिप्रेसन देखिएको छ ।
पाँच प्रतिशत मानिस एक्कासि तनावले आत्महत्याको प्रयास गर्ने गरेको अध्ययनले देखाएको छ । हरेक वर्ष विश्वमा आठ लाखभन्दा बढी मानिसहरु आत्माहत्या गर्नेगरेका छन् । आत्माहत्याको प्रयास गर्नेको संख्या अझ धेरै रहेको छ ।
त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल ‘टिचिङ’ का मनोचिकित्सक डा. पुजन शर्माकाअनुसार आत्महत्या गर्नुको खास निश्चित कारण हुँदैन । बंशानुगतरुपमा यदि कुनै परिवारमा अभिभावकले आत्महत्या गरेको छ भने बच्चाले पनि गर्नसक्ने खतरा रहन्छ । धेरै उदासिनताको रोगले ग्रसित मानिस पनि आत्महत्या गर्ने सम्भावना हुन्छ । मनोचिकित्सक डा. शर्माले लामो समय दीर्घरोग भएका विरामीहरु, चोट लागेर समास्या भएका व्यक्ति, काममा आएको रोकवट र पढाइको चापजस्ता कारणले पनि आत्महत्या गर्नेगरेको बताउनुभयो ।
“कतिपय मानिसहरु मानसिक समस्याबाट ग्रसित हुन्छन् । आत्महत्याको प्रमुख कारण मानसिक समास्या नै हो” डा. शर्माले भन्नुभयो, “रोकथामको लागि जनचेतना जगाउने, जनचेतनामूलक कार्यक्रम गर्ने, लक्ष्ण चिन्ने, मनोपरामर्शदाता, मनोचिकित्सक वा मनोविद्को सल्लाहले रोकथाम गर्न सकिन्छ ।”
आत्महत्याको बाटो रोज्नेहरुले प्रायः मर्न नचाहेको, कोही आएर उनीहरुलाई रोकी दिए हुन्थ्यो भन्ने महसुस गर्नेगरेको अध्ययनले देखाएको पनि डा. शर्माले जानकारी दिनुभयो । कतिपय मानिसहरु समयमा उनीहरुसँग कुरा गर्नुपर्छ भन्ने जान्दाजान्दै कुरा नगरिदिनाले उनीहरुको मनमा आत्महत्या गर्ने प्रोत्साहन झन् बढ्नेगरेको डा.शर्माले बताउनुभयो ।

त्यस्तै, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल ‘टिचिङ’ कै मनोचिकित्सक डा. सगुन बल्लभ पन्तकाअनुसार आत्महत्याको बहुआयमिक पक्षहरुमा बंशानुगत, मनासिक, र केही मनोबैज्ञानिक पक्षहरु रहेको हुन्छ । ७० प्रतिशत मानिसहरु मानसिक समास्याकै कारण मर्ने गर्छन् भने ९० प्रतिशत मानिसहरुको निधन डिप्रेसनको सहि निदान र उपचार नगर्दा हुन्छ ।
मनोचिकित्सक डा. पन्तले भन्नुभयो, “हाम्रो समाजमा मानसिक रोग लागेकाप्रति नकारात्मक सोच भएको हुनाले विरामीहरु यसबारे कुरा गर्न खोज्दैनन् । रोग लागेपछि उपचार गर्न जाँदैनन् । त्यसकारण पनि आत्माहत्या गर्नेको संख्या बढ्छ ।”
आत्महत्या गर्नुअघिका संकेतलाई पहिचान गर्न सकेमा धेरैको ज्यान जोगाउन सकिन्छ डा. पन्तले भन्नुभयो, “अहिले नेपालमा तीन–चार वटा आत्महत्या रोग निवरण हेल्प लाइनहरु रहेको छ । त्यो हेल्पलाइन पहुँचमा पुग्यो भने केही सहज र साजिलो हुन्छ ।” यस्तोबेला आत्महत्या गरेका मानिसहरुको परिवारका सदस्यहरुले बोल्नुपर्ने आवश्यक हुने उहाँले बताउनुभयो । “नेपालमा विभिन्न लान्छनाका कारण मानिसहरु खुलेर कुरा गर्दैनन् त्यसलाई तोड्दै बोल्न थाले भने आत्माहत्याको घटना कम हुन थाल्छ” उहाँले भन्नुभयो ।

आत्महत्या गर्नुभन्दा पहिले देखिने संकेत
आत्महत्या गर्नेले केही संकेत दिइरहेको हुन्छ । उसलाई सुत्न मन गर्दैन । एकोहोरिन्छ । आफूसँग भएको सामान अरुलाई बाँडने, निराशा प्रकट गर्ने पूर्व संकेत देखाउँछ ।

हरेक दिन १७ जनाको आत्महत्या
नेपाल प्रहारीको तथ्याङ्कअनुसार हरेक दिन नेपालमा १७ जनाले आत्महत्या गर्ने गरेका छन् । चालु आर्थिक वर्षका सुरुवाती दिनमा आत्महत्याका घटना औसत रहेपनि कोरोना महामारीपछिको लकडाउनका बेलामा यो संख्यामा बृद्धि देखिएको छ ।
लकडाउन हुनुपूर्वको अवधिमा ३ हजार ५ सय २४ जनाले आत्महत्या गरेको पाइएको छ । लकडाउनको अवधिमा मात्रै १५ सयभन्दा बढीले आत्महत्या गरेका छन् । यसले सामान्य अवस्थामाभन्दा लकडाउन अवधिमा आत्महत्या गर्नेको संख्या बढेको देखाउँछ । संसदभित्रको महिला तथा सामाजिक समितिको असार १७ गतेको बैठकले लकडाउनको समयमा आत्महत्या रोकथाम गर्न सरकारलाई चार बुँदे निर्देशन दिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?