logo
२०८१ बैशाख ७ शुक्रवार



तातोपानी कुण्ड स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन

प्रदेश |


तातोपानी कुण्ड स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन


अमृतप्रसाद पौडेल
बेनी, माघ १ गते । प्राकृतिक चिकित्सालयको रुपमा ख्यातीपाएको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्ड बिहीबार गतेदेखि स्वास्थ्य मापदण्ड पुरा गरेर सञ्चालनमा आएको छ ।
तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यका अनुसार राज्यले तोकेका सबै स्वास्थ्य मापदण्ड पूरा गरेर आजदेखि कुण्ड नियमित रुपमा सञ्चालनमा ल्याइएको छ । पहिलो दिन दिउँसो २ बजेसम्म बाह्य जिल्लाका ७० जना तातोपानी कुण्डमा नुहाउनका लागि आएको शाक्यले बताउनुभयो ।
कोरोना भाइरसको संक्रमणको डरले गर्दा गत चैतदेखि सरकारले घोषणा गरेको बन्दाबन्दीसँगै बन्द भएको कुण्ड नियमित सञ्चालनमा आए सँगै कुण्डमा नियमित रुपमा आउने बिरामी तथा तातोपानीका स्थानिय व्यवसायीहरु उत्साहीत भएका छन् ।
तातोपानी कुण्ड व्यवस्थापन समितिको बैठकले अब कुण्डलाई नियमित सञ्चालन गर्ने निर्णय गरी कुण्डको पोखरी लगायतका संरचनाको मर्मत तथा परीक्षण पछि आजबाट सञ्चालनमा आएको हो अध्यक्ष शाक्यले भन्नुभयो । उहाँले थप्नुभयो ‘जनस्वास्थ्यका मापदण्डको अनिवार्य प्रयोग गरेर मात्रै नुहाउने ब्यवस्था मिलाइएको छ, ।’
चर्मरोग तथा बाथ एवम् ग्यास्टीक रोगीहरुका लागि प्राकृतिक उपचारस्थल तातोपानी कुण्डमा सरकारले तोकेको स्वास्थ्य प्रोटोकल पूरा गरेर नियमित रुपमा सञ्चालन गरिन लागेको तातोपानी कुण्ड ब्यवस्थापन समितिले जनाएको छ ।
नियमित सञ्चालनमा आएपछि मानिसको चापलाई हेरेर कुण्डमा नुहाउन आउने विरामीलाई समयतालिका निर्धारण गरिने, अनिवार्य मास्कको प्रयोग गर्ने, कोरोनासँग मिल्ने लक्षण भएकालाई कुण्डमा नुहाउन नदिइने, बाहिर सेनिटाईजरको प्रयोग तथा नुहाउने समय समेत विगतमा भन्दा छोटो बनाउने गरी तयारी भइरहेको कुण्ड ब्यवस्थापन समितिले जनाएको छ ।
विदेशका ठूला तथा महंगो अस्पतालमा प्याथोलोजी र आयुर्वेदिक उपचार पद्धतिबाट समेत रोग निको नभएका ३० हजारभन्दा बढी बिरामी वार्षिक रुपमा तातोपानी आउने गर्दथे । मुहानबाटै ४५ देखि ५० डिग्री सेल्सियसको तापक्रममा निस्कने विरेनुन स्वादको तातोपानी आउने गरेको छ ।
कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यका अनुसार कुण्ड प्रवेश गर्नु पूर्व थर्मलगनबाट ज्वारो नापिने, कुण्डमा प्रयोग गर्ने बाल्टीन पहिला कुण्डले दिने गरेको भए पनि अब आफै ल्याउन पर्ने, विगतमा प्रति सिफ्ट ३ सय जना राख्ने गरिएकोमा अहिले ६० जना मात्रै राखिएको र भित्र प्रवेश गर्नु पूर्व हातखुट्टा राम्रो सँग धोएर सेनेटाइज गराएर मात्र प्रवेश गराइने व्यवस्था गरीएको छ ।
जमिनभित्रबाट बिरेनुनको गन्धसहित निस्कने तातातोपानीमामा नियमित नुहाउँदा छालासम्बन्धी रोग, ग्यास्टीक तथा अन्य बाह्य रोग निको हुने भएकाले वर्षेनी नुहाउनका लागि बिरामीहरु आउने गर्दछन् । गन्धक आँफैमा एक प्राकृतिक एन्टिवायोटिक भएको हुनाले कुण्डमा नुहाउँदा एक व्यक्तिमा भएको रोग अर्को व्यक्तिमा सर्ने सम्भावना कम हुन्छ । तर पनि कोभिड १९को संक्रमणको जोखिमलाई ध्यानमा राख्दै अहिले मास्कलाइ अनिवार्य गरिएको छ । विगतमा सामान्य अवस्थामा पनि मास्कको प्रयोगलाई जोड दिने गरेको भए पनि यस पटक अनिवार्य गरीएको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान शाक्यले बताउनुभयो ।
कुण्डमा ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्कीएको, पेट दुख्ने, खाना रुची नहुने लगायतका स्वास्थ्य समस्या भएका बिरामीको चाप धेरै हुने गर्दछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?