logo
२०८० चैत्र १५ बिहीवार



रुद्राक्षको लगानी डुब्ने चिन्ता

अर्थ |


रुद्राक्षको लगानी डुब्ने चिन्ता



ध्यान कुलुङ

सङ्खुवासभा, असोज ७ गते । अरुण उपत्यका क्षेत्रको मुख्य आम्दानीको स्रोत रुद्राक्षको कारोबारमा समस्या आउने देखिएको छ । बन्दाबन्दीका कारण खरिदकर्ता आउन नपाएपछि यस वर्षको रुद्राक्ष व्यापार नहुने देखिएको हो ।
चिनियाँ र भारतीय खरिदकर्ता यस वर्ष आउने सम्भावना नरहेको रुद्राक्ष व्यवसायीले बताउँदै आएका छन् । विदेशी खरिदकर्ता आउने सम्भावना कम हुँदा करोडौँको लगानी डुब्ने सम्भावना बढेको रुद्राक्ष व्यवसायी सङ्घ सङ्खुवासभाका अध्यक्ष चक्रबहादुर विशुङ्खेले बताउनुभयो । उहाँका अनुसार अघिल्लो वर्ष असार अन्तिमदेखि नै चिनियाँ व्यापारी जिल्ला आइसकेका थिए । यस वर्ष भने रुद्राक्ष टिप्ने बेला हुन लाग्दासमेत सम्पर्कमै नरहेको अध्यक्ष विशुङ्खेले बताउनुभयो ।
अधिकांश रुद्राक्ष व्यवसायीले अग्रिम भुक्तानी गरेर कृषकको वगान नै ठेक्कामा लिएका हुन्छन् । आवधिक रूपमा एकै बोटको लाखौँ रुपियाँ तिरेका व्यवसायीमा रुद्राक्ष बिक्री नहुने चिन्ता बढेको छ । ठेक्का लिएको वगानमा गुणस्तरीय रुद्राक्ष फलाउन आफ्नै लगानीमा औषधिसमेत लगाएका छन् । यसरी औषधि लगाउँदा ठेक्का रकममा दोब्बर खर्च बढेको छ । अघिल्ला वर्षभन्दा बढी लगानी भएको रुद्राक्ष यस वर्ष नबिक्ने सम्भावना
बढेको हो ।
अधिक वर्षाका कारण यसै पनि यस वर्ष अधिकांश बोटमा रुद्राक्ष अडिएको छैन । तीन सय बोट ठेक्का लिएकोमध्ये आधाजसो मात्र अडिएको खाँदबारी–८ का व्यवसायी कमल कटुवालले बताउनुभयो । ठेक्का लिएको बोटमा ३० लाख रुपियाँ बराबरको औषधि लगाएको बताउँदै उहाँले रुद्राक्ष नबिके करोडभन्दा बढी नोक्सानी बेहोर्नुपर्ने बताउनुभयो ।
गत वर्ष सङ्खुवासभामा मात्र करिब दुई अर्बको कारोबार भएको रुद्राक्ष अध्यक्ष विशुङ्खेले जानकारी दिनुभयो । व्यवसायीले गरेको कारोबारको विवरण सङ्घमा नआए पनि बाहिरी कारोबार हेर्दा दुई करोडभन्दा कारोबार नघटेको अध्यक्ष विशुङ्खेले दाबी गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?