logo
२०८१ बैशाख ८ शनिवार

  चाडपर्व, जात्रा तथा उत्सवबारे मापदण्ड स्वीकृत  



परिवार बाहेककासँग भेटघाट कम गर्न आग्रह

स्वास्थ्य |


परिवार बाहेककासँग भेटघाट कम गर्न आग्रह


इश्वरचन्द्र झा
काठमाडौं, साउन २३ गते । कोरोनाभाइरसको सङ्क्रमण समुदायमा फैलने जोखिम बढिरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले चाडपर्व, जात्रा तथा उत्सवहरु मनाउने सन्दर्भमा मापदण्ड जारी गरेको छ । पछिल्लो समय राजधानी काठमाडौंसहित देशैभरि जात्रा तथा पर्व मनाउँदा जनस्वास्थ्यका मापदण्डको पालना नभएको गुनासो बढेपछि मन्त्रालयले मापदण्ड जारी गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन २१ गते चाडपर्व, जात्रा तथा उत्सवहरु मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड, २०७७ स्वीकृत गरी लागू गरेको छ । मापदण्डमा चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा एउटै घरमा बसोबास गर्ने घरपरिवारका व्यक्ति बाहेक अन्यसँग भेटघाट कम गर्ने वा भेटनैपर्ने भए कम्तिमा दुई मिटर दूरी अनिवार्यरुपमा कायम गर्न सुझाइएको छ । सामाजिक दूरीको पालना नहुँदा कोरोनाभाइरसको सङ्क्रमण तिब्र गतिमा फैलिएको छ ।
बाहिर भेटघाट कम गर्ने वा भेटनैपर्ने भए मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने मापदण्डमा समेटिएको छ । मास्कको प्रयोग यसअघि नै मन्त्रालयले अनिवार्य गरेको छ । तर जात्रा, उत्सव वा चाडपर्वमा मात्रै नभई सर्वसाधारणले भीडभाडमा हिंड्दा समेत मास्क नलगाउँदा एकैजनाले थुप्रै व्यक्तिलाई सङ्क्रमित बनाएको मन्त्रालयको अध्ययनबाट खुलेको छ ।
मन्त्रालयले व्यक्तिगत तहमा अत्यावश्क र अनिवार्य रुपले पालना गर्नुपर्ने मापदण्ड अन्तगर्त सामाजिक दूरीको पालना, मास्क र स्यानीटाइजरको प्रयोगलाई राखेको छ । चाडपर्व, जात्रा तथा उत्सव मनाउने कार्यक्रम स्थलमा प्रवेश गर्दा अनिवार्य रुपले साबुनपानीले हात धुने वा स्यानीटाइजरको प्रयोग गर्न सुझाएको छ ।
मन्त्रालयले जारी गरेको मापदण्ड अन्तगर्त आधारभूत रुपमा धार्मिक स्थलमा हुने भेला वा कार्यक्रममा २५ जना मात्रै भेला हुन पाउने व्यवस्था गरेको छ । अभिवादन गर्दा भौतिक दुरी कायम गरी टाढैबाट नमस्कार वा अभिवादन गर्ने तर अगांलो नहाल्न मापदण्ड निर्धारण गरिएको छ ।
मन्दिर वा धार्मिक स्थलमा जाँदा सतहसँगै देवीदेवताका मूर्तिहरु र धेरै व्यक्तिले प्रयोगमा ल्याउन सक्ने सामग्रीहरु नछुन, अनुहारको ‘टी’ क्षेत्र९आँखा, नाक र मुख० नछुने, छुनै परेमा हात धोई वा हातमा स्यानीटाइजरको प्रयोग गर्न आग्रह गरिएको छ ।
आधारभूत मापदण्डमा समेटिएका सतर्कताका उपायहरु यसअघि नै मन्त्रालयले पटक पटक अपिल गर्दै आएको छ । यद्दपी मापदण्डमा मन्त्रालयले सार्वजनिक स्थलमा जथाभावी नथुक्ने, खोक्दा हाँछयु वा टिस्यु कागज प्रयोग गर्ने जस्ता उपाय अपनाउन आग्रह गरेको छ ।
एक हातबाट अर्को हातमा पुग्ने सामग्रीहरुबाट समेत कोरोनाभाइरसको सङ्क्रमण सर्न सक्ने सम्भावना देखिएको छ । यसप्रकारको जोखिम न्यूनीकरण गर्न मन्त्रालयले सकभर पैसाको कारोबार गर्दा विद्युतीय माध्यमबाट गर्न सुझाएको छ ।
त्यसैगरी, मन्त्रालयले दश प्रकारको व्यक्तिलाई जोखिम समूहमा राखेको छ । उक्त समूहका व्यक्तिले घरपरिवार बाहेक बाहिरका व्यक्तिहरु सहभागी हुने भेलामा नपुग्न मन्त्रालयले आग्रह गरेको छ ।
ज्वरो, खोकी तथा श्वासप्रश्वासका समस्या भएका व्यक्ति, ६० वर्षभन्दा बढी उमेरका व्यक्ति, १२ वर्ष मुनिका बालबालिका, गर्भवती तथा सुत्केरी महिला, रोग प्रतिरोधी क्षमता कम भएका व्यक्ति, मधुमेह, क्यान्सर, मुटुरोग, उच्च रक्तचाप, मृगौला र कलेजो सम्बन्धी समस्या भएका तथा दम लगायत श्वासप्रश्वास सम्बन्धि दीर्घरोग भएका व्यक्तिलाई जोखिम समूहमा विभाजन गरिएको छ ।
मन्त्रालयका अनुसार अंग प्रत्यारोपण गरेको व्यक्ति, शरीरमा मेडिकल उपकरणहरु राखेका व्यक्ति, हालै शल्यक्रिया गराएका व्यक्ति तथा १५ दिनभित्र कुनै रोगको उपचारबाट निको भएका व्यक्ति समेत जोखिम समूहका छन् ।
चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा आयोजकको व्यवस्थापकीय पक्ष समेत मन्त्रालयले औंल्याएको छ । आयोजकले भीडभाड व्यवस्थापनका लागि पर्याप्त जनस्वास्थ्यका सुरक्षासहित तालिम प्राप्त कर्मचारी वा स्वयं सेवकहरुको व्यवस्था गर्नुपर्ने, साबुन पार्नीको पर्याप्त व्यवस्था, कार्यक्रमस्थलको दिनमा दुई पटक निसंक्रमिकरण गर्नुपर्ने मापदण्ड तय गरिएको छ ।
कार्यक्रम स्थलमा थर्मल थर्मोमिटरको अनिवार्य प्रयोग गर्ने तथा १००।४ भन्दा बढी तापक्रम भएका व्यक्तिलाई कार्यक्रममा सहभागी नगराउने मापदण्डको पालना गर्न मन्त्रालयको मापदण्डमा उल्लेख गरेको छ ।
मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने र जथाभावी थुक्ने व्यक्तिलाई स्थानीय प्रशासनले संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गर्ने चेताबनी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?