logo
२०८१ बैशाख ६ बिहीवार



सुदूरपश्चिममा क्वारेन्टाइनसँगै समुदायको पनि काेराेना परीक्षण गरिने

स्वास्थ्य |


सुदूरपश्चिममा क्वारेन्टाइनसँगै समुदायको पनि काेराेना परीक्षण गरिने


भवानी ऐर
गोदावरी, असार ३० गते । सुदूरपश्चिम प्रदेशका विभिन्न क्वारेन्टाइनमा रहेकाको मात्र नभई आसपासका जनसमुदायको पनि काेराेना भाइरस परीक्षण गरिने भएको छ । सोमबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा रहेको प्रदेश सङ्कट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।

साउन १ गतेदेखि सबै स्थानीय तहमा बनाइएका क्वारेन्टाइन रहेकाहरूसँगै आसपासका जनसमुदायको पनि स्वाब सङ्कलन गरिने बैठकपछि सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले जानकारी दिनुभयो । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय धनगढीमा बसेको बैठकले सुदूरपश्चिममा कोरोनाको अवस्थाको समिक्षा गर्दै पीसीआर मेसिनमार्फत अब समुदायको पनि स्वाब परीक्षण गर्ने निर्णय गरेर प्रदेश सरकार नेपालमै पहिलो पटक स्वाब परीक्षणका लागि समुदायमा जान लागेको उहाँको भनाइ छ ।

बैठकले होल्डिङ सेन्टर, क्वारेन्टाइनलाई अनिवार्य गर्दै थप व्यवस्थित बनाउने, सबै स्थानीय तहमा आइसोलेसन कक्ष निर्माण गर्ने, कोरोना नियन्त्रणका लागि चाहिने आवश्यक स्वास्थ्य सामग्री अभाव हुन नदिने लगायत निर्णय गरेको छ । सुरक्षा अपनाई यातायात, उद्याेग, कलकारखाना तथा विकास निर्माणका कामलाई सुचारु गर्ने निर्णय गरेको मन्त्री सुवेदीले जानकारी दिनुभयो ।

यस्तै बैठकले कोरोना सङ्क्रमणको रोकथामसँगै वर्षादको बेला आइपर्ने प्राकृतिक विपद बाढी, पहिरो तथा डुबानजस्ता जोखिम न्यूनीकरणको तयारी, जनचेतनाबाट सजकता अपनाउन सबै जिल्ला प्रकोप व्यवस्थापन समितिलाई तयारी अवस्थामा राख्ने, विपद आइपरे उद्धार उपचार र रहात छिटो छरितो बनाउन सङ्घीय र स्थानीय तहसँगको समन्वयमा प्रदेश सरकारले तदारुकता देखाउने निर्णय गरेको मुख्यमन्त्रीको स्वकीय सचिवालयले जानकारी दिएको छ ।

बैठकबारेको प्रतिक्रियामा मुख्यमन्त्री भट्टले प्रदेश सरकारले स्थापना गरिरहेका थप तीनवटा प्रयोगशाला (धनगढी, डोटी र बैतडी)मा पीसीआर मेसिन जडान भइरहेको र धनगढीस्थित स्वास्थ्य कार्यालयमा भइरहेको जडान अन्तिम चरणमा पुगेकोले यसै साताबाट परीक्षण सुरु हुने दाबी गर्नुभयो ।

बैठकमा प्रदेश सरकारका मन्त्रीहरू, सचिवहरू, प्रदेश प्रहरी प्रमुख, सेना प्रमुख, कैलालीका प्रमुख जिल्ला अधिकारी, धनगढी उप–महानगरपालिका नगरप्रमुख लगायत प्रदेश स्वास्थ्य निर्देशकको सहभागिता थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?