logo
२०८० चैत्र १६ शुक्रवार



पाठेघरको मुखमा क्यान्सर कम गर्न सकिन्छ जोखिम

स्वास्थ्य |


पाठेघरको मुखमा क्यान्सर कम गर्न सकिन्छ जोखिम


यलु जोशी

काठमाडौँ, माघ २० गते । महिलालाई पाठेघरको मुखको क्यान्सर छ भनेर हेला त गर्नुभएको छैन ? पुरुषका कारण पनि यो रोग लाग्न सक्ने विशेषज्ञहरू बताउँछन् । परोपकार प्रसूूति तथा स्त्रीरोग अस्पतालका स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीले जति महिलाले आफ्नो स्वास्थ्यका लागि हेरचाह गर्नुपर्ने हुन्छ, त्यति नै पुरुष वा श्रीमान्ले पनि सरसफाइ र स्वास्थ्यमा ध्यान दिनुपर्ने जानकारी दिनुभयो ।
उहाँले पाठेघरको मुखको क्यान्सर (सर्भिक्स क्यान्सर) महिला तथा पुरुषमा शिक्षा र चेतनाको कमीले हुने गरेको बताउनुभयो । डा. सुवेदीले भन्नुभयो, “धेरै बिरामी यस्ता पनि आएका छन् । जो महिलामा क्यान्सर भएको पुष्टि भएपछि आफ्नो श्रीमान्ले छोड्ने गरेका छन् । जुन समयमा पतिको सहयोग, साथ र आत्मीयता आवश्यक भएको बेला श्रीमान्ले छोड्ने गरेका बिरामी पनि धेरै छन् ।”
“पाठेघर क्यान्सरको मुख्य कारण भनेको ‘ह्युमन पापिलो’मा भाइरसले हुने हो, महिलामा यो भाइरस आफैँ आउने होइन, पुरुषबाटै सर्ने हो । असुरक्षित यौन सम्पर्क, सरसफाइमा कमी, पुरुषले एकभन्दा बढी महिलासँग शारीरिक सम्बन्ध राख्नेजस्ता कारणबाट भाइरस सर्ने हुन्छ,” डा. सुवेदीले प्रस्ट पार्दै भन्नुभयो ।
शारीरिक सम्पर्कका क्रममा छालाबाट छालामा भाइरस फैलिने चर्चा गर्दै उहाँले कण्डमकै प्रयोगबाट पनि यो भाइरस रोक्न कठिन हुने भएकाले सरसफाइ र धेरैसँग शारीरिक सम्पर्क नराख्नु नै यसबाट बच्ने उपाय हो । मद्यपान एवं धूमपान सेवन गर्ने, खानपिनमा ध्यान नदिने र कुपोषण भएका महिलामा यो रोग लाग्ने सम्भावना बढी हुने डा. महर्जनकोे भनाइ छ ।
एक अध्ययनले २६ हजारदेखि ४५ हजार नेपाली महिलालाई भविष्यमा पाठेघरको क्यान्सर हुन सक्ने सम्भावना देखाएको डा. महर्जनले जानकारी गराउनुभयो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा हरेक वर्ष पाँच लाख महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ । तीमध्ये दुई लाखको मृत्यु हुन्छ।
नेपालमा बर्सेनि कति महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ र कतिको मृत्यु हुन्छ भन्ने यकिन तथ्याङ्क छैन तर विभिन्न अस्पतालमा उपचार गराउन आएका महिलाको तथ्याङ्क हेर्दा बर्सेनि एक हजार महिलाको मृत्यु हुने गरेको स्त्री तथा क्यान्सर रोग विशेषज्ञहरूको अनुमान छ ।
डा. सुवेदीले नेपालमा पनि ह्युमन पापिलोमा भाइरस सङ्क्रमणविरुद्धको खोप ल्याउन सकेको खण्डमा धेरैलाई पाठेघरको क्यान्सरबाट बचाउन सकिने धारणा व्यक्त गर्नुभयो । “कम विकसित देशमा अझै पनि पाठेघरको मुखको क्यान्सर महिलामा हुने क्यान्सरमध्ये पहिलो नम्बरमा छ,” भक्तपुर क्यान्सर अस्पतालको स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डा. एलिजा श्रेष्ठको भनाइ छ ।
३० देखि ६० वर्ष उमेर समूहका महिलालाई सताइरहेको पाठेघर क्यान्सरको बेलैमा परीक्षण गर्ने हो भने भविष्यमा रोग लाग्नबाट सुरक्षित रहन सकिन्छ । पाठेघरको क्यान्सरका लक्षण फरक–फरक हुन्छन् । डा. श्रेष्ठका अनुसार कसैलाई सेतो र गन्हाउने पानी बग्ने, कहिलेकाहीँ सेतो पानीमा रगत मिसिएर आउने हुन्छ । रोगले जटिल रूप लिँदै जाँदा पहिलेको भन्दा धेरै पानी बग्ने, पानी गन्हाउने, पटक÷पटक सङ्क्रमण हुने र पानीमा रगतसमेत मिसिएको समेत हुन सक्छ । महिनावारी नभएको समयमा पनि रगत देखा पर्ने यस रोगको प्रमुख लक्षण हो । चिकित्सकका अनुसार क्यान्सरले एक चरण पार गरेपछि मात्र लक्षण देखिने हुँदा यसको नियमित जाँच पहिलो आवश्यकता हो । “परीक्षण सबै स्वास्थ्य संस्थामा उपलब्ध गराउने हो भने पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्न सकिन्छ, गाउँगाउँमा स्क्रिनिङ क्याम्पसमेत चलाउन सकिन्छ,” डा. सुवेदीले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?