logo
२०८१ बैशाख ४ मंगलवार



समर कुञ्ज अब पुरानै शैलीमा

खुला |


समर कुञ्ज अब पुरानै शैलीमा



दीपक श्रेष्ठ

काठमाडौँ, माघ ५ गते । नाट्य सम्राट बालकृष्ण सम जन्मनुभएको ज्ञानेश्वरस्थित ‘समर कुञ्ज’लाई पुरानै शैलीमा संरक्षण कार्य अगाडि बढाइएको छ । बालकृष्ण सम शैक्षिक गुठीमार्फत काठमाडौँ विश्वविद्यालयले संरक्षण कार्य अगाडि बढाएको हो ।
काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा. रामकण्ठ मकाजु श्रेष्ठका अनुसार चार वर्षभित्र बालकृष्ण सम जन्मनुभएको समर कुञ्जलाई पुरानै स्वरूपमा देख्न पाइने छ, जहाँ समको जीवनीसँग सम्बन्धित चित्रकला, साहित्य, तस्बिरसहितको सङ्ग्रहालयसमेत व्यवस्थित गरिनेछ । समर कुञ्जको करिब तीन रोपनी जग्गा र सो जग्गामा रहेको दुई भवन (जीर्ण अवस्थामा रहेका) बालकृष्ण सम गुठीअन्तर्गत राखिएको छ ।
नाट्य सम्राट समकी बहिनी उषाकिरण राणाको इच्छा र सपनाबमोजिम काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यमा ‘समर कुञ्ज’को संरक्षण अगाडि बढाइएको डिलाइट सिंहले बताउनुभयो । रेडियो नेपालमा पहिलो अङ्ग्रेजी समाचार वाचिका उषाकिरणको २०७६ पुसमा निधन भएको थियो । नाट्य सम्राट समकी भान्जी (उषाकिरणकी छोरी) सिंहले भन्नुभयो, “यस घरको जीवन्त संरक्षण कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको थियो । शैक्षिक थलोका रूपमा विकास गर्ने उद्देश्यअनुरूप काठमाडौँ विश्वविद्यालयसँग जोडिन पाउँदा खुसी लागेको छ । ”
काठमाडौँ उपत्यका संरक्षण कोषका कार्यकारी निर्देशक रोहित रञ्जितकारले समर कुञ्ज संरक्षण एवं जीर्णोद्धारको प्राविधिक कार्य सम्हाल्नुभएको छ । उहाँका अनुसार समर कुञ्जको राणाकालीन दरबारको जीर्णोद्धार र केही भाग पुनर्निर्माण कार्य गरिनेछ । चार तले सो दरबार अग्नावशेषका रूपमा तीन तला बाँकी छ ।
काठमाडौँ विश्वविद्यालयको म्युजिक स्कुल अफ आर्ट विभाग प्रमुख डा. लोचन रिजालका अनुसार समर कुञ्जको पुरानै संरचना अनुसारको डिजाइन तयार पारिएको छ । समर कुञ्जका दुई भवन, सत्तल, थियटरलगायत कक्ष निर्माणका लागि करिब १० करोड रुपियाँ खर्च अनुमान गरिएको छ । त्यसमध्ये काठमाडौँ विश्वविद्यालयबाट एक करोड निकासापछि संरक्षण कार्य अगाडि बढाइएको डा. रिजालले जानकारी दिनुभयो ।
ज्ञानेश्वरस्थित समर कुञ्जमा १९५९ साल माघ २४ गते जन्मनुभएका बालकृष्ण सम (बालकृष्ण शमशेर जङ्बहादुर राणा)को २०३८ साल साउन ६ गते निधन भएको थियो । जनरल समर शमशेरका छोरा सम बहुमुखी प्रतिभाका धनी हुनुहुन्थ्यो । समले कविता, नाटक, कथा, प्रबन्ध, निबन्ध, जीवनी आदि विभिन्न क्षेत्रमा कलम चलाउनुभए पनि नाटककार र चित्रकारका रूपमा नेपालीमाझ स्थापित हुनुहुन्छ । दस वर्षको उमेरमा कविताबाट साहित्यिक यात्रा सुरु गर्नुभएका समको १९७७ सालमा ‘तानसेनको झरी’ पहिलो नाटक लेख्नुभएको हो । उहाँको पहिलो प्रकाशित नाटक ‘मुटुको व्यथा’ हो । उहाँको नाट्य यात्रा २०३५ सालसम्म
जारी थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?