logo
२०८० चैत्र १६ शुक्रवार



पहिलो एकदिवसीय खेलमा अष्ट्रेलियाद्वारा भारत ६६ रनले पराजित

खेलकुद |


पहिलो एकदिवसीय खेलमा अष्ट्रेलियाद्वारा भारत ६६ रनले पराजित
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर १२ गते । अष्ट्रेलियाले पहिलो अन्तर्राष्ट्रिय एकदिवसीइ खेलमा भारतलाई ६६ रनले हराएको छ । हारसँगै तीन म्याचको एकदिवसीय श्रृखंलामा भारत १–० ले पछाडी परेको छ ।
अष्ट्रेलियाले प्रस्तुत गरेको ३७५ रनको विशाल लक्ष्य पछ्याउँदै भारतले पुरा ५० ओभर खेलेपनि आठ विकेटको क्षतिमा मात्र ३०८ रन जोड्न सकेको थियो । विशाल योगफल पछ्याँदा भारत १४ औं ओभरमा मात्र १०१ रन जोड्दा चार महत्वपूर्ण विकेट गुमाउन पुग्यो । ओपनर शिखर धवनले हार्दिक पाण्ड्यासँग पाँचौं विकेटका लागि १२८ रनको साझेदारी गरेपनि जितका लागि अपर्याप्त रह्यो । धवन ७४ रन बनाएर पेभेलियन फर्किदा पाण्ड्या ९० रनको ब्यक्तिगत् योगफलमा एडम जाम्पाको शिकार हुनुभयो । छैठौं विकेटको रुपमा पाण्ड्याको पतन भएपछि भारतलाई ६७ बलमा एक सय २८ रन आवश्यक थियो । अष्ट्रेलियाका एडम जाम्पाले एकपछि अर्को विकेट लिएपछि लक्ष्य भेटाउन पुछारका भारतीय ब्याट्सम्यानका लागि असम्भव भयो ।
अष्ट्रेलियाका लागि एडम जाम्पाले मात्र ५४ रन खर्चेर सर्वाधिक चार विकेट लिनुभयो । तिब्र गतिका बलर जोश हयाज्लऊडले ५५ रन खर्चेर तीन विकेट लिदा मिसेल स्टार्कले ६५ रन खर्चिदै एक विकेट लिनुभयो ।
भारत विरुद्धको पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा अष्ट्रेलियाले विशाल योगफल तयार गरेको थियो । ५० ओभरमा अष्ट्रेलियाले छ विकेटको क्षतिमा ३७४ रनको योगफल तयार गर्यो । सिड्नीमा टस जितेर पहिला ब्याटिंग रोजेको अष्ट्रेलियाका लागि कप्तान आरोन फिञ्चले देविड वार्नरसँग १५६ रनको ओपनिंग साझेदारी गरेर उत्कृष्ट सुरुवात दिलाउनुभयो ।
वार्नर ६९ रन बनाएर पेभेलियन फर्किदा आरोन फिञ्चले दोस्रो विकेटका लागि स्टिभ स्मिथसँग १०८ रनको साझेदारी गर्नुभयो । स्मिथ र फिञ्च दुबैले शतक लगाए । फिञ्च ११४ र स्मिथ १०५ रन बनाए । ४४ ओभरमा मात्र तीन विकेटको क्षतिमा ३२८ रन जोडेको अष्ट्रेलियाले बाँकीको छ ओभरमा चार सय रनको योगफल तयार गर्ने अपेक्षा गरिएको थियो । तर छ ओभरमा लगालग चार विकेट झरेपछि उसको पारी ३७४ रनमा सीमित हुन पुग्यो ।
इन्डियन प्रिमियर लिगको पुरै खेलमा मात्र १०८ रन बनाउन सकेका ग्लैन म्याक्सवैल भारत विरुद्धको पहिलो खेलमै मात्र १९ बलमा पाँच चौका र तीन छक्का लगाएर ४५ रनको विष्फोटक पारी खेल्नुभयो । मार्कस स्टोइनिस भने युज्वेन्द्र चाहलको बलमा खाता नखोल्दै पेभेलियन फर्किनुभयो । एलेक्स कैरिले १७ रन बनाएर अविजित रहनुभयो ।
भारतका लागि मोहम्मद सामीले सर्वाधिक तीन तथा जसप्रित बुमराह, नवदीप सैनी र युज्वेन्द्र चाहलले सामान एक एक विकेट लिए । चाहलले १० ओभरमा ८९ रन खर्चिदा सैनीले ८३ तथा मोहम्मद सामीले ५९ र बुमराहले ७३ रन खर्चिए । रबिन्दर जडेजाले दश ओभरमा मात्र ६३ रन खर्चेपनि विकेटविहीन हुनुपर्यो ।
दुई टोलीबीचको दोस्रो एकदिवसीय खेल सिड्नीमै आइतबार बिहान खेलाइनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?