logo
२०८१ बैशाख ७ शुक्रवार



विकास निर्माणलाई प्रभावकारी ढङ्गले अघि बढाइनेछ: अर्थमन्त्री

राष्ट्रिय |


विकास निर्माणलाई प्रभावकारी ढङ्गले अघि बढाइनेछ: अर्थमन्त्री


रुपन्देही, माघ १४ गते । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासका दृष्टिले रुपन्देहीका कुनै क्षेत्रलाई पछाडि पर्न नदिइने प्रतिबद्धता जनाउनुभएको छ । बुटवल १४ नयाँ गाउँमा निर्माण भएको दानव नदी पुलको आज उद्घाटन गर्दै उहाँले विकास निर्माणलाई एक साथ अघि बढाउने बताउनुभयो । उहाँले भन्नुभयो, “विकासका हिसाबले यो ठाउँलाई पछि पर्न दिँदैनौं ।”

अर्थमन्त्री पौडेलले अबका समयमा सरकारका कामसँगै विकास निर्माणलाई पनि प्रभावकारी ढङ्गले अघि बढाउने जनाउँदै यसमा साथ दिन सबैलाई आग्रह गर्नुभयो । यस क्षेत्रका विकासका मुद्दालाई ओझेलमा पर्न नदिन स्थानीयवासीको पनि उत्तिकै भूमिका हुने छ भन्दै अर्थमन्त्री पौडेलले समयसमयमा खबरदारी गर्न आवश्यक रहेको बताउनुभयो ।

“यस ठाउँलाई पूर्वाधार विकासका हिसाबले पछाडि पर्न दिइने छैन”, अर्थमन्त्री पौडेलले भन्नुभयो, यहीस्थलमा लुम्बिनी बौद्ध विश्वविद्यालयको आगिङ्क क्याम्पस निर्माणको प्रक्रिया शुरु गरिएको छ । यो योजना सम्पन्न हुँदा यो ठाउँको मुहार बदलिनेछ ।”
विसं २०७६ भदौ ३० गते निर्माण सम्पन्न भएको दानव नदी पुलको लम्बाइ ९८ दशमलव २५ मिटर र चौडाइ ७ दशमलब २ मिटर छ । पुलको लागत रु ६ करोड २३ लाख रहेको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले जानकारी दिनुभयो ।

यसअघि अर्थमन्त्री पौडेलले आजै बिहान योगीकुटी र शिवनगर जोड्ने मगरघाटको पुल उद्घाटन गर्नुभएको थियो । सो पुल २०७३ सालमा सम्झौता भएर २०७६ माघमा सम्पन्न भएको हो । १८० मिटर लम्बाइ ११ मिटरकै चौडाइको यो पुलको लागत २१ करोड ४९ लाख रहेको डिभिजन सडक कार्यालयले जानकारी दिएको छ ।

अर्थमन्त्री पौडेलले आजै देवीनगर र बुद्धनगर जोड्ने पुलको उद्घाटन गर्ने कार्यक्रम छ । विसं २०७२ असार ३० गते निर्माण शुरु भई २०७६ माघ ५ गते सम्पन्न भएको पुलको लम्बाइ ११० मिटर र ११ मिटर चौडाइ रहेको छ । पुलको लागत रु १० करोड ४५ लाख रहेको डिभिजन सडक कार्यालयले जनाएको छ । पुल नहुँदा बुटवलको तिनाउ नदी पारिका बस्तीलाई समस्या थियो । नदीका कारण लामो बाटो घुमेर वारिपारि गर्नुपर्ने समस्या पुल बनेपछि समाधान भएको छ । बुद्धनगर, रानीगञ्ज, मोतीपुर र सेमलालगायतका क्षेत्रका नागरिक पूर्व–पश्चिम राजमार्गको तिनाउ पुल हुँदै घुमेर बुटवल आउनुपर्ने बाध्यता थियो । अहिले पुल बनेपछि वारिपारि गर्न निकै सहज भएको मोतीपुरका स्थानीयवासी सङ्गीता थारुले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?