logo
२०८० चैत्र १६ शुक्रवार



दार्चुलाका छ स्थानीय तहको पहुँचमा छैन पक्की सडक

खुला |


दार्चुलाका छ स्थानीय तहको पहुँचमा छैन पक्की सडक
बैतडी हुँदै दार्चुलालाई पहिलो पटक पक्की सडक सञ्जालमा जोड्ने महाकाली लोकमार्गको गोकुलेश्वर प्रवेश क्षेत्र अर्थात चमेलिया पुल । तस्बिर -लोकेन्द्र जोशी, दार्चुला



लोकेन्द्र जोशी
दार्चुला, माघ ४ गते । दार्चुलाका नौ स्थानीय तह मध्ये छवटा स्थानीय तहको पहुँचमा पक्की सडक पुगेको छैन । महाकाली लोकमार्गले छोएका शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र महाकाली नगरपालिका बाहेकका पालिकामा हालसम्म पक्की सडकको पहुँच छैन । मार्मा, दुहुँ र नौगाड गाउँपालिका जोड्ने सडकहरु कालोपत्रे गर्ने तयारीमा छ ।
नेपाल सरकारले दुई वर्ष भित्र हरेक स्थानीय तहको केन्द्रलाई प्रदेशको राजधानीसँग पक्की सडकले जोड्ने लक्ष्य लिएको छ । तर, दार्चुलाको दुर्गम स्थानीय तह अपि हिमाल गाउँपालिकाको केन्द्रसम्म अहिले पनि कच्ची सडकमार्गको विस्तार समेत भएको छैन । अपि हिमाल गाउँपालिका–५ मकरीगाडसम्म मात्रै सडकको ट्रयाक खुलाइएको छ । अहिलेसम्म दार्चुलाको ठूलो भूगोल राष्ट्रिय सडक सञ्जालमा जोडिएको छैन । भगौलिक कठिनाइले कतिपय स्थानीय तहका विभिन्न वडाहरुसम्म सडक पु¥र्याउनु चुनौतीपूर्ण छ ।
कतिपय स्थानीय तहका केन्द्र जिल्ला सदरमुकामबाट धेरै टाढा छन् । राम्रोसँग ट्रयाक समेत नखुलेको अवस्थामा तुरुन्तै पक्की सडक बनाउन सम्भव हुने अवस्था नरहेको लेकम गाउँपालिका उपाध्यक्ष माधबी जोशीले बताउनुभयो । यद्धपि देश संघीयतामा गएसँगै सहरदेखि दुर्गम क्षेत्रसम्म सडक निर्माणले तीब्रता पाएको छ । दार्चुलाका ६१ मध्ये हालसम्म ४४ वडालाई सडकमार्गले जोडेको छ । १७ वडा सडकमार्गबाट पूर्णरुपमा बञ्चित रहेका छन् । अहिलेकै गतिमा काम हुने हो भने, अपिहिमाल गाउँपालिकाका सबै वडासम्म सडक पु¥याउन वर्षौ लाग्नसक्ने स्थानीय जनक ठेकरेले बताउनुभयो ।
दार्चुलाको शैल्यशिखर नगरपालिका र दुहुँ गाउँपालिकाका सबै वडालाई सडकमार्गले छोएको छ । दार्चुला सदरमुकाममा अवस्थित महाकाली नगरपालिकाका नौ वडा मध्ये वडा नम्बर ३ बाहेकका आठवटा वडा सडकमार्गमा जोडिएका छन् । मालिकार्जुन गाउँपालिकाका आठ वटा वडामध्ये छ वडालाई सडकले छोएको छ । सडकमार्गबाट बञ्चित वडा नम्बर ५ र वडा नम्बर २ लाई जोड्ने सडक निर्माणाधिन अवस्थामा रहेको गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामीले बताउनुभयो । लेकम गाउँपालिकाको छ वटा वडामध्ये वडा नम्बर २ र ३ मा यातायात पुगेको छैन । वडा नम्बर ६, ५, ४ र १ मा सडक विस्तार भइसकेको छ । नौगाड गाउँपालिकाका छ वटा वडामध्ये पाँच वडामा सडक पुगेको छ । वडा नम्बर १ इयरकोटसम्म सडक विस्तारको काम भइरहेको छ । व्यास गाउँपालिकाका छ वडामध्ये चार वडामा सडक पुगेको छ । वडा नम्बर १ र २ बाहेकका चार वडामा सडक विस्तार भइसकेको गाउँपालिका अध्यक्ष दीलिपसिंह बुढाथोकीले बताउनुभयो । व्यासको सडक पुग्न बाँकी दुर्गम क्षेत्र वडा नम्बर १ र २ लाई जोड्ने गरी महाकाली करिडोर अन्तरगत दार्चुला तिकंर सडक निर्माणाधिन अवस्थामा रहेको छ ।
मार्मा गाउँपालिकाको छ वडामध्ये वडा नम्बर १, २ र ३ गरी तीन वडालाई सडकमार्गले छोएको छ । सडक पुग्न बाकी तीन वडालाई जोड्ने गरी दुई वटा सडक निर्माणाधिन अवस्थामा छन् । दार्चुलाको विकट स्थानीय तहमध्येको अपिहिमाल गाउँपालिकाका छ वडा मध्ये वडा नम्बर ५ लाई मात्रै सडकले छोएको र बाकी पाँच वटा वडामा सडक विस्तार गर्न बाकी रहेको अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताउनुभयो ।
संघीय संरचना निर्माण हुनुभन्दा पहिले दार्चुलाको थोरैमात्र क्षेत्रमा सडक विस्तार भएको थियो । अहिले स्थानीय, प्रदेश र संघीय सरकारको लगानीमा धमाधम सडक निर्माण भइरहेका छन् । दार्चुलाका अधिकासं वडा कार्यालयलाई सडक मार्गले छोए पनि स्तरोन्नती नहुँदा नियमित यातायातका साधनहरु भने थोरैमात्र वडामा सञ्चालित छन् । स्थानीय पूर्वाधार विभागको तथ्याङ्क अनुसार देशका सात सय ५३ मध्ये ६१ वटा स्थानीय तहका केन्द्रहरु अहिले पनि सडक सञ्जालसँग जोडिएका छैनन् । सडक पुगे पनि दुई सय १२ स्थानीय तहको केन्द्रसम्म पक्की सडक छैन । दुई वर्षभित्र सबै स्थानीय तहमा पक्की सडक पु¥याउने सरकारको लक्ष्य पूरा गर्न बजेट, गति र जनशक्ति बढाउनुपर्ने आवश्यकता रहेको महाकाली करिडोरका सूचना अधिकारी दिनेश रैखोलाले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?