logo
२०८० चैत्र १५ बिहीवार



ताजा जनादेशमा जानुको विकल्प छैनः मन्त्री नेम्बाङ

राष्ट्रिय |


ताजा जनादेशमा जानुको विकल्प छैनः मन्त्री नेम्बाङ


नारायण तुम्बापो
फिदिम, माघ १ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले अब ताजा जनादेशमा जानुको विकल्प नरहेको बताउनु भएको छ । संसद विघटन भइसकेपछि अनिर्णयको बन्दी बन्नु नहुने बताउदै उहाँले मध्यावधि चुनाव सफल पार्न लाग्नुपर्नेमा जोड दिनुभयो ।
फिदिम नगरपालिकाद्वारा फिदिममा आयोजित आठौं नगरसभालाई बुधबार सम्बोधन गर्दै मन्त्री नेम्बाङले चुनाव नहोलाकी भन्ने आशंका नगर्न पनि अनुरोध गर्नुभयो । उहाँले संसद विघटन संवैधानिक या असंवैधानिक भन्ने वहसमा अल्झिरहन जरुरी नहरेकोसमेत धारणा राख्नुभयो । मन्त्री नेम्बाङले भन्नुभयो, ‘यो मुद्दाको आधिकारिकले अन्तिम फैसला हुनेगरि सर्वोच्च अदालतमै बहस भइरहेको छ ।’ यसैगरी अन्य पाटीलाई नेकपा भित्रको आन्तरिक विवादको विषयलाई लिएर को ठिक, को वेठीक भन्ने छलफलमा नअल्झन पनि अनुरोध गर्नुभयो । चुनाव चिन्ह सूर्य र पार्टीको आधिकारिकता कुन पक्षले पाउने भन्नेमा कसैले टाउको दुखाउन नहुनेसमेत बताउनुभयो ।

यस विषयमा पनि निर्वाचन आयोगले नै न्यायोचितले टुङ्गो लगाउने उहाँले बताउनुभयो । यही सन्दर्भमा उहाँले थप्नुभयो, ‘वर्तमानमा हामीसँग वैशाखमा हुने चुनावको पूर्व तयारीमा लाग्नु पर्ने ठूलो अभिभारा छ । यो जिम्मेवारी पूरा गर्नतर्फ चै हाम्रो ध्यान केन्द्रित गरौ ।’ मन्त्री नेम्बाङले सरकार प्रतिगमनतर्फ उन्मुख भइरहेको भन्ने आरोपको खण्डन गर्दै यो कदापी हुनै नसक्ने बताउनुभयो । मूलुकलाई विवादै विवादमा फसाएर निर्वाचन हुन नदिने हर्कत चाहिँ प्रतिगामी हुने उहाँले तर्क राख्नुभयो । पार्टीका केहि नेताका स्वार्थ अनुकुल नचलेर नेपाली जनताको पक्षमा लागिपर्दा प्रधानमन्त्री केपी ओली विरुद्ध षडयन्त्र भएको उहाँले दुखेसो गर्नुभयो । यसले नै अहिलेको स्थितीमा राजनीतिक उतार चढाव निम्त्याएको पनि भनाइ राख्नुभयो । यो अवस्थामा मुलुकलाई उकास्नै नसकिने गरि अनिर्णयको बन्दीमा जाकट राख्न नहुने र निकासको लागि चुनावमा जानै पर्ने बताउनुभयो ।

मन्त्री नेम्बाङले बिहीबार बिहान तमोर कोरीडोर अन्तर्गतको फिदिम माझीटार स्थित हेवाखोलामा निर्माणाधीन मोटर एवल पूलकोसमेत उद्घान गर्नुभयो । यही क्रममा मन्त्री नेम्बाङले राष्ट्रिय राजमार्गका रुपमा प्रवद्र्धन भइरहेका तमोर कोरीडोर र मध्यपहाडी पुष्पलाल मार्गले चाडै पूर्णता पाउने बताउनुभयो । वर्तमान सरकारले लिएको ‘सम्बृद्ध नेपाल, सुखी नेपाली’ नीतिलाई पूर्णता दिनमै आफूहरु केन्द्रित भइरहेको पनि उहाँले सुनाउनुभयो । सम्बृद्धिकै आधार निर्माणका लागि मुलुकमा धेरै पूर्वाधारका कामहरु गरिरहेको मन्त्री नेम्बाङले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?