logo
२०८० चैत्र १५ बिहीवार



बझाङको केदारस्युँ र थलारा गाउँपालिकाको तीन वडा सिल

फिचर |


बझाङको केदारस्युँ र थलारा गाउँपालिकाको तीन वडा सिल


शैलेन्द्र रोकाया

बझाङ, साउन १८ गते । कोराना भाइरस सङ्क्रमणको जोखिम बढेपछि जिल्लाको केदारस्युँ गाउँपालिकाको ६ र ७ नम्बर वडा सिल गरिएको छ । सदमुकाम चैनपुरमा आइतबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले केदारस्युँ गाउँपालिकाको ६ र ७ नम्बर वडा र थलारा गाउँपालिकाको वडा नं ५ को दुवाली गाउँलाई पूर्णरुपमा सिल गर्ने निर्णय गरेको हो ।

शुक्रबार र शनिबारमा गरी केदारस्युँ ६ र ७ मा गरी ६६ जनामा कोरोना सङ्क्रमित देखिएपछि यसको समुदायमा समेत यसको जोखिम बढेको भन्दै वडाहरू सिल गरिएको छ । भारतका विभिन्न भू–भागबाट आएका उहाँहरूलाई १४ दिन क्वारेन्टाइनमा राखेर घर पठाइएको थियो । घरमा गएको पाँच दिनपछि पीसीआर रिपोर्ट आएपछि दुई वडाका ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि वडा नै सिल गर्नुपर्ने अवस्था आएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, 'क्वारेन्टाइनमा बसेर घर पठाएका व्यक्तिहरूसमेत समुदायमा घुलमिल भई सकेकाले ती दुई वटा वडा सिल गर्नुपरेको हो । त्यसै गरी थलारा गाउँपालिका-५, दुवालीका एकै गाउँका नाै महिने बालिकासहित १० जनामा कोराना पुष्टि भएसँगै उक्त गाउँसमेत सिल गरिएको छ ।

क्वारेन्टाइनमा १४ दिन बसेर घर पठाइएका उहाँहरूमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि गाउँ नै कोरोनाको जोखिममा परेको छ । सङ्क्रमण पुष्टि भएका केदारस्युँ गाउँपालिकाका ६६ जना र थलारा गाउँपालिकाका १० जना सबै समुदायमा घुलमिल भएकाले गाउँमा समेत कोरोनाको सङ्क्रमण जोखिम बढेको हो । शुुक्रबार मात्र कोरोना भाइरस सङ्क्रमतिको सङ्ख्या बढेपछि थप २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक प्रयोगशाला धनगढीमा गरिएको पीसीआर परीक्षणमा मष्टा, छबीस पाथीभेरा, दुर्गाथली, थलारा गाउँपालिका र जयपृथ्वी नगरपालिकाका २३ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ ।

थलारा गाँउपालिकामा नाै महिने शिशुसहित १० जनामा कोरोना सङ्क्रमण देखिएको छ । यस्तै छविसथाथीभेरा गाउँपालिकाका तीन जना, मष्टा गाउँपालिकाका दुइ जना, दुर्गाथली गाउँपालिकाका तीन जना र जयपृथ्वी नगरपालिकाका पाँच जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पताल बझाङले जनाएको छ । यो सँगै बझाङमा हालसम्म कोरोना सङ्क्रमित हुनेको सङ्ख्या २२२ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बझाङका कोरोना फोकल पर्सन नारायण जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोरोना सङ्क्रमितहरू थपिएसँगै निको हुनेको सङ्ख्या पनि क्रमशः बढिरहेको छ । हालसम्म बझाङमा १६६ जना निको घर फर्किसकेका छन् । बुङ्गल नगरपालिका-३ का ६५ वर्षीय एक वृद्धको मृत्युपछि कोरोना सङ्क्रमण देखिएको छ भने खप्तडछान्ना गाउँपालिका-७ का एक कोरोना सङ्क्रमित युवकले क्वारेन्टाइनमै आत्महत्या गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?