logo
२०८० चैत्र १५ बिहीवार



अधिकांश शक्तिपीठमा मन्दिर बाहिरैबाट दर्शन

राष्ट्रिय |


अधिकांश शक्तिपीठमा मन्दिर बाहिरैबाट दर्शन


पूर्णप्रसाद मिश्र 

काठमाडौँ, कात्तिक ८  गते। नवरात्रका अवसरमा राजधानीका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरेकामा यो वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण धेरै मन्दिर बन्द छन् । प्रसिद्ध शक्तिपीठका रुपमा रहेको पशुपतिक्षेत्रको गुह्येश्वरी मन्दिर चैतदेखि नै बन्द छ । नवरात्रका अवसरमा पनि मन्दिर नखुलेपछि यस वर्ष केही भक्तजनले बाहिरबाटै दर्शन गरेको काठमाडौँ महानगरपालिका–८ का वडाध्यक्ष दिनेशकुमार डङ्गोलले राससलाई जानकारी दिनुभयो ।    
    
 यसैगरी पशुपतिक्षेत्रकै जयवागेश्वरीलगायत शक्तिपीठमा पनि बाहिरबाटै भक्तजनले दर्शन गरिरहेका छन् । भौतिक दूरी कायम गरेर आज बिहानसम्म मैतीदेवी मन्दिर प्रबन्ध समितिले निर्णय गरी खुला गरिएको थियो । आज बिहान सात बजेपछि भने प्रहरीले माथिको आदेश छ भन्दै मन्दिर बन्द गरेको महानगरपालिका–३० का वडाध्यक्ष समेत रहनुभएका मन्दिर प्रबन्ध समितिका अध्यक्ष दलबहादुर कार्कीले बताउनुभयो ।    
    
 मन्दिरमा साङ्लो लगाएर एक÷एक जना मात्र दर्शन गर्ने व्यवस्था मिलाइएको समितिले जनाएको छ । प्रहरीले मन्दिर बन्द गराएपछि भक्तजनले बाहिरबाटै दर्शन गरी फर्किने गरेका छन् । महानगरपालिका–२९ स्थित कालिकास्थान मन्दिर भने भौतिक दूरी कायम गरेर खुला राखिएको अध्यक्ष कुश ढकालले बताउनुभयो । मन्दिरमा स्थानीय भक्तजनमात्र आउने भएकाले एक एक गरी दर्शन गर्न दिइएको छ । स्वयंसेवक खटाएर भक्तजनलाई दुई मिटरको दूरीमा राखी सुरक्षित रुपमा पूजा आराधना एवं दर्शन गर्ने व्यवस्था मिलाइएको कालिकास्थान मन्दिर व्यवस्थापन समितिका सचिव हरि लामाले जानकारी दिनुभयो ।    
    
 महानगरपालिका–११ स्थित भद्रकाली मन्दिर भक्तजनका लागि बन्द गरिएको वडा अध्यक्ष हीरालाल तण्डुकारले बताउनुभयो । बन्द गरिए पनि केही भक्तजन भने दर्शन एवं सवारी साधन पूजा गर्ने भन्दै भद्रकाली परिसरमा जम्मा भएका छन् । यसैगरी वडा नं.२२ मा पर्ने सङ्कटा मन्दिर पनि बन्द गरिएको छ । कोरोनाको सङ्क्रमण फैलिने खतरा देखिएकाले नित्य पूजाबाहेक सबै भीडभाड बन्द गरिएको वडाध्यक्ष चिनीकाजी महर्जनले बताउनुभयो ।    
    
 यसैगरी प्रत्येक हप्ता शनिबार साढेसाती एवं शनिको अढैया भएकाको भीड लाग्ने महाङ्काल मन्दिर पनि बन्द गरिएको वडा कार्यालयले जनाएको छ । काठमाडौं महानगरपालिका–१ स्थित चार भगवतीमध्येको एक नक्साल भगवती मन्दिर पनि मूल ढोकामै ताला लगाई बन्द गरिएको छ । मन्दिर परिसरमा आउने भक्तजन सडकबाटै दर्शन गरेर हिँड्ने गरेको वडाध्यक्ष भरतलाल श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै वडा नं. १५ मा पर्ने शोभा भगवती मन्दिरमा भने मूल ढोकासम्म पुगेर दर्शन गर्ने व्यवस्था मिलाइएको स्वयंसेवक राजाराम कपालीले बताउनुभयो ।

मन्दिरमा शुक्रबारभन्दा बिहीबार बढी भक्तजन लाम लागेका थिए ।  यसैगरी विष्णुमती नदी किनारमा रहेको कङ्केश्वरी मन्दिरमा पनि दूरी कायम गरी दर्शन गर्न दिइएको छ । त्यस क्षेत्रका रक्तकाली, श्वेतकाली, बिजेश्वरीलगायत मन्दिरमा दुरी कायम गर्दै सीमित भक्तजनलाई दर्शन गर्न दिइएको १९ नं. वडा नागरिक मञ्चका अध्यक्ष सुमन खड्गीले बताउनुभयो ।

त्यस्तै राजधानीको उत्तरपूर्वी भेगस्थित शङ्खरापुर नगरपालिका–८ स्थित प्रसिद्ध बज्रयोगिनी मन्दिर पनि भक्तजनको भीड बढ्न थालेपछि बिहीबारदेखि सूचना प्रकाशन गरी बन्द गरिएको नगर प्रवक्ता समेत रहनुभएका वडाध्यक्ष हितमान तामाङले बताउनुभयो । मन्दिर बन्द भएपछि त्यहाँ पुग्ने भक्तजन बाहिरबाट दर्शन गरेर फर्कने गरेका छन् । मन्दिरमा फूलपातीदेखि महानवमीसम्म बढी भीड लाग्ने गर्दछ । मन्दिर महानवमीसम्मका लागि बन्द गरिएको छ ।     
    
 यसैगरी गोकर्णेश्वर नगरपालिका– ५ स्थित चामुण्डा मन्दिर भने दूरी कायम गरी खोलिएको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र गोकर्णेश्वर–१ मा पर्ने सुन्दरीमाई मन्दिर पनि खुला छ । भक्तजन आफैँ दूरी कायम गर्दै दर्शन गरेर फर्कने गरेका छन् । मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि भक्तजन लाममा बसेका छन् ।    
    
 दक्षिणकाली नगरपालिका–६ स्थित प्रसिद्ध दक्षिणकाली मन्दिर पनि बन्द गरिएको उपप्रमुख वसन्ती डङ्गोल तामाङले जानकारी दिनुभयो । मन्दिर पुग्ने भक्तजन भने बाहिरबाटै दर्शन गरेर फर्कने गरेका छन् । खोलिएका मन्दिरमा पनि बली पूजा भने स्थगित गरिएको छ । बन्द गरिएका शक्तिपीठमा पनि पुजारीले नित्य पूजालाई भने निरन्तरता दिएको छ ।    
    
 प्रत्येक वर्ष शारदीय नवरात्रको फूलपातीदेखि महानवमीसम्म देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरेको छ । यस वर्ष भने कोरोना भाइरसको सङ्क्रमणका कारण घरमै बसेर वैदिक सनातन हिन्दू धर्मावलम्बीले दुर्गा भवानीको उपासना गरेका छन् ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?