logo
२०८१ बैशाख ६ बिहीवार



कोभिडका कारण खुम्चियो उपत्यकामा थारु माघी महोत्सव

खुला |


कोभिडका कारण खुम्चियो उपत्यकामा थारु माघी महोत्सव


गोरखापत्र अनलाइन

काठमाडौं, माघ १ गते । उपत्यकामा बसोबास गर्ने थारु समुदायले कोभिड १९ का कारण यस पटक टुँडीखेलमा माघी महोत्सव गर्न पाएनन् । महोत्सवलाई निरन्तरता दिन आज माघीको अवसरमा सानो हलभित्र कार्यक्रम गरे । कोभिड १९ नियन्त्रण भएमा आउने साल पुनः भव्य कार्यक्रम गर्ने आशा बाँड्दै शुभकामना आदानप्रदानको कार्यक्रम सम्पन्न गरेका छन् । अनामनगरस्थित तमु बौद्ध सेवा समितिको सभाकक्षमा महोत्सवलाई निरन्तरता दिन कार्यक्रम आयोजना गरिएको थारु कल्याणकारिणी सभा (थाकस) का महामन्त्री प्रेमीलाल चौधरीले बताउनुभयो । यद्यपि आफू माघीको कार्यक्रममा जिल्ला भएकाले उपत्यकामा रहेका साथीहरुले त्यसको व्यवस्थापन गर्नुभएको उहाँले बताउनुभयो ।

“कोभिड १९ का कारण यसपाली महोत्सव टुँडीखेलमा गर्न पाइएन, नियन्त्रण भयो भने आउने साल पुनः भव्य कार्यक्रम गरेर मनाउँला” उहाँले भन्नुभयो । त्यसैगरी नेपाल आदिबासी जनजाति विद्यार्थी महासंघका अध्यक्ष चन्द्रप्रसाद थारुले यसपालीको महोत्सव फिका भए पनि एकै ठाउँमा रामरमाइलो गर्न सानै भएपनि कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । “उपत्यकामा बसोबास गर्ने थारु समुदायका प्रतिनिधिलाई आज विदाको दिन रमाइलो र शुभकामना आदानप्रदानका लागि कार्यक्रमलाई निरन्तरता दिएका हौं” थारुले भन्नुभयो ।

सोही अनुसार थारु युवा सभाका अध्यक्ष कानुनलाल चौधरीले सानै भएपनि माघी महोत्सवको निरन्तरतास्वरुप कार्यक्रम गरिएको बताउनुभयो । “थारु समुदायको नयाँ वर्ष माघीको अवसरमा एकअर्कामा शुभकामना बाँड्ने उद्देश्यसहित कार्यक्रम गरिएको हो, अन्य वर्षजस्तो भव्य नभए पनि उपत्यकामा बस्ने थारुहरुलाई एक ठाउँमा देखभेट गराउने काम कार्यक्रमले गरेको छ” उहाँले भन्नुभयो ।

कार्यक्रममा थारु आयोगका अध्यक्ष विष्णुप्रसाद थारु, नेताहरु लीलामणि पोखरेल, अनिल शर्मा, थारु नेताहरु गंगा सत्गौंवा थारु, बुद्धसेन चौधरी, सि.एन. थारु, चन्द्रप्रसाद थारु, सीताराम थारु, दिनेश तामाङ लगायतले धारणा राख्नुभएको थियो । कार्यक्रममा थारु नृत्य तथा मनोरन्जनात्मक प्रस्तुति र साहित्यिक रचना पनि प्रस्तुति गरिएको थियो । कार्यक्रम स्थलमा थारु खानाका ६ वटा स्टल राखिएका थिए । सानो ठाउँमा आकस्मिक कार्यक्रम गरिएकाले करिब पाँच सय जनाको सहभागिता रहेको आयोजकले बताएको छ ।

कृषि बजारमा पनि थारु फुड फेष्टिबल

यसैगरी माघी पर्वको अवसरमा थनेत कृषि बजारले आज विहिबार थारु फुड फेष्टिबलको आयोजना गरेको छ । लाखेचौर थापागाउँ बानेश्वरमा सो फेष्टिबलको आयोेजना गरिएको आयोजकले बताएको छ । मेलामा घोंगी, हाँसको मासु, परेवाको मासु, लोकल कुखुराको मासु, झिंगे माछा, सितुवा, गंगटा, ढिक्री, रोटी, बगिया, तिलको लड्डु, भुजाको लड्डु, चिउराको लड्डु, चिचर, भाका, अनन्दी चामलको खाना लगायत विभिन्न थारु खानाका परिकारहरु राखिएको आयोजकले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?