logo
२०८० चैत्र १५ बिहीवार



अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा पुरानो साथी स्टोनको कैद अवधि कटौती

अन्तर्राष्ट्रिय |


अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा पुरानो साथी स्टोनको कैद अवधि कटौती
तस्विर–सीएनएन


वासिङटन, असार २७ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पुराना साथी रोजर स्टोनलाई तोकिएको कारागार सजाय अवधिमा कटौती गरिदिनुभएको छ ।
ट्रम्पका पूर्व सल्लाहकारसमेत रहनुभएका स्टोनलाई सन् २०१६ मा ट्रम्पको चुनावी अभियानलाई सघाउन रुसले प्रयत्न गरेको पाइएको अमेरिकी न्याय मन्त्रालयको अनुसन्धानसँग जोडिएर सजाय घोषणा गरिएको थियो ।

एक पुनरावेदन अदालतले स्टोनको ४० महिने हिरासत सुरु हुने समय पछि सार्न अस्वीकार गरेलगत्तै ट्रम्पले शनिबार समयावधि कटौतीको घोषणा गर्नुभएको हो । उहाँलाई आगामी मङ्गलबार जर्जियाको एउटा सङ्घीय जेलमा उपस्थित हुन आदेश दिइएको थियो । उहाँलाई अमेरिकी कङ्ग्रेससमक्ष झुटो बोलेको, अवरोध खडा गरेको र प्रत्यक्षदर्शीलाई प्रभावित पारेको अभियोग पनि लगाइएको छ । तर राष्ट्रपति ट्रम्पले भने ६७ वर्षीय स्टोन पहिले नै धेरै पीडित भइसकेकाले जेल सजाय अवधि घटाउनुपरेको बताउनुभएको छ । “रोजर स्टोन रुसी छलकपटको सिकार भएका पीडित हुन् । ट्रम्पको राष्ट्रपतीय कार्यकाललाई कमजोर पार्न वर्षौँदेखि वामपन्थी र त्यसका सहयोगी सञ्चारमाध्यमहरूले निरन्तरको मुद्दा बनाएका छन्,” ट्रम्पले भन्नुभएको छ ।

राष्ट्रपति निर्वाचनमा रुसको संलग्नताबारे छानबिन गर्ने मुख्य छानबिनकर्ता रोबर्ट मुलर मातहतका अभियोजनकर्ताहरूले ट्रम्पको चुनावी अभियानमा रुसको संलग्नता पुष्टि गर्न नसकेपछि स्टोनमाथि प्रतिशोधपूर्ण व्यवहार गरेको ट्रम्पको आरोप छ । तर विपक्षी डेमोक्र्याटिक पार्टीका नेताहरूले भने ट्रम्पको यस निर्णयको आलोचना गर्दै शक्तिको दुरुपयोग भएको आरोप लगाएका छन् ।

सन् १९७० देखि रिपब्बलिकनहरूसँग काम गर्दैआएका स्टोनले सन् १९९० को दशकमा ट्रम्पको क्यासिनो व्यवसायका लागि लबीकर्ताको रूपमा काम गर्नुभएको थियो । त्यही पुरानो सम्बन्ध र चुनावका बेला सघाएकाले उहाँलाई राष्ट्रपति ट्रम्पले सल्लाहकारमा मनोनीत गर्नुभएको थियो । तर अभियोग लागेपछि उहाँ सल्लाहकारबाट हट्नुभएको थियो । स्टोन सजाय पाउने ट्रम्पका तत्कालिन सल्लाहकारमध्ये छैटौँ सल्लाहकार हुनुहुन्छ । यसअघि ट्रम्पका अरु पाँच सल्लाहकारहरूले पनि सजाय पाएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप