logo
२०८० चैत्र १५ बिहीवार



बाँकेका अस्पतालमा भर्ना भएका ४३ संक्रमितको अवस्था गम्भीर

स्वास्थ्य |


बाँकेका अस्पतालमा भर्ना भएका ४३ संक्रमितको अवस्था गम्भीर
भेरी अस्पतालको कोभिड वार्डमा उपचार गराउँदै गम्भीर संक्रमितहरु । तस्विर - सिराज खान । नेपालगञ्ज



सिराज खान
नेपालगञ्ज, मङ्सिर १३ गते । बाँकेमा हाल आएर संक्रमितको संख्या घट्दै गए पनि विभिन्न लक्षणका साथ संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना रहेका ४३ जना संक्रमितको अवस्था गम्भीर छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पताल नेपालगञ्जको कोभिड विशेष अस्पताल र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसोलेसन वार्डमा उपचार गराइरहनुभएका ९३ जनामध्ये ४३ जनाको अवस्था निकै जटिल र गम्भीर छ ।
बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले हाल भेरी विशेष कोरोना अस्पतालमा भर्ना भएका ६० जनामध्ये ३० जना र मेडिकल कलेज कोहलपुरमा भर्ना भएका ३३ जना मध्ये १३ जनाको अवस्था गम्भीर रहेको बताउनुभयो ।
उहाँले उनीहरुको उपचारका लागि दिनदिनै प्लाजमा समेत आवश्यक परेकोले प्लाज्मा दानका लागि आह्वान गर्ने काम निरन्तर गरिरहेको जानकारी दिनुभयो ।
गम्भीर अवस्थाका संक्रमितलाई आवश्यक पर्ने सबै प्रकारका उपचार पद्धति अपनाइने गरिएको अस्पतालले जनाएका छन् ।
त्यसैगरी लक्षण नदेखिएका बाँकेका १२८ जना संक्रमितहरु हाल होम आइसोलेसनमा रहेको पनि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
सो केन्द्रका अनुसार जिल्लामा हालसम्म तीन हजार ८४७ जनामा कोरोना संक्रमण देखिएकोमा तीन हजार ५८७ जना निको भएर घर फर्किसकेका छन् भने ३८ जनाको मृत्यु भैसकेको छ ।
जिल्लामा हाल २२२ जना सक्रिय संक्रमितहरुले विभिन्न आइसोलेसनमा स्वास्थ्यलाभ गरिरहेको पनि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?