logo
२०८० चैत्र १६ शुक्रवार



टेकोकै भरमा संस्कृत विश्वविद्यालय भवन

शिक्षा |


टेकोकै भरमा संस्कृत विश्वविद्यालय भवन


गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन १४ गते । विगत पाँच वर्षदेखि १४ वटा टेकोको भरमा अडिएको वसन्तपुरस्थित नेपाल संस्कृत विश्वविद्यालयको भवन पुनर्निर्माण÷सबलीकरणतर्फ अझै सम्बद्ध निकायको ध्यान जान सकेको छैन । विश्व सम्पदा क्षेत्र, आन्तरिक तथा बाह्य पर्यटकको विशेष आकर्षण क्षेत्रमै रहेको काठको कलात्मक उक्त भवन अझै कहिलेसम्म पुनर्निर्माण हुने हो यकिन हुन सकेको छैन । उक्त भवनमा संस्कृत विश्वविद्यालयको काठमाडौँ सम्पर्क कार्यालय सञ्चालन हुँदै
आएको थियो ।
मन्त्रीस्तरीय बैठकले सम्पर्क कार्यालय राखेर विश्वविद्यालयले लामो समयसम्म पदाधिकारी खटाउन नपाउने निर्णयपछि सम्पर्क कार्यालय दाङ बेलझुन्डीकै विश्वविद्यालयमा २०७५ सालमै गाभिएको विश्वविद्यालयका रजिस्टार माधव अधिकारीले जानकारी दिनुभयो ।
विश्व सम्पदा क्षेत्रमै अवस्थित काठको कलात्मक तथा बहुमूल्य सामग्रीयुक्त त्यस सम्पदाको सबलीकरण वा पुनर्निर्माणका लागि पुरातìव विभागलाई अनुरोध गर्दा तत्काल बजेटको अभाव रहेकाले आउँदा वर्षमा त्यस भवनलाई लक्षित गरी बजेट छुट्याउने आश्वासन पाएको अधिकारीले बताउनुभयो ।
विनाशकारी भूकम्पपछि त्यस भवनको सबलीकरणका लागि जापानी संस्था ‘कोइका’ ले योजनासहित विस्तृत परियोजना ल्याएको सुनेको तर त्यो काम हुन नसकेको उहाँले बताउनुभयो । सम्पर्क कार्यालयका साथै अध्ययन अनुसन्धानका काम समेत हुने सो भवनमा भूकम्पले क्षति पुगेपछि उपयोग गर्न नसकिने अवस्थामा पुगेको रजिस्टार अधिकारीले बताउनुभयो ।
ठाउँ–ठाउँमै चिराचिरा परेको त्यस भवनको मुनि साना नाङ्ला पसल, चिया पसल तथा क्युरियो पसल सञ्चालन हुँदै आएका छन् । त्यस क्षेत्रमा विगत २३ वर्षदेखि क्युरियो पसल सञ्चालन गर्दै आउनुभएका हरि कार्कीले २०७२ सालपछि सधैँ नै भवन भत्कने हो कि भन्ने चिन्ताले सताउने गरेको अनुभव सुनाउनुभयो ।
‘‘वैशाख १२ गते पनि भर्खरै पसलका सामान राख्दै थिएँ, भूकम्पले त्यो भवन भत्केर मरिने त्रासमा पसलका सामान त्यसै छाडेर ज्यान जोगाउँदै भागेँ । भवन नबन्दा यस क्षेत्रमा पसल, व्यवसाय गर्ने र भवनको वरिपरिका बासिन्दा त्रासमै बाँचिरहेका छौँ’’, कार्कीले भन्नुभयो । यस विषयमा वसन्तपुर दरबार क्षेत्र संरक्षण कार्यक्रम प्रमुख रोशनमान शाक्यले भवनको पुनर्निर्माण वा सबलीकरणबारे जानकारी नभएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?