logo
२०८० चैत्र १६ शुक्रवार



भौतिक दूरी कायम गर्दै सर्लाहीका हाटबजार खुला गर्ने निर्णय

खुला |


भौतिक दूरी कायम गर्दै सर्लाहीका हाटबजार खुला गर्ने निर्णय


जनार्जन खत्री
सर्लाही, जेठ २३ गते । लकडाउनले दुई महिनाभन्दा बढी समयदेखि बन्द रहेका सर्लाहीका हाटबजार भौतिक दूरी कायम गरी खुला गर्ने निर्णय भएको छ । शुक्रबार बसेको जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले भिडभाड नगरी विभिन्न सरसामानहरू तोकिएको दिनमा मात्रै बिक्री गर्न पाउने गरी हाटबजार खोल्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार सदरमुकाम मलङ्गवा बजारको हकमा खाद्यान्न सामग्री बिक्री गर्ने पसलहरू आइतबार, सोमबार र मङ्गलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खोल्न अनुमति दिइएको छ ।
यस्तै अन्य पसल व्यवसाय बुधबार, बिहीबार र शुक्रबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खोल्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी जिसीले बताउनुभयो । होटलहरू र मदिराजन्य पदार्थ बिक्री गर्ने पसलहरू भने कतै पनि खोल्न पाइने छैन ।
बैठकले मलङ्गवा नगरपालिका -४, शिवसागर चौकमा रहेको तरकारी बजार र मलङ्गवा नगरपालिका–२, झण्डाबजारमा रहेको तरकारी बजार प्रत्येक दिन अपरान्ह ४ बजेदेखि साँझ ७ बजेसम्म खोल्ने निर्णय भएको मलङ्गवा नगरपालिकाका प्रमुख निरसल साहले बताउनुभयो ।

मलङ्गवा बजार खोल्नको लागि गरिएको व्यवस्थासँग मिल्ने गरी जिल्लाका अन्य हाटबजारहरू पनि आ–आफ्नो पालिकाको अवस्थालाई ध्यानमा राखेर कुन कुन समयमा खोल्ने भन्ने बारेमा निर्णय सम्बन्धित पालिकाहरूले नै गर्नसक्ने प्रमुख जिल्ला अधिकारी जिसीको भनाइ छ । उहाँले हाटबजार खोलेर पहिलेझैँ भिडभाड भने गर्न नपाइने प्रष्ट पार्नुभएको छ ।

तर जिल्लामा लकडाउन जारी रहँदा यसअघि देखि नै भिडभाड गरेर बजार राख्न थालिसकिएको थियो । विशेष गरी तरकारीको किनबेच हुने बजारमा मानिसको अस्वाभाविक भिड देखिन्छ । ग्रामीण भेगका हाटबजारमा भौतिक दूरी कायम नभएको र मानिसहरूले सामान्य सतर्कतासमेत नपनाई बजारमा भिडभाड गर्ने गरेको पाइएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरीले औषधि, पेट्रोलियम पदार्थ, दूधजन्य पदार्थ बिक्री वितरण गर्ने पसलहरू र बैङ्क तथा वित्तीय संस्थाहरू भने प्रत्येक दिन खुला रहने बताउनुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?