logo
२०८० चैत्र १६ शुक्रवार

  घट्दै सङ्क्रमित, बढ्दै निको हुने दर  



दुई हप्तामा ४५ हजार नमुना सङ्कलन गरिँदै

स्वास्थ्य |


दुई हप्तामा ४५ हजार नमुना सङ्कलन गरिँदै


इश्वरचन्द्र झा
काठमाडौँ, असार २४ गते । गत शुक्रबार २४ घण्टामा ७४० जना कोरोनाभाइरसका बिरामी पुष्टि भयो । त्यसयता दैनिकरुपमा परीक्षणको दायरा बढ्दैछ । सङ्क्रमित हुनेको सङ्ख्या घटदो छ । पछिल्लो चार दिनमा भने ९०९ जनामा सङ्क्रमण पुष्टि भएको छ । अझै ७४० जना सङ्क्रमित फेला परेको शुक्रबार चार हजार ४८३ जनाको परीक्षण गरिएको थियो । त्यसयता दैनिक रुपमा नमूना सङ्कलन बढाइएको छ । मङ्गलबार छ हजार १३३ जनाको नमूना परीक्षण गरिदा २०४ जना नयाँ बिरामी फेला परेका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण शाखाका प्रमुख डा. बासुदेव पाण्डेका अनुसार परीक्षणको दायरा बढाउँदा सङ्क्रमित घटनु सुखद हो । यद्दपी परीक्षणको दायरालाई अझै बढाउनुपर्ने र जोखिममा रहेका समुदायमा परीक्षण फराकिलो गर्नुपर्ने सुझाउँछन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी दुई साताभित्र ४५ हजार नमूना सङ्कलन गरी परीक्षणको लक्ष्य राखेको छ । डा. पाण्डेले जोखिममा रहेका स्वास्थ्य अधिकारी तथा कार्यकर्ता, सङ्क्रमितका परिवारजन र सम्पर्कमा आएकाहरुमा परीक्षण केन्द्रित हुने खुलाउनुभयो । उहाँ थप्नुहुन्छ, “यति भएपछि कोरोनाको यथार्थ चित्रण हुन्छ र यसले आगामी रणनीति बनाउन समेत सघाउँछ ।”
यसअघि समुदायमा कोरोना सङ्क्रमण रहे/नरहेको बुझ्न स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकाको १३ स्थानको नमूना सङ्कलन गरेको थियो । तीनकुने, एकान्तकुना, नक्खुटोल लगायतका स्थानको परीक्षण प्रतिवेदन आउँदासम्म सङ्क्रमण पुष्टि नभएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताउनुहुन्छ । “रेन्डम्ली गरिएको नमूना परीक्षणमा कोरोना पुष्टि नभएकोले समुदायमा फैलिएको दाबी गर्नु हतार हुनेछ ।”, डा. गौतमले तर्क गर्नुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क बमोजिम पछिल्लो पाँच दिनमा सक्रिय बिरामीको सङ्ख्यामा पनि उल्लेख्य कमी आएको छ । शुक्रबार नौ हजार ८४ सक्रिय बिरामी रहेकोमा मङ्गलबारसम्म आठ हजार ६३४ जना कोरोना लागेका बिरामी आइसोलेशनमा छन् । निको हुने दर पनि पछिल्ला दिनहरुको अपेक्षा सुध्रिदो छ । सोमबार ४२.७ प्रतिशत रहेको निको हुने दर मङ्गलबार ४६ प्रतिशतसम्म पुगेको छ ।
शुक्रबार कुल परीक्षण गरिएको नमूनाको १६.५ प्रतिशतमा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । त्यसयता घट्दै गएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ । मङ्गलबारसम्म परीक्षण गरिएका कुल नमूनाको ३.३ प्रतिशतमा मात्रै सङ्क्रमणको पुष्टि भएको छ ।
जेठ अन्तिम सातासम्म ७७ जिल्लामै कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । तर असार अन्तिम सातासम्म आउँदा पाँच जिल्ला कोरोनामुक्त भएका छन् । डा. पाण्डे भन्नुहुन्छ, “कुनै बेला हटस्पट भएको कपिलवस्तु, बाँके र उदयपुरको भुल्केमा सङ्क्रमित छैन् ।” उहाँ थप्नुहुन्छ, “यसरी कोरोना सङ्क्रमणको दायरा खुम्चिएको भन्न सकियो, तर कन्टयाक्ट ट्रेसिङबाट आउने परिणामले यसलाई थप पुष्टि गर्नेछ ।”

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?