logo
२०८१ बैशाख ८ शनिवार



लकडाउनको पर्वाह नगरी चरिकोट–जिरी सडकको स्तरोन्नति तीव्र

प्रदेश |


लकडाउनको पर्वाह नगरी चरिकोट–जिरी सडकको स्तरोन्नति तीव्र


कैलाश लामा
चरिकोट, दोलखा जेठ २३ गते । लामोसाँघु–चरिकोट–जिरी सडक योजनाको चरिकोट–जिरी सडकखण्डमा निर्माण कार्य सुरु गरेको एक वर्षमै कालोपत्रेको काम सुरु भएको छ । गएकाे २०७६ साल चैतबाट निर्माण कार्य सुरु गरेकाे ठेकेदार कम्पनीले हाल सडकमा कालोपत्रेको काम पनि सुरु गरेको हो ।

लकडाउनको अवस्थामा समेत कामलाई निरन्तरता दिँदै भीमेश्वर नगरपालिकाको वडा नम्बर ५ किरातीछापदेखि सदरमुकाम चरिकोटसम्म वर्षाअगावै कालोपत्रे सकिने गरी काम भइरहेको कन्ट्रयाक्ट म्यानेजर रवीन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

चरिकोटदेखि जिरीसम्मको ५५ किलोमिटर सडकको स्तरोन्नति र कालोपत्रेसहित डबल लेन बनाउनका लागि २०७५ साल मङ्सिर १७ गते आईसिबि ९ठेकेदार कम्पनी उडहिल-लामा जेभील] भ्याटसहित एक करोड ७७ लाख अमेरिकी डलरमा ठेक्का लिएकाे थियाे । जसअन्तर्गत सडकको छेउभित्ता कटिङ, ग्याविन वाल, मेसिनरी वाल, नाला, कल्भर्टलगायत संरचना निर्माण गर्दै डिबिएसटी पिच गर्नुपर्ने हुन्छ ।

वि. सं. २०७८ भदौ ३० गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने योजनामा हाल स्ट्रक्चरको काम ६० प्रतिशत सम्पन्न भइसकेको र पाँच किलोमिटर सडकमा डिबिएसटी फर्स्ट कोट गरिसकेको परामर्शदाता संस्थाका आवासीय इन्जिनियर राजेन्द्र पौडेल बताउनुहुन्छ ।

हालसम्म १० किलोमिटर सडकमा सबबेस र छ किलोमिटर सडकमा बेस बिछ्याइएको उल्लेख गर्दै उहाँले हाललाई किरातीछापबाट चरिकोटसम्म कलोपत्रेको काम गर्ने र वर्षा सकिएपछि अन्यत्र पनि कालोपत्रे सुरु गर्ने योजना रहेको बताउनुभयो ।

स्विस सरकारको सहयोगमा सन १९७५ देखि १९८५ सम्म सिन्धुपाल्चोकको खाडीचौरदेखि दोलखाको जिरीसम्मको ११० किलोमिटर कालोपत्रे सडक निर्माण भएको थियो । तर पछिल्लो पाँच वर्षदेखि यो सडक स्तरोन्नती सहित डबल लेनको बनाउने काम भइरहेको छ । सन २०१५ मा खाडीचौरदेखि चरिकोटसम्मको ५५ किलोमिटर सडक निर्माण कार्यको जिम्मा पाएका ठेकेदारले हालसम्म काम अलपत्र छाडिरहँदा चिन्तामा परेका दोलखालीलाई एक वर्षअघि मात्रै काम थालेको ठेकेदार कम्पनीको कामले निश्चय नै खुशी मिलेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?