logo
२०८० चैत्र १५ बिहीवार



भारतमा उत्पादित खोप केही महिना निर्यात नगरिने

स्वास्थ्य |


भारतमा उत्पादित खोप केही महिना निर्यात नगरिने


इश्वरचन्द्र झा
काठमाडौं, पुस २० गते । भारतले आष्ट्रा जेनेकाको कोरोनाभाइरस विरुद्धको खोप केही महिनासम्म निर्यात नगर्ने भएको छ । भारतमा आष्ट्रा जेनेकाको खोप उत्पादनको जिम्मेवारी विश्वकै सबैभन्दा बढी खोप उत्पादन गर्ने सिरम इन्स्टिच्युट अफ इन्डियाले पाएको छ । सिरमले विकासशील राष्ट्रका लागि एक अर्ब खोप उत्पादन गर्नेछ ।
विश्वका अधिकांश विकसित राष्ट्रले कोरोनाविरुद्धको खोप पहिले नै आरक्षित गर्दा सिरम इन्स्टिच्युटका प्रमुख आदर पूणेवालाले सिरम इन्स्टिच्युटको उत्पादनको अधिकांश हिस्सा विकासशील राष्ट्रका लागि हुने बताउनुभएको हो ।
अशोसिएट प्रेससँगको टेलिफोन अन्तवार्तामा पूणेवालाले तात्काल निर्यातमा प्रतिबन्ध लगाइने बताउनुभयो । जसले गर्दा विपन्न राष्ट्रले खोपको पहिलो डोज पाउन अझै केही महिना कुर्नुपर्ने हुन्छ ।
सिरम इन्स्टिच्युटले उत्पादन गर्ने खोप आकस्मिक प्रयोगका लागि भारतको औषधी नियामक निकायले आइतबार अनुमति दिएको थियो । सरकारले सङ्क्रमणको जोखिममा रहेका भारतीय सुरक्षित नभएसम्म खोप निर्यात गर्न नहुने शर्त राखेर अनुमति दिएको सिरमका कार्यकारी प्रमुख पूणेवालाले बताउनुभयो ।
कम्पनीलाई निजी बजारमा खुला रुपले खोप बिक्री गर्न समेत प्रतिबन्ध लगाइएको छ । “तात्काल उक्त खोप मात्र भारत सरकारलाई दिने सहमति भएको छ ।”, पूणेवालाले बताउनुभयो । उक्त निर्णयले बजारमा खोप ‘होर्डिङ’ गर्न निरुत्साहित गर्ने विश्वास लिइएको छ ।
विश्वकै सबैभन्दा बढी खोप उत्पादन गर्ने कम्पनीसँग यस प्रकारको सहमतिले विश्व स्वास्थ्य संगठनको खोप गठबन्धन(गाभी)को निसङ्क्रमण कार्यक्रमलाई समेत प्रभावित बनाउनेछ । गाभीले कोरोनाविरुद्ध विभिन्न कम्पनीले उत्पादन गरेको खोपलाई कोभ्याक्स नाम दिएर विपन्न राष्ट्रसम्म पुर्याउने अभियान चलाउनेछ ।
कोभ्यास खोप मार्च वा अप्रिल महिनामा मात्रै गाभीले सिरम इन्स्टिच्युटको खोप प्राप्त गर्न पाउनेछ । सिरम इन्स्टिच्युटले करिब तीसदेखि चालीस करोड खोप विश्व स्वास्थ्य संगठनको गाभीलाई दिने सम्झौता ागर्ने तयारीमा रहेको छ । उक्त सम्झौता आष्ट्रा जेनेकाको उत्पादन र नोभाभाक्ससँग गरिएको दश करोड खोप आपूर्ति गर्ने सम्झौताभन्दा बाहिरको सहमति हो ।
उहाँले सिरम इन्स्टिच्युटले उत्पादन गरेको करीब दश करोड खोप भारत सरकारलाई विशेष मूल्यमा बिक्री गर्न लागिएको बताउनुभयो । जस अनुसार दश करोड खोप मात्र प्रति डोज दुई सय भारतीय रुपियाँमा सरकारले खरिद गर्नेछ । लगत्तै मूल्य बढाइनेछ ।
निजी बजारमा उक्त खोपको मूल्य करिब एक हजार भारतीय रुपियाँ हुनेछ । भारत सरकारले सम्झौता गरेको सात वा दशदिन भित्र राज्यभित्र खोप आपूर्ति हुने सिरमका प्रमुख पूणेवालाले जानकारी दिनुभयो । भारत र कोभ्याक्ससँग खोप वितरणको सन्तुलन बनाउने गरी सन् २०२१ को डिसेम्बर महिनासम्म कोभ्याक्सलाई बीसदेखि तीस करोड खोप आपूर्ति गरिनेछ । “हामी सबैलाई खोप दिन सक्दैनौं, तर प्राथमिकता निर्धारण गर्न सकिन्छ ।”
सिरम इन्स्टिच्युटले विभिन्न राष्ट्रलाई खोप बिक्री गर्न द्विपक्षीय सम्झौता गर्ने तयारी गरिरहेको छ । जस बमोजिम बङ्गलादेश, सऊदी अरेयिबा र मोरक्कोले खोप खरिद गर्ने तयारी गरिरहेको छ । सबै खोप उत्पादकले नियमित उत्पादन गरे पनि विश्व बजारमा आगामी वर्षसम्म खोपको अभाव रहिरहने पूणेवालाले दाबी गर्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?