logo
२०८० चैत्र १६ शुक्रवार



भारतमा रोजगारीका लागि गएका १८ जना बालकको उद्धार, चार गिरफ्तार

खुला |


भारतमा रोजगारीका लागि गएका १८ जना बालकको उद्धार, चार गिरफ्तार



ज्ञानु पंगेनी
कावासोती , कात्तिक ४ गते । नवलपरासी पूर्व (नवलपुरका ) १८ जना बालकको उद्धार गरिएको छ । उद्धार गरिएका बालकलाई मंगलबार जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले अभिभावकको जिम्मा लगाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वको प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार वैदेशिक रोजगारीका लागि भन्दै भारत पु¥याइएका १८ नेपाली बालकलाई भारतीय प्रहरीले नेपाल फर्काइदिएको हो । भारतमा रोजगारीका लागि लगिएका ती बालकहरुको भारतको गाजियाबादबाट उद्धार गरेर भारतले सुनौली नाका हुँदै नेपाल ल्याएर रुपन्देही प्रहरीलाई बुझाएको हो । उनीहरु १४ देखि १८ वर्ष उमेर समूहका रहेको प्रहरी उपरीक्षक मल्लले जानकारी दिनुभयो ।

उनीहरु जिल्लाको मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकाका बालक रहेको मल्लले जानकारी दिनुभएको छ । उनीहरुलाई भारतमा आकर्षक रोजगारी दिने भन्दै एउटै गाडीमा राखेर अघिल्लो साता भारतको गाजियाबाद लगिएको थियो । त्यहाँको प्रहरीले बालकहरुको उद्धार गरेर दिल्ली प्रहरीलाई बुझाएको हो । उनीहरु गाजियाबादमा गाडीमा गइरहेको बेला प्रहरीले उद्धार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मल्लले बताउनुभयो ।

नेपालको महिला बालबालिका मन्त्रालयका प्रतिनिधिको रोहबरमा उनीहरुलाई भारतीय प्रहरीले जिम्मा लगाएर नवलपुर ल्याएको हो । उनीहरुलाई भारत लैजाने चार जनालाई पनि प्रहरीले समातेर ल्याएको छ । ‘आफन्त नेपाल’ भन्ने संस्थाको सहयोगमा ती बालकलाई भारतको गाजियाबादमा उद्धार गरिएको मल्लको भनाइ छ । उक्त संस्था भारतमा पनि कार्यरत रहेको र एउटै गाडीमा धेरै बालकलाई देखेर प्रहरीले सोधपुछ गर्दा रोजगारीका लागि गएको भन्ने बुझिएपछि भारतीय प्रहरीले आफन्त नेपाल भन्ने संस्थामार्फत् बालकलाई नेपाल पठाएको हो । घटना बारे थप अनुसन्धान भइरहेको समेत उहाँले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?