logo
२०८० चैत्र १५ बिहीवार



डिभिजन वन प्रमुख सङ्क्रमित, नेगेटिभ देखिएको पाँच दिनपछि लक्षण

स्वास्थ्य |
प्रदेश |


डिभिजन वन प्रमुख सङ्क्रमित, नेगेटिभ देखिएको पाँच दिनपछि लक्षण


नवराज कट्टेल
विराटनगर, साउन २३ गते । पाँच दिनअघि गत साउन १६ गते कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि ढुक्क हुनुभएका डिभिजन वन कार्यालय, मोरङका प्रमुख विशाल घिमिरेको साउन २१ गते गरिएको परीक्षणमा कोरोना भाइरस (कोभिड–१९) रिपोर्ट पोजिटिभ आयो ।

शरीरका जोर्नीहरू दुख्ने र हल्का ज्वरो आएपछि कोशी अस्पताल विराटनगरमा उहाँले स्वाब सङ्कलन गराउनुभएको थियो । 'अचम्ममा छु । पाँच दिनको अन्तरमा नै सङ्क्रमित भएँ, कसरी सर्यो ?' डिभिजन प्रमुख घिमिरेले भन्नुभयो, 'समुदायमा रहेको सङ्क्रमण सबैका शरीरमा होला जस्तो लाग्यो ।'

डिभिजन वन कार्यालय प्रमुखले सामाजिक सञ्जाल फेसबुक पेजमा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ आएको जानकारी दिँदै सबैलाई सचेत रहन आग्रह गर्नुभएको छ । उहाँको फेसबुक पेजको सन्देशपछि टेलिफोनमा गरिएको कुराकारीमा सार्वजानिक पद धारण गरेको व्यक्ति र जनसम्पर्कका काममा हिँड्ने गरेका व्यक्तिले सङ्क्रमण भयो भनेर लुकाउनेभन्दा पनि प्रत्यक्ष सम्पर्कमा आएकाहरूलाई तत्काल सचेत गराउन आवश्यक रहेको बताउनुभयो ।

'कोशीको ल्याबबाट तपाईंको नतिजा राम्रो छैन, पोजिटिभ हुनुहुन्छ भनेपछि त्यसलाई स्वीकार गरेँ', घिमिरेले भन्नुभयो, 'तत्काल घरपरिवार, कार्यालयका कर्मचारी साथीहरू, कार्यालयमा आउनुभएका सेवाग्राही र वनसँग सम्बन्धित सरोकारवालाहरूका लागि सार्वजानिक जानकारी गराउन फेसबुक पेजमा लेखेको छु ।
केही दिनअघिदेखि म श्रीमती, छोरासहित एकजना कर्मचारीसँगै आफ्नो आवासमा छु । साउन १८ गतेदेखि कम व्यक्तिसँगको भौतिक सम्पर्कमा छु ।' डिभlजन प्रमुख घिमिरेले फेसबुक पेजमा थप प्रष्ट गर्दै लेख्नुभएको छ ।

उहाँले साउन १६ गतेपछि आफूलाई सङ्क्रमण भएको हुनुपर्ने अनुमान गर्दै यसबीचमा लामो यात्रा नभएपनि १७ गते वैज्ञानिक वन व्यवस्थापनको अनुगमनका लागि लेटाङ र पथरीमा धेरैजनाको बीचमा जानुपरेको उल्लेख गर्नुभएको छ ।

'हामीबीच कोरोना समुदायस्तरमै आइसकेको रहेछ । मलाई कसरी कोबाट पो सर्यो पत्ता लगाउन गाह्रो छ ।अब आफ्नो उपचार गर्ने र आफैँ सुरक्षित रहने नै उत्तम विकल्प । कोरोनालाई जित्नुपर्छ, तपाईं हामी सबैको सुस्वास्थ्यको शुभकामना !' घिमिरेले आफ्नो फेसबुक पेजमा लेख्नुभएको छ ।

उहाँले डराएर वा त्रसित भएरभन्दा पनि मनलाई बलियो बनाएर जित्नका लागि सबैसँग आग्रह गर्नुभएको छ । कार्यालयकै आवासमा १८ गतेपछि दैनिक व्यायम गर्ने, गीत तथा भजनहरू सुनेर दिन कटाउने गरेको उहाँले जानकारी दिनुभयो ।  विराटनगर महानगरपालिका मेयरसहित सम्बन्धित क्षेत्रका सबैलाई जानकारी गराएको र भोलि परिवारसहित प्रत्यक्ष सम्पर्कमा रहनुहुने कर्मचारीको स्वाब सङ्कलन गर्ने बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?