logo
२०८० चैत्र १६ शुक्रवार



भारतबाहेक अन्य मुलुकबाट २७ हजार बढी नेपालीको उद्धार

मुख्य समाचार |


भारतबाहेक अन्य मुलुकबाट  २७ हजार  बढी नेपालीको उद्धार


चाँदनी हमाल

काठमाडौँ, साउन १ गते । भारतबाहेक अन्य मुलुकबाट नेपालीको उद्धार गरी स्वदेश फर्काउने क्रममा हालसम्म २७ हजार १२५ जनाको उद्धार गरिएको छ । यसैगरी विदेशमा निधन भएका १६० जना नेपालीको शव ल्याएर आफन्तलाई जिम्मा लगाइएको कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले जनाएको छ ।
बुधबार मात्र ५९३ जना नेपाली स्वदेश फर्किएका छन् । बुधबारअघि असार २८ गतेसम्म २७ हजार ५३२ जना नेपाली स्वदेश फर्किएका थिए । बुधबार नेपाल फर्कनेमा मलेसियाबाट १७, सिङ्गापुर र अस्ट्रेलियाबाट ५१, युएईबाट २८४ र कतारबाट १४१ जना छन् ।
त्यसैगरी विदेशमा कोरोना भाइरसको सङ्क्रमणमा परेका नेपाली नागरिकमध्ये ९२ प्रतिशत सङ्क्रमणमुक्त भएको गैरआवासीय नेपाली सङ्घले जनाएको छ । नेपाल सरकार, कूटनीतिक निकाय र गैरआवासीय नेपाली सङ्घको पहलमा विभिन्न २३ मुलुकमा अलपत्र परेका, भीसाको समय सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका नेपालीको उद्धार गरिएको हो ।
विभिन्न एयरलाइन्सका १४९ उडानमार्फत उनीहरूको उद्धार गरिएको हो । गत जेठको मध्यदेखि सुरु उद्धार उडानमार्फत असार २८ गतेसम्म संयुक्त अरब इमिरेट्स युएईबाट पाँच हजार ८३५ जनाको उद्धार भएको छ । कुबेतमा आममाफी पाएका र अन्य अलपत्र परेकासहित पाँच हजार २४३ जनाको उद्धार गरिएको छ । यस्तै साउदी अरबबाट चार हजार १४८, मलेसियाबाट तीन हजार २०९ र कतारबाट दुई हजार ८८४ जनाको उद्धार गरिएको हो ।
यस्तै अफगानिस्तानबाट १८, अस्ट्रेलियाबाट ४८३, म्यानमारबाट २६, जापानबाट ७५६, थाइल्यान्डबाट ३२६, दक्षिण कोरियाबाट ४७६, बङ्गलादेशबाट ८४१, माल्दिभ्सबाट ७०९, श्रीलङ्काबाट पाँच, सिङ्गापुरबाट १४६, हङकङबाट ८९ र पाकिस्तानबाट ७२ जनालाई ल्याइएको छ । यसैगरी बहराइनबाट ७१२, ओमानबाट ४९२, अमेरिकाबाट ४२३, बेलायतबाट २२९, इजरायलबाट १२७, चीनबाट १०५, टर्कीबाट ३४, फिलिपिन्सबाट १०८ र इन्डोनेसियाबाट २० जना नेपालीलाई स्वदेश फर्काएको समितिले जनाएको हो ।

परिवारको जिम्मामा शव
यसै अवधिमा १६० जनाको शव नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ । विदेशमा विभिन्न कारण ज्यान गुमाएका ४०६ जनामध्ये १४६ जनाको परिवारको सहमतिमा देशमै अन्त्येष्टि गरिएको छ । विदेशबाट अझै १०९ वटा शव नेपाल ल्याउन बाँकी छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?