logo
२०८१ बैशाख ८ शनिवार



आफैँ परीक्षण गर्न सकिन्छ पाठेघरको क्यान्सर

स्वास्थ्य |
खुला |


आफैँ परीक्षण गर्न सकिन्छ पाठेघरको क्यान्सर



यलु जोशी

काठमाडौँ, चैत ५ गते । महिलाले लाजकै कारण पाठेघरको मुखको क्यान्सरबाट समस्या भोग्नु नपर्ने भएको छ ।
धुलिखेल अस्पतालका स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डा. सुनिला शाक्यले लाज मान्ने कारण धेरै महिलाले जाँच नै नगराउने गरेको चर्चा गर्दै भन्नुभयो, “आफैँ जाँच गरी क्यान्सरको पूर्वावस्था पत्ता लगाउन सकिने भएको छ ।”
धुलिखेल अस्पतालले तीन महिनाअघि (डिसेम्बर)देखि सुरु गरेको ‘सेल्फ स्याम्पलिङ केयर एचपीभी किट’ हालसम्म १५० महिलाले प्रयोग गरिसकेको जानकारी दिनुभयो । धुलिखेल वरपरका महिला यो विधि अपनाउन इच्छुक छन् वा छैनन् भनेर सर्वेक्षण गरेपछि मात्र सो किट वितरण गरेको र प्रयोग गर्न पाएपछि सबै खुसी भएको प्रतिक्रिया डा. शाक्यले दिनुभयो ।
पाठेघरको मुखको क्यान्सर एचपीभी डीएनए टेस्ट, भिजुअल इन्स्पेक्सन विथ एसिटिक एसिड (भीआईए) तथा प्यापस्मियर टेस्ट गरी तीन तरिकाले परीक्षण गर्न सकिने जानकारी उहाँले दिनुभयो । यो सबै डाक्टरले नै गर्नुपर्ने कारण धेरै महिला लाज मान्ने तथा हिच्किचाउने गरेको पाइन्छ ।
‘सेल्फ स्याम्पलिङ केयर एचपीभी किट’ प्रयोग गरी महिलाले आफँै नमुना लिन सक्छन् । त्यही नमुना परीक्षण गरी क्यान्सर भए नभएको थाहा पाउन सकिन्छ । यो किटले ३० वर्षभन्दा माथिको उमेर समूहका महिलाको मात्र जाँच गर्न सकिन्छ ।
डा. शाक्यले यो किटलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले मान्यता दिइसकेको र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रयोग गर्न अनुमति दिइसकेको बताउनुभयो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्की सदस्य नमिता घिमिरेले ‘सेल्फ स्याम्पलिङ केयर एचपीभी किट’ प्रयोग गर्न अनुमति दिएको जानकारी दिनुभयो । नेपालमा पाठेघरको मुखको क्यान्सर ठूलै समस्या भएको जानकारी दिँदै घिमिरेले यो जाँच प्रक्रियाले पाठेघर मुखको समस्या केही हदसम्म कम गर्न सहयोग गर्ने आशा व्यक्त गर्नुभयो ।
धुलिखेल अस्पतालका स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डा. शाक्यले पाठेघरको मुखमा भएका कोषको असामान्य ढङ्गले वृद्धि हुनु नै पाठेघरको मुखको क्यान्सर हुनु हो भन्नुभयो । समय–समयमा पाठेघरको जाँच गरी क्यान्सरपूर्वको अवस्था तथा प्रारम्भिक चरणको उपचार समयमै गर्न सके यसबाट बच्न सकिने जानकारी उहाँले दिनुभयो ।
“रोकथाम गर्न सकिने भए पनि जनचेतनाको अभावमा दिनहुँ यो रोग बढ्दो छ । नेपालमा वार्षिक १० हजारको हाराहारीमा यो क्यान्सरका बिरामी थपिने गरेको देखिएको छ”, उहाँले भन्नुभयो । सुरुमा लक्षण नदेखिने भएकाले एवं कतिपय अवस्थामा महिला निकै ढिलो मात्र उपचार गर्न आउने गरेको पाइन्छ । बिरामीको अवस्था हेर्दा रोग लागेको तेस्रो वा चौथो अवस्थामा मात्र उपचारका लागि अस्पतालमा पुगेका हुन्छन् ।
पाठेघरको मुखको क्यान्सर एउटा प्राणघातक रोगका रूपमा रहेको छ । विश्वमा यस रोगबाट पीडितमध्ये झन्डै ८५ प्रतिशत महिला विकासोन्मुख देशमा र १५ प्रतिशतमात्र विकसित देशमा पाइएका छन् । विकसित देशमा यो क्यान्सरले महिलामा हुने क्यान्सर करिब छ प्रतिशत भाग ओगटेको छ । विकासोन्मुख देशमा यो प्रतिशत अझ ठूलो छ । यो रोग ३० देखि ६५ वर्ष उमेरका महिलामा धेरै पाइएको चिकित्सकको भनाइ छ ।
डब्लूएचओको तथ्याङ्कअनुसार यो रोगबाट बर्सेनि तीन लाखभन्दा बढी महिलाको पाठेघरको क्यान्सरका कारण अकालमै मृत्यु हुने गरेको छ । हामीकहाँ व्यवस्थित पूर्वपरीक्षण कार्यक्रम स्क्रिनिङ नभएको तथा कहिलेकाहीँ ठूला अस्पताल एवं क्लिनिकमा मात्र स्क्रिनिङ गरिने हुनाले यसको रोकथाम हुन नसकेको डा. शाक्यले बताउनुभयो । “हरेक तीनदेखि पाँच वर्षमा कम्तीमा एक पटक पूर्वपरीक्षण कार्यक्रम स्क्रिनिङ टेस्ट गराउन आवश्यक पर्छ”, उहाँले थप्नुभयो, “सामान्यतः २१ देखि ६५ वर्ष उमेर समूहका महिलाका लागि यो जाँच अनिवार्य छ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?