logo
२०८१ बैशाख ११ मंगलवार



कोरोना सङ्क्रमण रोक्न निषेधाज्ञाः हेटौँडासहित पूर्वपश्चिम राजमार्ग क्षेत्र सुनसान

फिचर |
पढ्नै पर्ने |


कोरोना सङ्क्रमण रोक्न निषेधाज्ञाः हेटौँडासहित पूर्वपश्चिम राजमार्ग क्षेत्र सुनसान


राममणि दाहाल

हेटौँडा, साउन २७ गते । मकवानपुर जिल्लामा कोभिड १९ को सङ्क्रमण समुदायस्तरमा फैलनसक्ने उच्च जोखिम बढ्दैगएको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिकासहित पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेपछि मङ्गलबार बिहानैबाट हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाअन्तर्गत पर्ने राजमार्ग क्षेत्र सुनसान बनेको छ ।

सोमबार राति १२ बजेदेखि साउन ३२ गते राति १२ सम्म लागू हुने गरी हेटौँडा उपमहानगरपालिकाको सबै क्षेत्र र मनहरी गाउँपालिकाको पूर्व–पश्चिम (महेन्द्र राजमार्ग) को दायाँ–बायाँ पाँच–पाँच सय मिटरको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।

निषेधाज्ञा जारी भएपछि उपमहानगर र मनहरीको राजमार्ग क्षेत्रका औषधीबाहेकका पसल, व्यवसायहरू बन्द छन् । नागरिकको सहजताका लागि खाद्यान्न र तरकारीका पसलहरू बिहान ५ बजेबाट ९ बजेसम्म सञ्चालन गर्न दिइएको छ । छोटा तथा लामो दुरीका सार्वजनिक तथा निजी सवारीका साधनहरू ठप्प छन् भने खाद्यान्नलगायत अत्यावश्यक सेवाका सीमित सवारी साधनमात्र चलेका छन् ।

साथै सर्वासाधारणलाई घरबाट सडकमा निस्कन रोक लगाइएको छ । राजमार्गसहित चोकहरूमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । उद्योग, कलकारखाना, बैङ्क तथा वित्तीय संस्था बन्द छन् ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जिल्लामा पछिल्लो सङ्क्रमणको अवस्था हेर्दा कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा नै फैलिनसक्ने देखिएकोले निषेधाज्ञा जारी गरिएको जानकारी दिनुभयो ।

खाद्य वस्तु खरिद र स्वास्थ्य उपचारबाहेक काममा कुनै पनि काममा कुनै पनि व्यक्ति घर बाहिर निस्कन र धार्मिक, साँस्कृतिक, सामाजिक (विवाह, व्रतबन्ध) लगायतका कुनै प्रकारका जमघट तथा भेला हुने सबै प्रकारका क्रियाकलाप सञ्चालनमा प्रशासनले रोक लगाइएको छ ।

अत्यावश्यक उपभोग्य वस्तु बिक्री गर्ने खाद्यान्न पसल, पेट्रोल पम्प, ग्यास डिपो, औषधी पसलबाहेक सम्पूर्ण पसल, उद्योग, व्यवसाय सञ्चालनमा रोक लगाइएको निषेधाज्ञा सूचनामा उल्लेख छ । स्वास्थ्य सेवा र अत्यावश्यक सेवाका कार्यालयहरूबाहेक सबै सरकारी तथा निजी कार्यालयहरू, गैरसरकारी, बैङ्क तथा वित्तीय संस्थाहरू, सहकारीबाट प्रदान गरिने जनसम्पर्क हुने नियमित सेवा सञ्चालनमा रोक लगाइएका कारण सञ्चालनमा आएका छैनन् ।

प्रमुख जिल्ला अधिकारी नेपालले जिल्लाको निषेधित क्षेत्र बाहेकका स्थानमा धार्मिक, साँस्कृतिक, सामाजिक (विवाह, ब्रतबन्ध) लगायतका कुनै प्रकारका जमघट तथा भेला हुने सबै प्रकारका क्रियाकलाप सञ्चालनमा बन्देज लगाइएको बताउनुभयो ।

जिल्लाका सबै नाकाहरूबाट अत्यावश्यक सेवा सवारी साधन, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयहरूबाट अनुमति प्राप्त बाहेकका सवारीसाधनहरू तथा पैदल आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको जारी सूचनामा उल्लेख छ ।

जिल्लाभित्र पर्ने पूर्व–पश्चिम राजमार्गलगायतका अन्य मूल सडकमा बालवाहक ढुवानीका साधनहरू सञ्चालन गर्न सकिने मकवानपुर प्रशासनद्वारा जारी निषेधाज्ञा सूचनामा भनिएको छ ।
जिल्ला सुरक्षा समिति मकवानपुरको सोमबार बसेको बैठकले जिल्लामा कोभिड–१९ को सङ्क्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि भन्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?