logo
२०८० चैत्र १५ बिहीवार



सङ्क्रमण घटेसँगै मास्क प्रयोगमा कमी

स्वास्थ्य |
खुला |


सङ्क्रमण घटेसँगै मास्क प्रयोगमा कमी



यलु जोशी

काठमाडौँ, माघ २१ गते । कोरोना भाइरस(कोभिड–१९)को महामारीसँगै जनजीवन सामान्य बन्दै गएपछि मास्क प्रयोगमा कमी आउनथालेको छ ।
कोरानाकालमा मास्कबिनाका मुहार बिरलै देखिए । कहिल्यै मास्क नलगाउनेले पनि कोरोनाको भयले मास्क लगाएका थिए । केही समयअघि नेपालमा कोभिड–१९ विरुद्धको भ्याक्सिन भित्रिएसँगै मानिसको मुखबाट मास्क पनि बाहिरिन थालेको छ ।
सार्वजनिक सवारी साधनमा चालक, सहचालक, यात्रुदेखि पसलका व्यापारी, सामान किन्ने ग्राहक तथा बाटोमा हिँड्ने कतिपय बटुवासमेत मास्क बेगर देखिन थालेका छन् ।
जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले हाल सङ्क्रमण र मृत्युको दर घट्ने क्रम रहेकाले मानिसहरूले मास्क बेवास्ता गर्न थालेको बताउँदै हाल सङ्क्रमणको सङ्ख्या पनि १५० देखि दुई सयको हाराहारीमा भएका कारण मास्क लगाउने दर घटेको हुन सक्ने तर्क गर्नुभयो । डा. पाण्डेले खोप आए पनि अहिल्यै सर्वसाधारणसम्म नपुग्ने भएकाले मास्क अनिवार्य रूपमा लगाउनसल्लाह दिनुभयो ।
सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन मानिसले मास्कका साथै सबै खालका जनस्वास्थ्यका मापदण्ड बिर्सिंदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले कोरोनालाई मात्र मास्क नभएर विभिन्न श्वासप्रश्वाससम्बन्धी रोगका लागि उपयुक्त हुने प्रस्ट पार्नुभयो । फिजिसियन डा. जेनर तामाङले मानव दैनिक जीवनका लागि भाइरसबाट बच्न मास्क र सेनिटाइजर निकै आवश्यक भएको बताउँदै हात धुने बानीले झाडापखालादेखि टाइफाइड, कमलपित्तजस्ता सरुवा रोगबाट बच्नसमेत सहयोग पुग्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?