logo
२०८० चैत्र १५ बिहीवार



एउटै खेतमा एकै पटक दुई बाली खेतमा तोरी, आलीमा रहरी

खुला |


एउटै खेतमा एकै पटक दुई बाली खेतमा तोरी, आलीमा रहरी
तोरी र रहरी, तल खेतमा तोरी र माथि आलीमा रहरी, तस्बिर - सन्तोष सुवेदी



सन्तोष सुवेदी
सिराहा, माघ ३ गते । प्रायः जसो एउटा खेतमा एक पटक एउटा बाली लगाइने गरिन्छ तर तराई मधेशको सिराहा जिल्लामा भने अहिले तोरी र रहरी गरी एउटै खेतमा एकैपटक दुई बाली लगाइएको छ ।
धानवाली नसकिंदै धान खेतमा छरिएको तोरी र रहरी अहिले सिरहाली किसानको खेतमा यत्रतत्र देखिएको छ । तल खेतमा तोरी र खेतलाई छुट्याउने आलीमा लगाएको रहरीको बालीले किसानले दलहन र तेलहन दुवै वाली एकै पटक लगाउन पाएका छन् । कम सिंचाई र घरेलु मलमै राम्ररी हुर्किन सक्ने भएकोले दलहन र तेलहनको रुपमा रहेको तोरी र रहरी सिराहाको मलिलो खेतमा राम्ररी फस्टाएको छ ।
सिरहाली किसानहरुले दलहनको रुपमा मुख्य गरी रहरी, मुसुरी, चना र मास लगाउने गर्छन् भने तेलहनको रुपमा सेतो तोरी, कालो तोरी, तील र आलस लगाउने गरेका छन् । धान काट्ने बेला र काटिसकेपछि सिरहाली किसानले आफ्नो खेतमा दलहन र तेलहनको बीउ छर्ने गर्दछन् । धान परिपक्व भई काटेपछि त्यही रहेको दलहन र तेलहन पनि विस्तारै परिपक्व हुँदै जान्छ । यो वालीमा किसानले धेरै परिश्रम गर्नु नपर्ने र तुलनात्मक रुपमा फाइदा पनि राम्रै हुने भएकाले किसान दलहन र तेलहन बालीप्रति व्यवसायिक बन्दै गइरहेका छन् ।
‘वास्तवमै भन्ने हो भने यो समयमा गहुँभन्दा बढी हामीलाई दलहन र तेलहनबाटै फाइदा हुन्छ’, लक्ष्मीपुर पतारी गाउँपालिका–२ स्थित पोखरभिण्डाका मनोज ठाकुरले भन्नुभयो–बजारमा विक्री गनुप¥यो भने गहुँ ३० देखि ३५ रुपियाँमा विक्री हुन्छ भने दलहन र तेलहन प्रति केजी ७० देखि सय रुपियाँभन्दा माथि नै पुग्छ ।
‘पहिले पहिले सिरहाली किसानले धान वालीपछि गहुँ बालीलाई प्राथमिकतामा राखे पनि पछिल्लो समय दलहन र तेलहनलाई नगदेवालीको रुपमा प्राथमिकतामा राखेको पाइन्छ’, सखुवानानकरकट्टी–२ स्थित सोठियाइनका सूर्यनारायण यादवले भन्नुभयो–गाउँघरका ठूला साना सबै खालका किसानहरुले आफूलाई आवश्यक पर्ने खर्चको जोहो गर्न नगदेबालीको रुपमा तरकारी, दलहन र तेलहनको बाली लगाउने गर्दछन्, त्यसमध्ये राम्रो रकम दिने दलहन र तेलहन भएकोले उनीहरुको प्राथमिकतामा यो परेको हो ।
कृषि ज्ञान केन्द्र सिरहाका कार्यालय प्रमुख किसुनदेव राउतका अनुसार सिरहामा दलहन र तेलहन वाली तेश्रो प्रमुख वाली हो । सिराहामा सबैभन्दा बढी धान, दोश्रोमा गहुँ र त्यसपछि दलहन र तेलहन उत्पादन हुने गरेको छ । सिरहाको एक हजार ३९० हेक्टरमा दलहन र दुई हजार ४४५ हेक्टरमा तेलहन वालीको खेती हुने गरेको केन्द्रले जनाएको छ । यहाँ सात हजार पाँच सय मेट्रिक टन दलहन र २२ हजार मेट्रिक टन तेलहन उत्पादन हुने गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?