logo
२०८१ बैशाख १३ बिहीवार



लमजुङमा तीन दिनमा तीन जनामा डेङ्गु सङ्क्रमण

स्वास्थ्य |
खुला |


लमजुङमा तीन दिनमा तीन जनामा डेङ्गु सङ्क्रमण



बेलिना थापा
लमजुङ, साउन १७ गते । लमजुङको चालु आर्थिक वर्षको सुरुवाती महिना साउनमै तीन जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । पछिल्लो साता ३ दिनमै ३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालले जनाएको छ ।

बुधबार, बिहीबार र शुक्रबार लगातार तीन दिनमा तीन जनामा डेङ्गु देखिएको लमजुङ जिल्ला सामुदायिक अस्पतालले जनाएको छ । अस्पतालका प्रमुख हेमन्त श्रेष्ठका अनुसार बुधबार बेंसीसहर नगरपालिका ३ का १७ वर्षीया महिलामा डेङ्गु रोगको सङ्क्रमण देखिएको हो । बिहीबार बेंसीसहर नगरपालिका ९ का २१ वर्षीय पुरुषमा डेङ्गुको सङ्क्रमण देखिएको र शुक्रबार बेंसीसहर नगरपालिका ८ का २९ वर्षीय पुरुषमा डेङ्गुको सङ्क्रमण देखिएको उहाँले बताउनुभयो ।

टाउको दुख्ने र उच्च ज्वरो आउने समस्यापछि अस्पतालमा आएका तीनै जनाको परीक्षण गर्दा डेङ्गुको सङ्क्रमण देखिएको अस्पताल प्रमुख श्रेष्ठले बताउनुभयो । 

स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले पछिल्लो समय तीन जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको र उनीहरू सबै लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको बताउनुभयो ।

दवाडीका अनुसार यसअघि असार ३० गते मङ्गलबार क्व्होलासोंथर गाउँपालिका वडा नं. २ मालिङ घर भएर बेंसीसहर नगरपालिका वडा नं. ७ घलेगाउँचोक बस्ने २९ वर्षीया महिलामा डेङ्गु देखा परेको थियो । आर्थिक वर्ष २०७६/०७७ मा मात्रै पाँच जनामा डेङ्गु सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयका प्रमुख दवाडीले बताउनुभयो । एडिस जातको पोथी लामखुट्टेले दिउँसोको समयमा टोक्दा उसको शरीरमा भएको भाइरस मानव शरीरमा सर्ने हुँदा डेङगु रोगबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिन उहाँले सुझाव दिनुभएको छ ।

लामखुट्टेको टोकाइबाट यो रोग एक मानिसबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्ने भएकाले सचेत रहन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । लामखुट्टेको लार्भा नष्ट गर्ने र पानी जम्ने खाल्डा खुल्डी र पानी जम्ने बोटल कागज, प्लाष्टिक नष्ट गर्नुपर्ने उहाँले बताउनुभयो । सफा ठाउँमा सफा पानिमा लामखुट्टेले सन्तानको वृद्धि गर्ने र यसको बासस्थान शहरी क्षेत्रमा वढि हुने हुने उहाँले बताउनुभयो । सात/सात दिनमा यसको लार्भा उत्पादन हुने भएकाले हरेक सात सात दिनमा पानि जम्ने ठाउँ खोजेर नष्ट गर्ने अभियान सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ । प्रत्येक घर घरघरबाट टोल टोलबाट लमखुट्टेको बासस्थान खोजेर नष्ट गर्न सकियो भने यो रोगलाई छिटो नियन्त्रण गर्न सकिने उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?