logo
२०८१ बैशाख ११ मंगलवार



उपत्यकामा तीनवटा जिल्ला प्रशासन कार्यालयले दिने अत्यावश्यक बाहेकका सेवा बन्द

मुख्य समाचार |


उपत्यकामा तीनवटा जिल्ला प्रशासन कार्यालयले दिने  अत्यावश्यक बाहेकका सेवा बन्द


देवबहादुुर कुुँवर

काठमाडौँ, साउन २४ गते । काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमण अप्रत्याशित ढङ्गले बढेपछि काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवा १५ दिनका लागि स्थगित गरिएको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र उच्च सुरक्षा अधिकारी सम्मिलित शुक्रबारको बैठकले साउन २५ गते आइतबारदेखि भदौ ८ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।
कोरोना सङ्क्रमण नियन्त्रण गर्न आवश्यक सतर्कता अपनाउँदा–अपनाउँदै पनि कार्यालयमा सेवाग्राहीको अत्यधिक भीड लागेकाले जोखिम बढेसँंगै शान्तिसुरक्षा, मुद्दा, अत्यावश्यक सवारी पास र विपद् व्यवस्थापन बाहेक अन्य काम स्थगित गरिएको काठमाडौँका प्रजिअ दाहालले जानकारी दिनुुभयो ।
करिब तीन महिना लामो बन्दाबन्दी अन्त्य गरी सार्वजनिक सेवा प्रवाह सुचारु गर्ने–गराउने सरकारको निर्णय अनुसार असार १ गतेदेखि जिल्ला प्रशासन कार्यालयबाट सम्पूर्ण सेवा नियमित गरिएको स्मरण गराउँदै उहाँले नागरिकको स्वास्थ्य सुरक्षा गर्न सो निर्णय गरेको स्पष्ट पार्नुभयो । जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने नागरिकता, प्रतिलिपि, हातहतियार दर्ता तथा नवीकरण, संस्था दर्ता, राहदानी, नाबालक परिचय पत्र लगायतका सम्पूर्ण सेवा स्थगित गरिएका छन् । अत्यावश्यक सेवाग्राहीलाई मास्क, सामाजिक दूरी र सेनिटाइजर प्रयोग गर्न अनिवार्य गरिएको छ ।
अनावश्यक भीडभाड नगरी सामाजिक तथा भौतिक दूरी कायम राखी गफगाफ तथा आवतजावत गर्न र कोरोना सङ्क्रमणको शङ्का लागेमा स्वास्थ्य संस्थामा गएर परीक्षण गराउन अपिल गरिएको छ । स्वास्थ्य सतर्कता नअपनाउनेलाई सङ्क्रामक रोग ऐन, २०२० अनुसार कानुनी कारबाहीको चेतावनी दिइएको छ ।
गृह मन्त्रालयद्वारा जारी गरिएको बन्दाबन्दी व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड, २०७७ अनुसार आवतजावत गर्दा, कार्यस्थलमा कार्यरत रहँदा न्यूनतम दुई मिटरको सामाजिक दूरी कायम राख्न, आवतजावत गर्दा तथा कार्यस्थलमा रहँदा मास्क र सेनिटाइजर प्रयोग गर्ने जस्ता मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरिएको छ ।
उपत्यकाका प्रमुख जिल्ला अधिकारी र उपत्यकामा तैनाथ सुरक्षा अधिकारी सहितको बैठकले सङ्क्रामक रोग ऐन, २०२० अनुसार सङ्क्रामक रोग सम्बन्धी स्वास्थ्य मापदण्ड नअपनाउनेलाई कारबाहीको चेतावनी
दिइएको छ ।
ललितपुरका प्रजिअ भट्टले अनावश्यक भीडभाड, सेवाग्राहीले गर्ने सामान्य लापरबाही र उपत्यका प्रवेश नाकामा स्वास्थ्य तथा सुरक्षा सतर्कता नअपनाउँदा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको प्रतिक्रिया दिनुभयो ।
यसका लागि सुरक्षा निकाय सँंगको समन्वयमा बजार, पसल, रेस्टुराँ, सपिङ मल, सरकारी तथा गैरसरकारी कार्यालय, सैलुन पसल ब्युटीपार्लर, स्पा, बर्थ डे पार्टी, भोज, समूहगत भेटघाट लगायत नागरिकको बाक्लो भीडभाड हुने स्थानको निरीक्षण तथा मापदण्ड पूरा गरे नगरेको अनुगमनको तयारी गरिएको छ ।
त्यस्तै कोरोना सङ्क्रमण देखिएका स्थान तथा बस्ती ‘सिल’ गर्ने व्यवस्थाका सम्बन्धमा गृह मन्त्रालय मार्फत कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा आवश्यक प्रस्ताव गरिएको छ । उपत्यकाका निजी अस्पताललाई ‘आइसोलेसन’मा रूपान्तरण गर्न पनि आग्रह गरिएको छ ।
उपत्यका प्रवेश गर्ने सम्पूर्ण सीमा नाका तथा जोर–बिजोर सवारी सञ्चालनमा कडाइ गर्ने तयारी गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख विश्वराज पोखरेलले बताउनुभयो । सङ्क्रमण देखिएका स्थानमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सँगको समन्वयमा सिल गरी परीक्षण बढाउने र बजार तथा पसलमा लाग्ने अनावश्यक भीडभाड रोक्ने तयारी गरिएको छ ।
सार्वजनिक यातायातका साधनमा चालक तथा सहचालकका लागि स्वास्थ्य मापदण्ड अनुसार उपकरणको प्रयोग, यात्रुलाई सिटमा दूरी कायम राख्नेदेखि मास्कको प्रयोग अनिवार्य गरिएको छ ।
अन्य सरकारी तथा गैरसरकारी कार्यालयमा लाग्ने भीडभाड नियन्त्रण गर्न अत्यावश्यक बाहेक अन्य सेवा कटौती गरी कोरोना सङ्क्रमणबाट जोगिने उपाय अवलम्बन गर्नसमेत छलफल भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोना सङ्क्रमणका कारण हालसम्म काठमाडाँैंमा ६७४, ललितपुरमा १२४ र भक्तपुरमा ७८ जना प्रभावित भएका छन् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?