logo
२०८० चैत्र १५ बिहीवार



जोगिएर सहरको सरसफाइ

मुख्य समाचार |


जोगिएर सहरको सरसफाइ


चाँदनी हमाल

काठमाडौँ, कात्तिक १६ गते । राजधानीका विकुप्रसाद पुजारी फोहोर सङ्कलन गर्न दिनहुँजसो बागबजार, मैतीदेवी, डिल्लीबजार, बानेश्वर र सिनामङ्गल क्षेत्रका टोल टोल पुग्नुहुन्छ । “फोहोरमा खुला मास्क, पञ्जा देखेपछि भाइरस पो छ कि भनेर हरेकपल्ट मन चसक्क हुन्छ तर काम हो, उठाउनै प¥यो, उठाइन्छ,” उहाँले भन्नुभयो । बन्दाबन्दीपछि उहाँ पीपीई, बुट र पञ्जा अनिवार्य लगाएर फोहोर उठाउनुहुन्छ ।
यतिबेला कोरोना भाइरस (कोभिड–१९) को महामारी व्यापक रूपमा देशभर फैलिएको छ । उहाँजस्तै झन्डै तीन हजार तीन सय सरसफाइकर्मी यसैगरी जोखिम मोलेर काठमाडौँ उपत्यकामा सङ्क्रमित र आम मानिसले उब्जाएका फोहोर बटुलिरहेका छन् ।
भाइरसबाट बच्न सबै निकायमा कतिपयले आलोपालो र कतिपयले घरबाटै काम गर्ने चलन चलाएको छ । तर अत्यावश्यक सेवाभित्र पर्ने सरसफाइ र फोहोर उठाउनेको काम निरन्तर जारी छ । तीन महिनाको बन्दाबन्दी होस् वा अहिलेको उच्च महामारीमा समेत उच्च जोखिम मोलेर सरसफाइ कर्मचारी ‘फ्रन्ट लाइन’मा सक्रिय छन् । आफू बच्दै समाज र नगरवासीलाई फोहोरको सङ्क्रमणबाट हुने विभिन्न रोगको जोखिमबाट सरसफाइकर्मीले बचाइरहेका छन् । सरसफाइकर्मी नहुँदा हुन् त महामारीको यो बखतमा सहर फोहोर र अन्य महामारीको घर बनिसकेको हुने थियो ।
त्यसै पनि कोरोना भाइरसको महामारी फैलिरहेको बेला नगर, टोल सफा राख्नुपर्ने हुन्छ । नत्र कोरोनासँगै अनेक रोगको अर्को महामारीले मानिसको थप ज्यान लिन सक्ने उहाँ औँल्याउनुहुन्छ । यस्तोमा आफू बचेर अरूलाई बचाउँदै काम गर्नुपर्ने दोहोरो जिम्मेवारी सरसफाइ कर्मचारीमा आइपरेको पुजारी बताउनुहुन्छ । उहाँ बीएन्डपी कम्पनीका तर्फबाट फोहोर सङ्कलन गर्नुहुन्छ । काठमाडौँ, ललितपुर महानगरपालिका र भक्तपुरका विभिन्न नगरपालिकासँगको समन्वयमा सार्वजनिक– निजी साझेदारीको अवधारणा अनुसार फोहोर सङ्कलन गरिँदै आएको उहाँ बताउनुुहुुन्छ ।
नेपालमा महामारीको सुरु भएसँगै पीसीआर परीक्षण गरे पनि सङ्क्रमणले उहाँलाई भेटेको छैन । उहाँका अनुसार घरघरबाट फोहोर उठाउने क्रममै सतर्क रहेर उठाइन्छ । पहिले पहिले घरभित्रै पुगेर ल्याउने गरिन्थ्यो, अचेल सिटी फुकेर बाहिर ल्याउन भनिन्छ । ल्याउने वित्तिकै फोहोर उठाइँदैन, केहीबेर घाममा राखेपछि बल्ल गाडीमा राखिन्छ ।
फोहोर फालेर फर्केपछि लगाएको पीपीई फुकालेर छुट्टै राखिन्छ । अनि साबुनपानीले सफा गरेर मात्र भित्र परिवारको सम्पर्कमा जाने चलन सरसफाइकर्मीले बसालेका छन् । सरसफाइकर्मीलाई प्रोत्साहन गर्न फोहोर व्यवस्थापन कम्पनीका मालिकहरू अचेल साथै हिँड्छन्, सँगै काम गर्छन् । आफ्नै कम्पनीमा सँगै खाना खान्छन् । उहाँको कम्पनीका १६ जना दिनहुँ गाडीमा फोहोर सङ्कलनका लागि हिँड्छन् । अन्य करिब १५ जना भने सडकमा बिहान कुचो लाउने र सरसफाइ गर्न सक्रिय रहन्छन् । उहाँको टोलीले दिनको तीन गाडी फोहोर उठाउँछ ।
काठमाडौँ उपत्यकाभरि सरसफाइका लागि साना ठूला गरी ९२ वटा सरसफाइ कम्पनी छन् । उपत्यकाको सरसरफाइकर्मी र कम्पनीको छाता सङ्गठन फोहोरमैला व्यवस्थापन सङ्घका अध्यक्ष धु्रव आचार्य जोखिम मोलेरै भए पनि सरसफाइको काम भइरहेको बताउनुुहुन्छ । समय कठिन छ तर व्यक्तिगत सुरक्षामा ध्यान दिएर गर्नुपर्ने जरुरी उहाँ औँल्याउनुहुन्छ । कोरोना भाइरस सङ्क्रमण सुरु भएकै बेलादेखि सबै संस्था र सरसफाइकर्मीलाई जोखिमबाट जोगिने तालिम दिएको उहाँले बताउनुभयो । “सबै मानिस घरभित्र बन्दाबन्दीमा बसेका बेला परिचालन गर्न कठिन भएको थियो तर परामर्श दिएर सरसफाइमा सक्रिय पारेका हौँ”, उहाँले सुनाउनुभयो । त्यसको परिणाम सहर, टोल र समुदायको सफा मुहारले देखाइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?