logo
२०८१ बैशाख ७ शुक्रवार



कोरोना पोजिटिभले के खान हुन्छ, के खान हुँदैन

स्वास्थ्य |


कोरोना पोजिटिभले के खान हुन्छ, के खान हुँदैन


आर.बी बुढाथोकी
नोबल कोरोना भाइरसका कारण अहिले पनि विश्व आक्रान्त नै छ । सङ्क्रमितहरुको सङ्ख्या घट्नुभन्दा पनि बढिरहेको छ । सङ्क्रमितहरुले सेल्फ आइसोलेसनमा बसेको समयमा के कस्ता खाना खानुपर्ने भन्नेमा धेरैको अन्योल देखिन्छ । यो समयमा इम्युन सिस्टमलाई बलियो बनाउन पोषणयुक्त खाना खानुपर्ने पोषणविदहरूको भनाइ छ । यस्ता खालका द्विविधालाई निदान गर्न नेपाल सरकार स्वास्थ तथा जनसङ्ख्या मन्त्रालय पोषण शाखाले पोषण निर्देशिका पनि जारी गरेको छ ।
वुहानमा कोरोना महामारी अन्त्यका लागि के कस्ता पोषण प्रयोग गरियो, सङ्क्रमितहरूले के कस्ता पोषण सेवन गरेर कोरेनामुक्त्त भए सोको अध्ययन गरेर यो सङ्क्रमणको समयमा पोषण शाखाले पोषणसम्बन्धी राष्ट्रिय नीति, रणनीति, निर्देशिका, मापदण्ड, प्रोटोकलहरू तयार गर्न, पोषणसम्बन्धी सर्वेक्षण, अनुसन्धान कार्य गर्ने, पोषण प्रवर्द्धननको लागि बहुक्षेत्रीय समन्वय गर्ने, पोषण अवस्थाको विश्लेषण गरी राष्ट्रिय एवं प्रादेशिक नीति निर्माणमा प्राविधिक सहयोग गर्ने, पोषणसम्बन्धी राष्ट्रियस्तरका कार्यक्रमहरू निर्माण तथा कार्यान्वयन गर्न सहजीकरण गर्ने, प्रदेश स्थानीय तह तथा सरोकारवालाहरूसँग प्राविधिक विषयमा समन्वय तथा कार्यान्वयनमा सहजीकरण गर्ने कामका लागि मन्त्रालयलाई सहयोग गरिरहेको छ ।
नेपाल प्रहरी अस्पातल, महाराजगन्जमा कार्यरत पोषण विशेषज्ञ भूपाल बानियाँका अनुसार कोरेना पोजिटिभ भएर आइसोलेसनमा रहँदा धेरै कुरामा ध्यान दिनु जरुरी छ । भिटामिनयुक्त्त र प्रोटिनयुक्त्त खाना आफ्नो दैनिक आहारमा समावेश गर्नुपर्ने हुन्छ । यस्तो समयमा भिटामिन सी, भिटामिन डी युक्त्त खाना पर्याप्त खानुपर्ने हुन्छ जसका लागि अमिलो (सिट्रस) युक्त फलफूल र कागती, आँप, किवी, मेवा, भुईंकटहर, स्ट्रबेरी, क्यानबेरी, रसबेरी, खरबुजाजस्ता फल या यसको ताजा जुस खानुपर्ने हुन्छ । भिटामिन डी का लागि फ्याटी फिस (बोसिलो माछा), अण्डाको पहेँलो भाग, च्याउजस्ता खाना नियमित रुपमा खानुपर्ने हुन्छ र घाममा पनि केही समय बस्दा भिटामिन डी प्राप्त हुन्छ । यस्ता खालका खानाले शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढ्ने र कोरेना भाइरससँग लड्न मद्दत पुग्ने उहाँको भनाइ छ ।
भिटामिनका साथ साथै प्रोटिनयुक्त र जिङ्क पनि आहारमा समावेश गर्नुपर्ने जरुरी हुने हुँदा प्रोटिनका लागि अण्डा, मासु, चिज, पनीर, दही, बदाम, दूध, ब्रोकाउली, कुरिलो, गेडागुडी, फर्सीलगायत सब्जी तथा अन्नलाई आफ्नो दैनिक भोजनमा समावेश गर्नु राम्रो मानिएको छ । डार्क चकलेट, गेडागुडी, सामुन्द्रिक खाना, मासु, डेरी आइटम, हरियो साग सब्जीहरू पनि नियमित लिँदा जिङ्क पर्याप्त पाइने हुँदा नियमित लिनु राम्रो हुन्छ । यसबाहेक तुलसी, गुर्जु, बेसार, स्टार अनिस, लसुन, अदुवा, हर्बल चियाजस्ता प्राकृतिक जडीबुटीरूले पनि भाइरसविरुद्ध लड्न सहायता गर्ने हुँदा मात्रा मिलाएर लिँदा कुनै असर गर्दैन । तर यी चीजहरू विश्व स्वास्थ्य संगठनद्वारा प्रमाणित नभएका हुनाले आवश्यताभन्दा बढी भएमा अन्य समस्याहरू आउन सक्ने हुँदा चिकित्सक या आयुर्वेद विज्ञसँग सल्लाह गरेर मात्र खाँदा राम्रो हुन्छ । हाम्रो नेपाली समाजमा अहिले बेसार पानी र बेसार दूध खाने बानी बढ्दै गएको छ जसले अन्य साइड इफेक्ट हुन शुरु भएको छ । बेसार राम्रो चिज हो तर हामीले प्रायः सबै तरकारीमा हाल्ने हुनाले त्यसैबाट हामीलाई र कोरेना पोजिटिभहरूलाई पनि पर्याप्त हुने हुँदा बेग्लै खानु जरुरी नहुने पोषण विशेषज्ञ बानियाँको भनाइ छ ।
नोबल कोरोना भाइरसबाट कसरी आफू र अरुलाई बचाउने भन्ने विषयमा पोषण पनि एक महत्त्वपूर्ण विषय भएका कारण यसमा ध्यान दिनु पनि जरुरी छ । विश्व स्वास्थ्य संगठन युरोप रिजनलको गाइडलाइन अनुसार खाना पकाउँदा सुरक्षित तवरबाट बनाउनपर्ने, नुन, चिनी, चिल्लो सकेसम्म कम गरेर ताजा खाना खानुपर्ने उल्लेख गरिएको छ । सकेसम्म फाइबरयुक्त्त (चोकर भएको) खाने कुरा बढी प्रयोगमा ल्याउँदा राम्रो हुने उल्लेख छ ।
कोरेना सङ्क्रमितले कुनै पनि मादक पदार्थ, लागु पदार्थ, चुरोट सुर्ती पनि खान नहुने र अदतै छ भने पनि घटाउँदै जानुपर्ने भनिएको छ । सकेसम्म आफैँले पकाएको ताजा खाना खाने गरेमा पनि फाइदा पुर्याउँछ । एकै पटकभन्दा पटकपटक गरेर खाएको खानाले फाइदा पुर्याउँछ । पानी प्रशस्त पिउने र सकेसम्म शरीरलाई चिसो हुन नदिँदा राम्रो हुने विज्ञहरूको भनाइ छ ।
झोलिलो परिकारलाई प्राथमिकतामा राखेर मिल प्लान गर्दा उत्तम मानिन्छ प्रशोधन गरिएका पत्रु खाना बिल्कुल नखाने, संरक्षण गरेर राख्न प्रशोधन निर्माण गरिएको खाना नखाने, जस्तो कि तपाईंले ताजा एउटा गोलभेडा खानु र त्यति नै वजनको टोम्याटो पिउरी खानुमा त्यो ताजा टोम्याटोले फाइदा पुर्याउँछ । रोग प्रतिरोधात्मक शक्ति बढाउँछ ।
सरसफाइमा ध्यान दिँदै सङ्क्रमित सुत्केरी महिलाले आफ्नो बच्चालाई सङ्क्रमण नहुने उपायहरू अपनाएर दूध चुसाउन पनि सकिने कुरा विश्व स्वास्थ्य संगठनको गाइडलाइनभित्रको स्वस्थ घर बसाइ, स्वस्थ पोषण भन्ने विषयमा उल्लेख छ । सङ्क्रमित हुनबाट जोगिन र सङ्क्रमितहरूले पनि आफ्नो भोजन तयार गर्दा सफा र सुरक्षित पानीका साथै काँचो ताजा खाद्य सामाग्रीलाई प्रयोगमा ल्याउन विशेष प्राथमिकता दिनुपर्ने जरुरी पनि उल्लेख छ ।
थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट फुड इन्जिनिरिङ एन्ड बायो प्रोसेस टेक्नोलोजीमा स्नातकोत्तर गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा कार्यरत प्रतिभा श्रेष्ठ भन्नुहुन्छ, मैले विश्व स्वास्थ्य सङ्गठनको पोषणसम्बन्धी गाइडलाइन र नेपाल सरकारको कोरोना सङ्क्रमितका लागि तयार गरिएको पोषण निर्देशिका अनुरुप सन्तुलित आहार लिएका कारण सममै कोरोनालाई जित्न सकेँ ।
उहाँ कोरोना सङ्क्रमित हुँदा बिहानदेखि बेलुकासम्मको सन्तुलित आहारमा बिहान उठ्नासाथ हल्का शारीरिक अभ्यासपछि मनतातो पानी, त्यसपछि कागतीमा मह हालेको पानी पिउने, बिहानको खाजामा उसिनेको अण्डा, चिया, ब्राउन ब्रेड खाँदा राम्रो हुने, बिहानको खानामा गेडागुडीको दाल, ताजा मिक्स सब्जी, सलाद, ताजा मिक्स फल खाँदा उत्तम मान्नुहुन्छ । दिउँसोको खानामा अदुवा बेसार पानी, ग्रीन टी र ताजा स्वास्थ्यबर्द्धक खाजा लिँदा राम्रो हुन्छ। बेलुकाको खानामा ६ बजेतिर नै रोटी, दाल, मिक्स भेज र उसिनेको अण्डा गरी हलुका खाना खाँदा सहज र उत्तम हुन्छ । सुत्ने बेलामा एक गिलास बेसार दूध पिए निदाउँदा हुन्छ । क्याफोडेट कालेजमा खाद्य विज्ञानको प्रोफेसरसमेत रहनुभएको श्रेष्ठका अनुसार सन्तुलित आहारसँगै कोरोना सङ्क्रमितले नियमित हलुका व्यायाम पनि गर्नु जरुरी हुने बताउनुहुन्छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?